जेठी नातिनी नवश्रीको स्वरमा ‘हर नाद’ र ‘मेरी माया’ गीत सार्वजनिक भइसकेका छन् । कान्छी सर्वश्रीकाले गीतका भिडियो बनाएकी छन् भने नविस्थाले स्टाइलिङ र प्रोडक्सनको काम गरिन् ।
काठमाडौँ — धेरैलाई लाग्न सक्छ, गोपाल योञ्जनकी नातिनी हुन्, त्यसैले आफ्ना हजुरबुबाका गीत गाउँदै पुनः बजारमा ल्याउने छुट छ नवश्रीलाई । तर, वास्तविकता भने फरक छ । खासमा सजिलै हजुरबुबाका गीत गाउन र रेकर्डिङ गर्ने सहुलियत छैन उनलाई । गोपाल योञ्जन राष्ट्रको सम्पत्ति हुन् भन्ने उनले बुझेकी छन् ।
त्यसैले पारिवारिक छलफलपछि नै योञ्जनको अन्तिम आध्यात्मिक ‘हर नाद’ र ‘मेरी माया’ मा बल्ल उनले स्वर दिने मौका पाइन् । हालै, नवश्रीको स्वरमा सार्वजनिक भयो, ‘मेरी माया’ । योञ्जनको २५ औं स्मृति दिवसका अवसरमा ‘हर नाद’ सार्वजनिक गरिएको थियो ।
यी दुई गीत गाउनका लागि परिवारले आफूलाई विश्वास गरिदिएकोमा भने दंग छिन्, २५ वर्षीया नवश्री । यसअघि युवा गायक/गायिकालाई गोपालका गीतमा स्वर दिने मौका दिइएको थियो । आफू पनि त्यही अवसर पाउने भीडमा पर्दा दंग छिन् । ‘मेरी माया’ बजारमा आएसँगै थुप्रैले नवश्रीको नेपाली उच्चारणलाई लिएर प्रशंसा गरे । गोपालको शब्द र संगीतमा यो गीत यसअघि प्रतिष्ठित गायक उदितनारायण झाको स्वरमा सार्वजनिक भइसकेको थियो । खासगरी युवा वर्गले खासै नसुनेका गोपालका गीत उनीहरूसम्म पुर्याउने उद्देश्यले ‘मेरी माया’ पुनः बजारमा ल्याइएको नवश्रीको भनाइ छ ।
‘अब मैले यो गीतलाई न्याय दिएँ/दिइनँ भन्ने कुरा दर्शकले नै मूल्यांकन गर्नुहुन्छ भन्ने लागेको छ । यो मेरो व्यक्तिगत प्रयास हो, हजुरबुबाका गीतहरू गाउने । जतिसम्म सक्छु त्यति सिकेर, बुझेर, गाएर गीतलाई दर्शकमाझ ल्याउने प्रयास हो,’ नवश्रीले भन्छिन् । पछिल्लो समय युवा वर्गको रोजाइमा पर्ने ‘लभ सङ’ भन्दा यो गीत फरक छ । ‘यस्तै गीत सुन्ने युवा पुस्तामाझ हजुरबुवाको गीत सुनाउन फेरि ल्याएका हौं,’ उनको भनाइ छ । नवश्रीले १४/१५ वर्षको उमेरदेखि नै गाउन थालेकी हुन् ।
विद्यालय पढ्दाताका भने पश्चिमा संगीत धेरै गाउँथिन् । तर, साथीभाइले आफ्नो स्वरको तारिफ गर्न थालेपछि काठमाडौं ज्याज कन्जरभेटरीमा संगीत कक्षा लिइन् । स्टेज कार्यक्रममा लाइभ प्रस्तुति दिन थालेपछि संगीतमा रुचि बढ्न गयो । अहिले नवश्री अमेरिकामा पनि संगीत कक्षा लिइरहेकी हुन्छिन् । हिन्दुस्तानी शास्त्रीय संगीत सिकिरहेकी नवश्री यसलाई ‘प्यासन’ का रूपमा अगाडि बढाइरहेकी छन् । ‘पश्चिमा संगीतका कति तत्त्वहरू हजुरबुबाका गीतहरूमा पनि भेटिन्छ । अर्को त हजुरबुबाको गाउने शैली नै फरक । वाद्यवादनको स्वाद बेग्लै हुन्छ,’ नवश्री योञ्जनको तारिफ गर्छिन् । नवश्रीले सुरुमा ५/६ वर्ष पश्चिमा संगीत सिकिन् । जसै हजुरबुबाका गीतहरू गाउने प्रयास थालिन्, तब हिन्दुस्तानी शास्त्रीय संगीत सिक्नुपर्यो । हिजोआजका गीत सजिलै गाउन सकिने भए पनि हजुरबुवाका संगीतमा स्वर दिन गाह्रो भएको नवश्रीको अनुभव छ ।
