काठमाडौँ — सन् १९८६ मा आजकै दिन (मार्च ३) मा अमेरिकी सांगीतिक ब्यान्ड मेटालिकाको तेस्रो एल्बम ‘मास्टर अफ पपेट्स’ सार्वजनिक भएको थियो । व्यावसायिक रूपमा निकै सफल उक्त एल्बमले ब्यान्डलाई विश्वभर चर्चामा ल्याएको थियो ।
सन् १९८१ को अक्टोबर २८ मा अमेरिकाको लस एन्जल्समा भोकलिस्ट तथा गितारिस्ट जेम्स हर्टफिल्ड, ड्रमर लार्स उलरिचले मेटालिक ब्यान्ड गठन गरेका हुन् । किर्क हमेट, रोबर्ट ट्रुजिलो लगायतका सदस्य भने ब्यान्डमा पछि जोडिएका थिए । ब्यान्डले अधिकांश समय अमेरिकाको सान फ्रान्सिस्कोमा रहेर सांगीतिक करिअरका अघि बढाएको थियो ।
मेटालिकाकको चौथो एल्बम ‘...एन्ड जस्टिस फर अल (१९८६)’ ग्रामी अवार्डका लागि मनोनयनमा परेको थियो । ब्यान्डको पाँचौं एल्बम ‘मेटालिका (१९९१)’ हो । उक्त एल्बम अमेरिकामा मात्रै कम्तीमा १ करोड ६० लाख प्रति बिक्री भएको थियो । हेभी मेटलबाट अन्य विधाका विभिन्न गीत संगीतमा लागेको ब्यान्ड सन् २००९ मा ‘डेथ म्याग्नेटिक’ नामक एल्बमसँगै आफ्नो विधामा फर्केको थियो । त्यस्तै, ब्यान्डले दसौं एल्बमका रूपमा ‘हार्डवायर्ड... टु सेल्फ–डिस्ट्रक्ट (२०१६)’ बजारमा ल्याएको थियो । मेटालिकाको एघारौं एल्बम ‘७२ सिजन्स’ भने यसै वर्षको अप्रिलमा सार्वजनिक हुँदै छ ।
