‘बोल उकुसमुकुस बोल’

जीवन उत्सव हो भन्ने मूल मर्ममा तयार भिडियोमार्फत भागदौडको जीवनबीच उकुसमुकुस, चिन्ता र मानसिक दबाबजस्ता संकटको सामना गरिरहेका युवाहरूलाई प्रेरणा दिने प्रयास

असार ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मानसिक स्वास्थ्यको विषयमा आधारित ‘बोल उकुसमुकुस बोल’ को गीत सार्वजनिक भएको छ । पत्रकार अनुप ओझाको शब्द, संगीत रहेको गीतमा अनुपसँगै प्रदीप लामाको स्वर छ । गीतको भिडियोलाई लामाले नै निर्देशन गरेका हुन् । द नेक्स्ट टिमका संस्थापक लामा र केबिका खत्रीले नै गीतको कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका एक युवकलाई परिवार, आफन्त र साथीभाइले गर्नुपर्ने साथ, सहयोग र सल्लाह देखाइएको छ । गीतको शीर्षकमा उल्लेख भएझैं मनभित्र भएका उकुसमुकुसलाई खोल्न, आपसमा बाँड्न र जीवनलाई उत्सवका रूपमा बाँच्न प्रेरणा दिइएको छ । आत्महत्या समस्याको समाधान नभएर जीवनलाई उत्सवका रूपमा लिनुपर्ने सन्देश ‘भिडियो स्टोरी’ ले समेटेको छ ।

टोखा, बालुवाखानी र ललितपुरको एक स्टुडियोमा भिडियोको छायांकन गरिएको हो । भिडियोमा ५० भन्दा बढी कलाकारको नृत्य छ भने विष्णु नेपाल मुख्य पात्रका रूपमा देखिएका छन् । एस स्टडी वर्ल्डले निर्माण गरेको भिडियोमा पवन सुस्लिङले छायांकन/सम्पादन गर्नुका साथै सलिन मगरले संगीत संयोजन गरेका छन् । कोरियोग्राफीमा कुशल डान्स प्रशिक्षक केबिका खत्रीले पनि लामालाई साथ दिएकी छन् । जहाँ उनीहरूले ५० जना डान्सरलाई एकैसाथ दृश्यमा उतारेका छन् ।

‘जीवन उत्सव हो भन्ने मूल मर्ममा तयार पारिएको यो भिडियोले भागदौडको अस्तव्यस्त जीवनशैलीका बीच उकुसमुकुस, चिन्ता र मानसिक दबाब जस्ता संकटको सामना गरिरहेका आमयुवाहरूलाई जीवनप्रति एक आशा र प्रेरणा दिने प्रयास गरेको छ,’ निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बिग्रँदो आर्थिक, सामाजिक, राजनीतिक कारण युवाहरू कुनै न कुनै रूपमा उकुसमुकुस लिएर बाँच्न बाध्य छन् । गीतले कथा, नृत्य र संगीतको माध्यमबाट युवाहरूमा बढ्दै गएको छटपटी र उकुसमुकुस निकाल्ने प्रयास गरेको छ ।’

गीतको भिडियोलाई काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । गायक ओझा र निर्देशक लामा यो गीतले उठाउन खोजेको मुद्दालाई बहसका रूपमा राष्ट्रव्यापी रूपमा फैलियोस् भन्ने चाहन्छन् । ‘यो गीत हाम्रो टिमको मात्र सम्पत्ति होइन । यो गीतको भिडियोलाई राष्ट्रव्यापी बनाउन सबैलाई सहयोग गरिदिनुहोला,’ ओझाले भने, ‘लकडाउनको समयमा गितार बजाउँदै गर्दा मानिसहरूको मनभित्र रहेको उकुसमुकुसलाई गीतमार्फत भन्नुपर्छ भन्ने लाग्यो अनि गीत लेखें । ६/७ घण्टा लगाएर गीत फाइनल गर्‍यौं,’ गीतमा ३ वर्षको मिहिनेत लागेको लामा बताउँछन् । 

‘अनुप र मैले सुरुमा गीतको सन्देश धेरै दर्शकबीच कसरी पुर्‍याउने भनेर छलफल गर्‍यौं । ३ वर्षअघि लकडाउनको समयमा दुःख गरेर रेकर्ड गर्‍यौं,’ लामाले भने, ‘गीतमा ३ वर्षको मिहिनेत लागेको छ । गीतले धेरैमा असर पारोस् भन्ने हाम्रो चाहना छ ।’ यसअघि उनी दुईले सँगै ‘वारिको डाँडामा म’ र ‘संसारै बैमानी’ मा सहकार्य गरेका थिए ।

गीत सार्वजनिक गर्नुअघि मानसिक स्वास्थ्यमाथि आधा घण्टाको प्यानल छलफल गरिएको थियो । पत्रकार जनकराज सापकोटा मध्यस्थकर्ता रहेको अन्तर्क्रियात्मक छलफलमा मनोचिकित्सक डा. रिसव कोइराला, मानसिक स्वास्थ्य अभियन्ता शिक्षा रिसाल र फिल्म निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँ सहभागी थिए ।

यस क्रममा डा. कोइरालाले मानसिक समस्यामा परेकाहरूलाई कसरी व्यवहार गर्ने भन्ने विषयमा सुझाव दिएका थिए । साथै यस्तो समस्यामा रहेका साथी, छिमेकी तथा आफन्तहरूलाई उपेक्षा नगरेर आत्मीयता बाँड्नुपर्ने सुझाव दिए ।

कलाकार रवीन्द्रसिंह बानियाँ, शिक्षा रिसाल र जनकराज सापकोटाले आफ्ना अनुभव सेयर गर्दै मानसिक स्वास्थ्यबारे जनचेतना आवश्यक रहेको औंल्याएका थिए । गायक तथा पत्रकार अनुप ओझा र कोरियोग्राफर प्रदीप लामाले गीत र भिडियो निर्माणको संघर्षपूर्ण यात्राको अनुभव सेयर गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully