गायनमा जमेका दाजुभाइ

बागलुङमा जन्मिएका प्रकाश सपुत अलग धारका लोकसंगीतमार्फत समाजमा चेतना फैलाउन लागिपरेका छन् भने उनका साइँला भाइ देवेन्द्र बब्लु आधुनिक लोकपपमार्फत युवाको मन जितिरहेका छन्
नारायण खड्का

अस्ट्रेलिया — सामाजिक सञ्जालका कारण अहिले संगीतमा एकाएक सफल हुनु सामान्यजस्तो लागे पनि वर्षौंसम्म नेपालीको मनमुटुमा रहनु भने चानचुने कुरा होइन । त्यसमा पनि आफ्नै सहोदर दाजुभाइ भएपछि झेल्नुपर्ने आरोप त कति कति ।

हुन त नेपाली संगीतमा आफ्नै परिवारका सहोदर दाजुभाइ तथा दिदीबहिनी सफल नभएका होइनन् । सत्यराज र स्वरूपराज, शीतल र शिवानीले नेपाली संगीतमा आफ्नो नाम बनाइसकेका छन् ।

बागलुङको सामान्य परिवारमा जन्मिएका प्रकाश सपुत अलग धारका लोकसंगीतमार्फत समाजमा चेतना फैलाउन लागिपरेका छन् भने उनका साइँला भाइ देवेन्द्र बब्लु आधुनिक लोकपप विधामार्फत युवाको मनमा बस्ने ध्याउन्नमा छन् । पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा जमेका दाजुभाइको जोडीले नेपाली संगीतको फरक फरक धारलाई प्रतिनिधित्व मात्र गरेको छैन कि समाजमा चेतना र विकासको पाटोलाई समेत सँगसँगै अघि बढाएको छ ।

अहिले सफल गायकका रूपमा चिनिने प्रकाश सपुतले समाजमा रहेको समस्या, विकृति, विसंगति र विभेदलाई नजिकबाट देखेका छन् । या भनौं अझै देखिरहेका छन् । त्योभन्दा पनि बढी उनले आफ्नो देशमा रोजगार नपाएर विदेश गएका नेपालीको पीडालाई त पटकपटक नेपाली समाजमा उजागर गर्ने प्रयास गरेका छन् । त्यसैले पनि होला, उनले ५ वर्षअघि गाएको ‘बोल माया’ गीतले उनलाई चर्चाको शिखरमा पुर्‍याइदियो । त्यसपछि ‘मेरो पनि हैन र यो देश’ ले उनलाई थप उचाइमा पुर्‍यायो । त्यसैले पनि उनलाई लाग्छ, ‘संगीत भनेको जनजीवनलाई प्रतिनिधित्व गर्ने हुनुपर्छ, मनको भाव बुझ्ने हुनुपर्छ अनि समाजको पीडालाई व्यक्त गर्न सक्ने ।’ अर्कोतिर उनका भाइ भने संगीतलाई बुझ्ने, अझै पहिचान स्थापना गर्ने र युवाकेन्द्रित संगीत सिर्जनामा लागिपरेका छन् ।

परिवारका जेठा छोरा भएकाले प्रकाशले उनका साइँला भाइ देवेन्द्र बब्लुभन्दा धेरै संघर्ष, पीडा र खुसी देखेका छन् । आफ्नो दाजु संगीतमा लागेपछि भाइलाई पनि संगीतको नशा नलाग्ने भन्ने कुरै भएन । तर उनले आफ्नो दाजुले भन्दा फरक गर्ने सोचे र फरक सांगीतिक विधा रोजे । उनका दाजु मुख्य गरेर लोकभाका, सामाजिक भावना र देशभक्तिका संगीतमा सफल भइरहँदा उनलाई भने युवापुस्ताले मन पराउने संगीत सिर्जना गर्ने रहर लाग्यो । त्यसैले पनि उनका अधिकांश गीतमा मायाप्रेम, बिछोड त छ नै उनले आफ्नो सांगीतिक धारलाई लोकभाकासँग पश्चिमा संगीतलाई फ्युजन गराएर आधुनिक पपसंगीतको सिर्जना सुरु गरे । उनलाई लाग्छ, पछिल्लो समयमा युवाले लोकभाकासमेत गुन्गुनाउने अनि पपलाई मन पराउने भएकाले दुवै संगीतको फ्युजन चर्चित भएको हुनुपर्छ ।