‘हजुरबुबाको गीत सुन्दा एकदम सजिलो, लयको बगेकोजस्तो लाग्छ । मेरी मायाको उदितनारायण झाको भर्सन सुन्दा पनि त्यस्तै लाग्छ । तर, उहाँको गीत सुनेर सिक्न र गाउन गाह्रो हुन्छ,’ उनले भनिन् । ‘हर नाद’ गाउँदा रागहरू सिक्नुपरेको थियो । ‘मेरी माया’ को त गीतको अर्थ बुझ्न नवश्रीलाई गाह्रो भएको थियो । गीतको भिडियोमा फरक–फरक समयमा खोजिएको प्रेमलाई प्रस्तुत गर्न खोजिएको छ । फरक समयका तीन पुस्ता भिडियोमा देखाइएको छ ।
‘यो सुन्नेबित्तिकै बुझ्ने खालको गीत होइन । यसको अर्थ गहिरो रहेछ । यो गीतमा मायाको खोजी गरिएको छ । मैले जुन पात्रको भूमिका भिडियोमा गरेको छु, उसले मायाको खोजी गरिरहेको हुन्छ । मेरी माया निश्चिन्त बस एकछिन् भनिएको कुराले युवा अवस्थामा चाहिँ माया खोज्न हतार नगर भन्न खोजिएको होजस्तो लाग्छ,’ नवश्री सुनाउँछिन् ।
‘हजुरबुबाको गीत रुचिले गाउन थालिएको हो कि विरासत जोगाउनुपर्ने जिम्मेवारी हो ?’ प्रस्ट उत्तर छ नवश्रीको– हजुरबुबाका गीतमा रुचि भएकै कारण त्यसमा स्वर भरेकी हुँ । ‘म विरासतका हिसाबले हेर्दिनँ । पहिल्यैदेखि गायनमा रुचि थियो । पहिला धेरै पश्चिमा गीत गाउँथें । उहाँको नातिनी भएकै हिसाबले मैले मात्रै उहाँको विरासत सम्हालेको छु भन्ने लाग्दैन । यो सब उहाँप्रतिको आदर हो,’ नवश्रीले भनिन् । नवश्रीको अभ्यासमा, रेकर्डिङको सबै प्रक्रिया हजुरआमा रेन्छिनको साथ रह्यो ।
‘मेरी माया’ लाई नवश्रीकी आमा, गोपालकी छोरी सिर्जना सिंह योञ्जनले निर्देशन गरेकी हुन् । उनकी कान्छी बहिनी सर्वश्रीकाले भिडियो खिच्ने, रंग संयोजन र सम्पादन गरिन् । माइली बहिनी नविस्थाले स्टाइलिङदेखि प्रोडक्सनको जिम्मा सम्हालिन् । ‘मेरी माया’ मा आएको एउटा कमेन्ट थियो,’ अझै साधना गरिरहे हजुरबुबाकै स्तरमा गीत गाउन सक्ने हुन्छौं ।’ नवश्रीले हजुरबुबाले बनाएको संगीतस्तरलाई प्रतिस्पर्धाका हिसाबले हेरेकी छैनन् । आफ्नै तरिकाले संगीतमा आफूलाई अघि सार्न चाहन्छिन् उनी ।
नवश्रीले आफ्ना हजुरबुबासँगको पल भने थाहै भएन । उनी ४ महिनाकी हुँदा हजुरबुबाले संसार छोडे । योञ्जन आज जीवित हुन्थे भने नवश्री उनीसँगै संगीत सिकिरहेकी भेटिन्थिन् होला । हजुरबुबासँगका कुनै स्मृति संगाल्न नपाए पनि हजुरआमा र आमाले हजुरबुबाका सिर्जना प्रवर्द्धन र सम्बर्द्धन गर्न गरेका प्रयास भने नजिकैबाट नियाल्न पाइन् नवश्रीले । कतिपय समय गोपाल योञ्जन समर्पित स्टेज कार्यक्रममा झन्डा बोकेरै स्टेज उक्लेकी छन् । विद्यालयमा ‘पश्चिम कोही पूर्व घर...’ मा थुप्रै पटक नाचिन् पनि ।
