समानताको पक्षमा ‘प्रसाद २’

फाल्गुन २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — जातीय विभेदविरुद्धको फिल्म ‘प्रसाद’ रिलिजको झन्डै चार वर्षपछि यसको सिक्वेल ‘प्रसाद २’ चैत २४ देखि प्रदर्शनमा आउने भएको छ ।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको सहकार्यमा सुदर्शन थापा निर्देशित फिल्मको शुक्रबार ट्रेलर रिलिजसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । 

अन्तरजातीय प्रेम विवाह गरेका निःसन्तान दम्पतीको मुख्य भूमिकामा विपिन कार्की र केकी अधिकारी रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय छ । ‘यसपटक ‘प्रसाद २’ ले जातीय विभेदको चपेटामा परेका एक जोडीले समाजसँग गर्ने संघर्षको कथालाई देखाउन खोजेको छ,’ निर्देशक थापाले भने, ‘संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन ।’ तर उनले फिल्मको ट्याग लाइन नै ‘मायाभन्दा ठूलो नै के छ र’ भएको औंल्याउँदै यसको मूलकथा भने प्रेममा आधारित रहेको बताए ।

यसअघि समीक्षात्मक तथा व्यावसायिक रूपमा सफल बनेको ‘प्रसाद’ का लेखक सुशील पौडेलले ‘प्रसाद २’ पनि लेखेका हुन् । जसमा राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन र राजनराज सिवाकोटीको संगीत छ । सुदर्शन बस्नेत निर्माता रहेको फिल्मको प्रस्तुतकर्तामा सुभाष थापा छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully