साउन महिना झरी, हरियाली र उमंगले भरिएको समय मानिन्छ । अनि, चुरा युवतीका लागि प्रेमको प्रतीक । त्यसैले पछिल्लो समय हरियो चुरा र मेहन्दीमा सजिने युवतीको संख्या निकै बढेको छ ।
काठमाडौँ — हाफ जिन्स र खुलेको टिसर्ट लगाएकी फेसन क्रेजी नीता महर्जनले आइतबार दुवै हातमा विभिन्न रङका चुरा लगाइन् । ‘ओइ, तँ छिट्टै पसल आइज ल, हामीले लगाइसक्यौं,’ उनले साथीलाई पनि बोलाउँदै थिइन् । चुरा लगाएपछि उनमा छुट्टै उत्साह थपिएको थियो । हातमा हरिया चुरा लगाएपछिको उमंग थियो । अझै साथीसमेत बोलाउँदै चुरा किनिदिन तयार थिइन् ।
‘साउने महिना हरिया चुरा र मेहन्दी लगाउन मन लाग्छ,’ बानेश्वरकी तृप्ती खड्का भनिन्, ‘मलाई चुराको छिन्छिन् पनि मन पर्छ ।’ केही वर्षयता साउनमा चुराले नभरिएका महिलाका नाडी कमै हुन्छन् । अरू बेला चुरा लगाउन झर्को मान्नेहरूले पनि यतिबेला खोजीखोजी लगाउँछन् । कारण के होला ? यसको सामाजिक, सांस्कृतिक पाटोसँग युवा पुस्ताको भने खासै साइनो छैन । चासो छ, त फेसन र ट्रेन्डको ।
नीतालाई लाग्छ, चुरा फेसन र आकर्षणका दृष्टिकोणले पनि महत्त्वपूर्ण हुन्छ । मोर्डन टाइपको पहिरनमा चुरा लगाउँदा आधुनिक र परम्परागत दुवै फ्युजन देखिने उनको तर्क छ । ‘मभित्र मोर्डन र ट्रेडिसनल लेडी दुवैको स्वभाव छ,’ उनी बताउँछिन्, ‘यही भाव दर्शाउन हरियो चुरा लगाएकी हुँ ।’ उनकी साथी रुपाली गौतम भने उनीभन्दा ठीकविपरीत मनोभाव राख्छिन् । चुरा र पोते उनको मन पर्ने शृंगार सामग्री हुन् ।
इन्द्रचोकमा ग्राहकलाई पोते देखाउँदै व्यवसायी । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर
२५ वर्षीया रुपाली सिन्दूर र पोते बिहे गरेपछि मात्रै लगाउन पाइने बताउँछिन् । तर, चुरा भने साउन महिनामा निर्धक्क लगाएर हिँड्न पाइने हुँदा उनी यो समय निकै उत्साहित हुन्छिन् । ‘अरू बेला लाज लाग्छ, चुरा लगाउँदा,’ रुपाली भन्छिन्, ‘यो महिनाचाहिँ सबैले लगाउँछन्, म त झन् पारखी नै भएँ ।’ केही वर्षयता साउनमा साथीहरूलाई चुरा उपहार दिने र लिने संस्कारसमेत विकसित भएको छ । खासगरी पछिल्लो समय भने अविवाहित युवतीले चुरा साटासाट गर्न मन पराउँछन् ।
शंखमूल बस्ने समिप्या रेग्मीले साउन १ गते साथीहरूलाई उपहार दिने भनेर पाँच दर्जन चुरा खरिद गरेकी छन् । रङ उस्तै भए पनि चुराको डिजाइनमा उनी निकै कन्फ्युज भएकी थिइन् । कस्तो डिजाइन कसलाई दिने भन्नेमा उनी दुविधामा थिइन् । निकैबेर घोत्लिएपछि उनले एकैखाले चुरा किनेर उपहार दिने निधो गरिन् । ‘यसले न साथीहरूबीच चित्त दुखाइ हुन्छ न मनमुटाव,’ उनले भनिन् ।
