खाजा खुवाउने बस

फुडबसमा मःम, चाउमिन, फ्राइराइस, किमा नुडल्स, ससेजलगायत खाजा पाइन्छन्

असार ३१, २०८०

पर्वत पोर्तेल

झापा — बिर्तामोडका राजकुमार गुरुङ बस हाँकेर बिहान सधैं पूर्वतिर लाग्छन् । बसभित्र यात्री हैन, सिंगो रेस्टुरेन्ट छ । त्यही रेस्टुरेन्ट बोकेर बिहान ८ नबज्दै चारआली जंगल पुगिसक्छन् । ठूलो बस पूर्व फर्काएर पार्किङ गर्छन् ।

सानो गाडीको टाउको उत्तर फर्काएर राख्छन् । गाडीबाट ओर्लिएपछि सरसफाइ गर्छन् । तम्बु टाङ्छन् । टेबल–कुर्सी मिलाउँछन् । पूर्व–पश्चिम राजमार्गको चारआली जंगलमा हेर्दाहेर्दै चिटिक्कको रेस्टुरेन्ट बन्छ । ‘१० बजेपछि खाजा खाने ग्राहकहरू आउन थाल्छन्,’ गुरुङले सुनाए, ‘खानेकुरा चाँडो तयारी गर्नुपर्ने हुन्छ ।’ गाडीभित्रै छ किचन । तयारी खाजा पकाएपछि भटाभट ग्राहकलाई मागअनुसार दिन्छन् । सहरको भीडभाड र कोलाहलबाट मुक्त अनि शान्त वातावरणका कारण राजमार्ग ओहोरदोहोर गर्ने यात्रीको पहिलो रोजाइ बनेको बस रेस्टुरेन्ट ।

भारतीय सेनामा १८ वर्ष सेवा गरेर अवकाश भएपछि गुरुङसामु दुई विकल्प थिए । पहिलो, अफगानिस्तान, ब्रुनाई, सिंगापुरजस्ता देशमा सेक्युरिटी गार्डका लागि जाने । दोस्रो, स्वदेशमै बसेर स्वरोजगार बन्ने । उनले दोस्रो बाटो रोजे । सेनाबाट सँगै अवकाश भएका धेरै साथी विदेश उड्दा उनी स्वदेशमै ‘केही गर्ने’ अडानमा बसे । ‘कम्मरमा बेल्ट बाँधेर काँधमा बन्दुक बोकेर १८ वर्ष बिताइयो,’ गुरुङले भने, ‘बन्दुके जिन्दगी धेरै बिताइएछ, सामान्य जिन्दगी बाँच्न मन लाग्यो ।’

अवकाशपछि बिर्तामोड–१ स्थित घरमै कुखुरा–बंगुर पाल्न थाले । तर, छरछिमेकको किचकिच सहन नसकेपछि पशु पाल्न छाडिदिए । त्यसपछि उनलाई आइडिया फुर्‍यो, सहरमा बसेपछि सहरियाको मन जित्ने गरी खाजा नै बेच्नुपर्छ । लगत्तै उनले थाले स्ट्रिट फुड । ८ लाखमा सेकेन्ड ह्यान्डमा किनेको गाडी मोडिफाइड गरेर गाडीमै रेस्टुरेन्ट चलाए । फरक शैलीको बस रेस्टुराँको फरक स्वादले ग्राहक नतान्ने कुरै भएन । ‘फुड बस’ नामधारी रेस्टुराँ साँझपख धेरै चल्न थाल्यो । यसका पारखीहरू बढ्दै थिए । अचानक कोरोना भित्रियो । भर्खरै सुरु भएको व्यापार चौपट भयो ।

लकडाउन खुलेपछि उनले बिर्तामोड छाडे । सहरको कोलाहलबाट मुक्त ठाउँमा रेस्टुराँ चल्न सक्छ भन्ने उनलाई लाग्यो । सुरुमा बिर्तामोड आसपासको बुट्टाबारी चिया बगान क्षेत्रमा फुड बस तेर्स्याए । सोचजस्तो चलेन । हप्ता दिनपछि ठाउँ फेरे । उनलाई चारआली जंगल आसपास रूखको छहारीले तान्यो । वर्षौंदेखिको फोहोरको डंगुरले भरिएको जंगल नजिकै सरसफाइ गरेर सुरु गरे फुड बस । पहिला सानो गाडी मात्रै थियो । पछि थप ८ लाख खर्चिएर अर्को सेकेन्ड ह्यान्ड बस थपे । करिब डेढ वर्षदेखि फुड बस चलाइरहेका गुरुङ थप्छन्, ‘चाँडै अर्को बस पनि थपेपछि सबै किसिमका खाजा उपलब्ध गर्ने योजना छ ।’

फुड बसमा मःम, चाउमिन, फ्राइराइस, किमा नुडल्स, ससेज जस्ता भेज र ननभेज खाजाहरू पाइन्छ । बाटो हिँड्दाहिँड्दै भोक लाग्दा खाजा खान पस्ने गरेका बुद्धशान्तिका सुरेश बराइलीले सुनाए, ‘यहाँको खाजा सस्तो मात्रै हैन, स्वादिलो पनि छ ।’ अर्डरअनुसार होम डेलिभरी पनि हुन्छ । दैनिक १५ देखि २० हजार बिक्री हुने गरेको यहाँ ८ जना युवाले रोजगारी पाएका छन् । ‘नियमित ग्राहकभन्दा पनि हाइवेमा हिँड्ने यात्रीहरू पस्छन् अनि खाजा खाएर जान्छन्,’ गुरुङले सुनाए ।

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully