काठमाडौँ — आर्टमान्डुले निर्माण गर्ने नेपाली फिल्म ‘ऊनको स्विटर’ मा मिरुना मगरले अभिनय गर्ने भएकी छन् । निर्देशक नवीन चौहानले मिरुनाले नायिकाको भूमिका निर्वाह गर्ने पुष्टि गरेका हुन् । अभिनेता विपिन कार्की यसअघि नै फिल्मका लागि अनुबन्धित भएका थिए ।
मिरुना र विपिनले यसअघि ‘लालपुर्जा’ मा सहकार्य गरेका थिए । ‘कबड्डी ४’ र ‘जारी’ फिल्म हिट भएसँगै मिरुना पछिल्लो समय निकै व्यस्त छिन् ।
फिल्म प्रेम र सामाजिक कथामा आधारित हुने जनाइएको छ । निर्देशक चौहानले आइतबार आयोजना हुने घोषणा समारोहमा फिल्मका अन्य कलाकारलगायतबारे विस्तृत जानकारी गराइने बताएका छन् । अधिकांश कलाकार केही समयअघि मञ्चित नाटक ‘चोरको स्वर’ बाट लिइने जनाइएको छ ।
‘ऊनको स्विटर’ चौहानको डेब्यु निर्देशन हो । यसअघि उनले दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निर्माण पक्षका अनुसार फिल्मको छायांकन मंसिरदेखि इलाम र पाँचथरमा गरिनेछ । फिल्मको छायांकन चिन्तराज भण्डारीले गर्ने जनाइएको छ ।
