आजकै दिन

महारानी एलिजाबेथ प्रथमको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १६०३ मा आजकै दिन (मार्च २४) मा इंग्ल्यान्डकी महारानी एलिजाबेथको मृत्यु भएको थियो । १५३३ को सेप्टेम्बर ७ मा जन्मिएकी एलिजाबेथ १५५८ को नोभेम्बर १७ मा इंग्ल्यान्डको महारानी बनेकी थिइन् । एलिजाबेथ हाउस अफ टुडोर परिवारबाट अन्तिम महारानी बनेकी थिइन् । 

उनी हेनरी आठौं र उनकी दोस्री श्रीमती एन्नी बोलिनकी छोरी हुन् । एलिजाबेथ दुई वर्षकी हुँदा उनकी आमाको हत्या गरिएको थियो । त्यसलगत्तै एन्नीसँग हेनरीको विवाह रद्द गर्दै एलिजाबेथलाई अवैधानिक घोषित गरिएको थियो । हेनरीको मृत्युपछि एलिजाबेथका सौताने दाइ एडवार्ड छैटौं राजा बनेका थिए ।

१५५३ मा उनको मृत्यु भएपछि भने हेनरीका दुई छोरी (दोस्रो श्रीमतीतर्फका) को दाबी बेवास्ता गर्दै भतिजी लेडी जेन ग्रेलाई महारानी बनाइएको थियो । तर एडवार्डको इच्छाविपरीत ९ दिनमै मारीलाई महारानी बनाइएको थियो । उनको १५५८ मा मृत्यु भएपछि भने एलिजाबेथ महारानी घोषित भएकी हुन् ।

एलिजाबेथको शासनकालमा इंग्ल्यान्डमा सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा निकै विकास भएको मानिन्छ । खासगरी शेक्सपियर जस्ता महान् नाटककारले अंग्रेजी नाटकको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका थिए ।

त्यस्तै, वैदेशिक सम्बन्धका मामिलामा पनि एलिजाबेथ निकै सफल मानिन्छिन् । खासगरी उनको नीतिका कारण सुरुमा इंग्ल्यान्ड र स्पेनबीचको सम्भावित युद्ध टरेको बताइन्छ । एलिजाबेथको मृत्युपछि जेम्स प्रथम इंग्ल्यान्डको राजा बनेका थिए ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

‘बलेको आगो-२’ मा प्रेम र बिछोड

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा बसेर नेपाली म्युजिक भिडियो निर्देशनमा सक्रिय प्रभु गुरुङको नयाँ भिडियो ‘बलेको आगो–२’ सार्वजनिक भएको छ । आरडीआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गीत प्रेम र बिछोडको कथामा केन्द्रित छ । 

राजकुमार सिंहको स्वर, सुनील राईको संगीत संयोजन र लक्ष्मी बर्देवाको शब्दमा तयार गीतको भिडियो बेलायतको राजधानी लन्डनमा खिचिएको हो । सम्पादक तथा छायांकार सुमन श्रेष्ठले सीमित लोकेसनबाट पनि रमणीय दृश्य कैद गरिएको बताए ।

करिब एक दर्जन नेपाली म्युजिक भिडियो निर्देशन गरेका गुरुङले ‘बलेको आगो–२’ पृथक् बनाउन प्रयास गरेको बताए । भिडियोमा निश्मा बन, रोशन बस्नेत, दुर्गा सिंह र विजय गिरीले अभिनय गरेका छन् । बेलायतमा आयोजित तेस्रो ‘मिसेस् नेपाल युनिभर्स–२०२२’ मा बेस्ट ब्युटिफुल फेसको उपाधि जितेकी निश्माले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन् ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×