‘देशप्रेम होस् वा समाजमा भएका बेथिति हुन् त्यसलाई भन्नका लागि संगीतभन्दा सरल र सहज आवाज अरू हुनै नसक्दो रैछ,’ दक्षिण अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्न आएका दाजुभाइले कान्तिपुरसँगको कुराकानीमा भने । त्यसमा पनि कस्तो संगीतले कसलाई छुन्छ र त्यसको प्रभाव कस्तो हुन्छ भन्ने बुझाइ हुनसमेत उत्तिकै आवश्यक रहेको दुवैको ठम्याइ छ । त्यसैले पनि होला प्रकाश आफ्नो संगीत नेपाली संगीतमा ‘मिक्स विधा’ भएको सुनाउँछन् । ‘हो मैले समाजमा रहेका बेथितिलाई संगीतमार्फत प्रस्तुत गरेको छु र गरिरहनेछु,’ उनले भने, ‘तर यसो भन्दै गर्दा मैले लोकभाका, मायाप्रेमका गीत र लोक ब्याटलसमेत गरेको छु ।’ उनी आफूलाई एकै विधाको गायक मात्र नभएको प्रस्ट्याउँछन् । अर्कोतिर उनका भाइ भने आफूलाई युवाको प्रतिनिधित्व गर्ने गीतसंगीत सिर्जना गर्ने एक सिकारुका रूपमा चित्रित गर्छन् । ‘हो म दाइलाई हेरेर धेरै प्रभावित हुन्छु तर मेरो विधा र संगीत सिर्जना गर्ने शैली दाजुको भन्दा अलि फरक छ,’ उनी भन्छन् । आफूलाई पनि दाजुजस्तै परिवर्तनकारी र चेतनामूलक संगीत सिर्जना गर्ने रहर भने जागेको उनी बताउँछन् ।

दाजुभाइ नै एकै विधामा लागेपछि ईर्श्या र आरिस हुन्छ कि हुँदैन होला त ? मलाई त बब्लुको गीतसंगीत, शैली र कलाकारिताको ईर्श्या लाग्छ, प्रश्न सोध्न नपाउँदै प्रकाश भन्छन् । ‘तर यो हेल्दी ईर्श्या हो है,’ उनी खुलेर हाँस्दै भन्छन् । प्रकाशको तुलनामा अत्यन्तै कम बोल्ने बब्लु भने मुसुमुसु हाँस्छन् । ‘मलाईचाहिँ दाजुको आरिस, ईर्श्याभन्दा पनि कसरी दाजुजस्तै राम्रो र उत्कृष्ट बन्न सकिन्छ भन्ने लाग्छ ।’ दुवै जना आफ्नो परिवार, सांगीतिक बजार र क्षेत्र एकै भए पनि कर्म र सिर्जना भने फरक भएको मान्छन् ।

दाजु सफल भएका कारण बब्लुलाई सांगीतिक क्षेत्रमा अघि बढ्न सहज र सफल बनेको भन्ने आरोपसमेत लाग्ने गरेको छ । तर दुवै जना यस आरोपलाई सत्य मान्दैनन् । बब्लुले उनका गीतसंगीत सबै आफैंले सिर्जना गर्ने र अधिकांश समय आफूलाई नभन्ने गरेको प्रकाशको भनाइ छ । बरु आफू आफ्नो संगीत सिर्जनाका क्रममा उनीसँग सल्लाह लिने गरेको सुनाउँछन् । ‘यद्यपि उसले नमागे पनि दाजुको नाताले कहिलेकाहीं आवश्यकताअनुसार सल्लाह र सहयोगचाहिँ दिने गरेको छु ।’ बब्लुसमेत सकेसम्म आफ्ना सबै संगीत आफैं सिर्जना गर्ने गरेको दाबी गर्छन् । ‘मेरो विधा अलि फरक भएकाले समेत मलाई आफैं आफ्नो कर्ममा रम्न मन पर्छ,’ बब्लु भन्छन् ।

