काठमाडौँ — सन् १९७० मा आजकै दिन (मार्च ६) मा सांगीतिक समूह द बिटल्सको ‘लेट इट बी’ बेलायतमा सार्वजनिक भएको थियो । यो बिटल्स ब्यान्डको अन्तिम गीत हो । द बिटल्स विश्वकै सबैभन्दा प्रभावकारी सांगीतिक ब्यान्डका रूपमा चिनिन्छ ।
इंग्लिस रक ब्यान्ड द बिटल्स बेलायतको लिभरपुलमा सन् १९६० मा स्थापना भएको हो । १९६२ देखि १९६९ सम्म ब्यान्डमा जोन लेनन, पल म्याक्कार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टार सस्दय रहेका थिए । सन् १९६७ मा ब्यान्ड म्यानेजर ब्रायन एप्स्टिनको मृत्यु भएसँगै ब्यान्ड समस्यामा परेको हो । त्यसको एक वर्षपछि १९७० को अप्रिलमा पल म्याक्कार्टनीले सोलो एल्बम निकालेपछि ब्यान्ड औपचारिक रूपमा टुक्रिएको हो ।
ब्यान्डका निकै चर्चित सदस्य जोन लेननको सन् १९८० मा हत्या भएको थियो । ह्यारिसनको सन् २००१ मा क्यान्सरका कारण निधन भएको थियो । क्याक्कार्टनी र स्टार भने अझै पनि सांगीतिक दुनियाँमा सक्रिय छन् । विश्वभर बिटल्सका कम्तीमा ६० करोड एल्बम बिक्री भएका छन् ।
बिटल्सका ‘ह्वाइल माई गिटार जेन्ट्ली विप्स’, ‘अ डे इन लाइफ’, ‘आई वान्ट टु होल्ड योर ह्यान्ड’, ‘स्ट्रबेरी फरएभर’, ‘यस्टर्डे’, ‘इन माई लाइफ’, ‘समथिङ’, ‘लेट इट बी’, ‘कम टुगेदर’ लगायतका गीत निकै चर्चित छन् ।