कान्छी नातिनी सर्वश्रीकासँग भने आफूले हजुरबुबाको गीतलाई नचिनेको एउटा प्रसंग छ । विद्यालयमा हुँदा कम्प्युटर कक्षामा ‘जीके’ खेलिन्थ्यो । एक दिन त्यसमा एउटा गीतको शीर्षक दिँदै गायकको नाम सोधियो । गायकहरूको सूचीमा गोपालको नाम पनि थियो । त्यतिबेला साथीहरूले ‘यो गीत तिम्रो हजुरबाजेको हो’ भनेर सोध्दा उनी अक्क न बक्क भएकी थिइन् । बाल्यकालमा सर्वश्रीकाले योञ्जनको ख्याति खासै बुझेकी थिइनन् । जब हुर्कंदै गइन्, थाहा हुँदै आयो ।
१७ वर्षीया सर्वश्रीकालाई कहिल्यै नवश्रीले झैं गीत गाउने रहर भने जागेन । कहिलेकाहीं रमाइलोका लागि ‘क्यारिओके’ मा गाइरहेकी हुन्छिन् । तर, झुकाव बढी फिल्म मेकिङ र क्यामेरातिरै । अहिले उनी हजुरबुबाका गीतमाथि बनेको भिडियोलाई खिचिरहेकी हुन्छिन् । ‘अब हाम्रो परिवार नै सांगीतिक भएकाले गाउन हौसला त मिलिरहेको हुन्छ । तर, मलाई फिल्मतिर धेरै रुचि छ,’ उनले सुनाइन् । कक्षा ८ देखि नै सर्वश्रीकाले भिडियो बनाउन थालेकी हुन् । त्यतिबेला पीएसए पनि बनाइन् । अहिले भने ‘गोपालय’ प्रोजेक्टमा आफ्नो त्यही खुबी प्रस्तुत गर्न पाएकी छन् ।
‘गोपाल योञ्जन भन्नेबित्तिकै कलात्मकस्तरको तालमेल मिलाउँदै अगाडि बढ्नुपर्छ भन्ने हुन्छ । तर, त्यसलाई दबाबका रूपमा लिइयो भने सिर्जनाको पक्ष खुम्चिन सक्छ । त्यसैले अहिलेसम्म हामीले गीतकै शब्दलाई बुझेर भिडियो कन्सेप्ट बनाउँदै आएका छौं,’ उनले भनिन् । यसअघि ‘हर नाद’ को भिडियो उनी आफैंले खिचेकी थिइन् । सुरुमा युट्युबमा भिडियो हेर्दै क्यामेरा चलाउन सिकिन् । ११ बढ्दै गर्दा भने आईबी फिल्म पढ्न थालेकी छन् । ४ वर्ष लगाएर क्यामेरा र सम्पादन सिकेकी सर्वश्रीका ‘हर नाद’ सक्न एक वर्ष लागेको बताउँछिन् । यसको भिडियो अमेरिका, दार्जिलिङ र काठमाडौंमा खिच्नुपरेकाले लामो समय लाग्यो । गीतको भिडियो सम्पादन गर्न दुई साता लाग्यो ।
‘मेरी माया’ को छायांकन भने तीन दिनमै सकियो । सम्पादनका लागि भने ४ दिन । भिडियोमा ५०, ६० र ८० को दशक देखाउनुपर्ने भएकाले त्यस्तै किसिमको रंग संयोजन गरेकी छन् सर्वश्रीकाले । ‘यसपालि हामीले जे सोचेका थियौं, त्यही भिडियोमा आएको छ भन्ने लाग्छ,’ सर्वश्रीकाले भनिन्, ‘हर नादलाई फर्केर हेर्दा भने त्यतिबेला कस्तो आँट गरिएछ भन्ने लाग्छ । कति सट अहिले हेर्दा मनपर्छ । कति सट भने अझै सुधार गर्न सकिन्थ्यो भन्ने पनि लाग्छ ।’
माइली नातिनी २२ वर्षीया नविस्थाले भने ‘मेरी माया’ मा स्टाइलिङको जिम्मा सम्हालेकी थिइन् । ६० को दशकको पात्र देखाउन मेकअप स्टाइलिसलाई उनले नै सहयोग गरेकी थिइन् । ‘हर नाद’ मा नवश्रीले म्युजिकल नोट भएको ब्रासलेट लगाएकी छन् । त्यो ब्रासलेट नविस्थाले नै खोज्ने जिम्मा थियो । ‘गीतको भिडियो भ्यालेनटाइन डेमा सार्वजनिक गर्ने तयारी थियो । त्यसका लागि रातो र गुलाबी रंगको थिममा काम गरौं भन्ने भएको थियो । ‘त्यसरी नै काम गर्यौं,’ नविस्था भन्छिन्, ‘बिहाइन्ड द सिन खिच्न एकदमै रमाइलो लाग्यो । ८० को दशकको पहिरन खोज्ने जिम्मा पनि मेरै थियो ।’