युवा उमेरका दुवै जनाबाट अहिलेको युवापुस्ताले के सिक्न सक्छन् त ? बब्लुको नजरमा प्रकाश संगीतमार्फतबाट समाजको आवाज बोल्नका लागि प्रेरित गर्न सक्ने व्यक्ति हो भने बब्लु आत्मनिर्भर र स्वतन्त्र भएर आफ्ना काम गर्न सकिन्छ भनेर उदाहरण दिन सक्ने व्यक्ति भएको प्रकाशको ठम्याइ छ । अहिलेका युवामा आफ्नो अलग पहिचान, सही गलतको ठम्याइ र आफ्नो बाटो आफैं तय गर्न सक्नुपर्ने प्रकाशको भनाइ छ । नेपालमा रहेका युवामा बेरोजगारी र अवसरको अभावका कारण डरलाग्दो अवस्था रहेको अनुभव सुनाउँदै नेपालमा मात्र अवसरको खाँचो रहेको बब्लुको भनाइ छ ।

दाजुभाइमध्ये प्रकाशलाई लाग्छ कि उनले जुन उचाइ पाइएला भनेर संगीतमा लागेका थिए त्यो पाइसके । त्यसैले पनि उनलाई आफू कसैको प्रतिद्वन्द्वी भन्ने फिल नै हुँदैन रे । उनले अहिलेसम्म जे पाएका छन् त्यसमा खुसी छन् त्यसैले पनि उनले भविष्यमा समाजका समसामयिक विषयवस्तुलाई प्राथमिकतामा राख्ने सोच बनाइसकेका छन् । ‘मलाई जे दिएको छ यही समाज र संगीतले दिएको छ,’ उनी भन्छन् । उनका भाइ बब्लु भने आफ्नो विधामा अझ धेरै गर्न बाँकी रहेको बताउँछन् । ‘हो मैले अलिअलि सफलता पाएँ होला तर पनि मैले संगीतको क्षेत्रमा गर्न अझै धेरै बाँकी छ र त्यसमा नै फोकस हुन चाहन्छु,’ उनी भन्छन् ।

एकै परिवारका दाजुभाइ भएर पनि फरक सांगीतिक विधामा जमेका उनीहरू आफ्नो पेसामा व्यक्तिगत सम्बन्धभन्दा दर्शक श्रोतासँगको सम्बन्ध झन् प्यारो हुने बताउँछन् । त्यसैले पनि उनीहरू कार्यक्रममा जाँदा दाजुभाइभन्दा पनि संगीतकर्मी भएर पुग्ने गर्छन् । त्यसैले हुन सक्छ धेरैलाई उनीहरू सहोदर दाजुभाइ भएको थाहा छैन ।

प्रकाशित : चैत्र १०, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

परिवारको आकार घट्यो, परिवार संख्या बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पछिल्लो दस वर्षमा परिवारको औसत आकार घट्दो रहेको देखिएको छ भने परिवार संख्या बढेको छ । यो दशकमा परिवार संख्या करिब २३ प्रतिशतले वृद्धि भएको छ । २०६८ को जनगणनाअनुसार नेपालमा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ थियो ।

तर यो संख्या २०७८ मा आइपुग्दा ६६ लाख ६६ हजार ९३७ पुगेको छ । जुन करिब २३ प्रतिशतले बढी हो । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेको छ ।

तर यही अवधिमा परिवारको आकार भने घट्दो छ । हाल औसतमा एउटा प्ररिवारमा ४ देखि ५ जना रहेको पाइएको छ ।

शुक्रबार सार्वजनिक भएको जनगणनाको प्रतिवेदनअनुसार औसत परिवार संख्या ४.३७ जना छ । जुन २०६८ को गणनामा ४.८८ थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) तथा गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×