पाटनकी आयुषा तिवारीले यो वर्ष हरियो चुरा लगाउन किन्न परेन । यसअघि आफैंले खरिद गरेर लगाउने भए पनि यस पटक उनले उपहार पाइन् । त्यो पनि भविष्यका जीवन साथीले रोजेका चुरा । उनी मक्ख छिन् । हातमा चुरा लगाइदिने चुरा लिन उनका प्रेमी इन्द्रचोक डुले । चुरा लगाउँदाको मजाभन्दा पनि उसले इन्द्रचोक पुगेर चुरा किनेको कुराले आयुषाको खुसीको सीमा नाघ्यो । ‘पसलमा आफैं पुगेर चुरा किनेर ल्याइदिने केटाहरू कमै हुन्छन् । मैले आफैंलाई लक्की ठानेकै छु,’ उनले भनिन् ।
साउनमा हरियो चुरा, मेहन्दी लगाउने सांस्कृतिक मान्यता भने मान्छेपिच्छे फरक छ । विवाहित महिलाले यसलाई पतिको सौभाग्यका रूपमा हेर्छन् । बुद्धनगर बस्ने मोहम्मद मियाँले १५ वर्षदेखि चुरा व्यापार गर्दै आएका छन् । साउन महिनामा चुराको व्यापार वर्षभरि हुनेभन्दा बढी हुने उनी बताउँछन् । ‘पछिल्लो समय फेसनका रूपमा युवतीले रोज्न थालेपछि यसको व्यापार फस्टाएको हो,’ उनले भने । यद्यपि साउनमा चुरा लगाउँदा विवाहितले पतिको कल्याण हुने र अविवाहितले कुशल जीवनसाथी पाउने अपेक्षाका साथ लगाउँदै आएको उनको बुझाइ छ । मोहम्मद भन्छन्, ‘अचेल त केटाहरू पनि चुरा किनिदिन पसल आउन थालेका छन् ।’
त्यसो त पछिल्लो समय हरियो रङलाई फेसन जगत्ले साउने रङ भनेर पनि बुझ्न थालेका छन् । कुपन्डोलस्थित बुटिक डिजाइनर इशा ताम्राकारले हरियो ड्रेस साउनमै बढी डिमान्ड हुने गरेको सुनाइन् । टप्स, कुर्था र सारीका डिजाइन अर्डर पूरा गर्न उनलाई भ्याइनभ्याइ छ । उनका अनुसार मौसमको प्रभावले मनोविज्ञानमा निकै प्रभाव पार्छ । साउन महिना झरी, हरियाली र उमंगले भरिएको समय मानिन्छ । त्यसैअनुरूप युवती सजिन चाहन्छन् । त्यस्तै, चुरा युवतीको प्रेम प्रतीक मान्ने पनि गरिन्छ ।
इशाले साउन महिनाको झल्को महसुस गराउन पहिरन अर्डर गर्न आउने ग्राहकलाई हरियो चुरा उपहार दिने गरेको बताइन् । उनी भन्छिन्, ‘लुगा किन्न आउँदा चुरा लगाइदिएर पठाएकी छु ।’ हरियो नङपालिस, हरियो टीका, हातमा मेहन्दी र हरियो चुरालगायत शिरदेखि पाउसम्मै हरियो लगाउने चलनप्रति केही युवा भने व्यंग्य गर्छन् । ललितपुरका वसन्त राजभण्डारीले श्रीमतीको साउने रूप देखेर जिस्क्याउँछन् । ‘मिल्छ भने, हरियै लिपिस्टिक लगाऊ बूढी भनेको छु,’ उनी रमाइलो भावले भन्छन्, ‘तिम्रै लागि रंगिएकी हुँ भन्दा माया झन् बढ्दो रहेछ ।’
