काठमाडौँ — सन् १७९० मा आजकै दिन (जुलाई १७) मा एडम स्मिथको मृत्यु भएको थियो । स्कटल्यान्डमा सन् १७२३ को जुन ५ मा जन्मिएका स्मिथ अर्थशास्त्रका पिता मानिन्छन् । सन् १७७६ मा प्रकाशित ‘वेल्थ अफ नेसन्स’ पुस्तकमा स्मिथले राष्ट्रको धनको प्रकृति र कारणबारे व्याख्या गरेका छन् ।
पुस्तकमा नै सर्वप्रथम अर्थशास्त्रको उत्पादन र वितरणका सिद्धान्तहरूको व्याख्या गरिएको हो । देशको आर्थिक विकासलाई निकै महत्त्व दिएका स्मिथले श्रम विभाजनलाई प्रमुख औजारका रूपमा उल्लेख गरेका छन् । श्रम विभाजनबाट प्राविधिक उन्नति र पुँजी निर्माण भई आर्थिक विकास हुन्छ भन्ने स्मिथको धारणा छ ।
पुस्तकलाई उनले पाँच खण्डमा विभाजन गरेका छन् । पहिलो खण्डमा श्रम विभाजन तथा दोस्रो खण्डमा मुद्राको आरम्भ र उपयोग, मूल्य, ज्याला, ब्याज, नाफा, लगानी, पुँजीको प्रकृति र पुँजी निर्माणको विवरण छ ।
तेस्रो खण्डमा कृषिको इतिहास, रोम साम्राज्यको पतनपछिको नगर तथा औद्योगिक विकासको वर्णन छ । चौथो खण्डमा प्रकृतिवाद आलोचना गरिएको छ र विदेश व्यापारको समर्थन गरिएको छ । अन्तिम खण्डमा सार्वजनिक वित्तबारे उल्लेख गरिएको छ ।
