आजकै दिन : डानियल क्रेगको जन्म

फाल्गुन १८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६८ मा आजकै दिन (मार्च २) मा अभिनेता डानियल क्रेगको जन्म भएको थियो । बेलायतको चेस्टरमा जन्मिएका क्रेगले जेम्स बोन्ड सिरिजका फिल्ममा अभियन गरेपछि अन्तर्राष्ट्रिय चर्चा कमाएका हुन् । 

क्रेगले सन् २००६ मा बनेको ‘क्यासिनो रोयल’ बाट जेम्स बोन्ड सिरिजअन्तर्गतका फिल्ममा अभिनय सुरु गरेका हुन् । उनले हालसम्म सिरिजअन्तर्गतका ‘क्यासिना रोयल (२००६)’, ‘क्वान्टम अफ सोलास (२००८)’, ‘स्काइफल (२०१२)’, ‘स्पेक्ट्रे (२०१५)’, र ‘नो टाइम टु डाई (२०२१)’ गरी पाँच फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकेका छन् । 

जेम्स बोन्ड सिरिजको पहिलो फिल्म ‘डा.नो’ सन् १९६२ निर्माण भएको थियो । ‘डा.नो’ उपन्यासमा आधारित फिल्मको निर्देशन टेरेन्स योङले गरेका थिए । उक्त फिल्ममा पहिलो जेम्स बोन्डका रूपमा सिन कोनेरीले अभिनय गरेका थिए । सिरिजअन्तर्गत २७ वटा फिल्म निर्माण भइसकेका छन् । ६ दशकको अवधिमा ७ जना अभिनेताले जेम्स बोन्डको भूमिका निर्वाह गरिसकेका छन् । उनीहरू सिन कोनेरी, डेभिड निभेन, जर्ज लाजेनबाई, रोगर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र डानियल क्रेग हुन् । 

क्रेगले कलाकारिता क्षेत्रमा आफ्नो करिअर भने ‘द पावर अफ वान (१९९२)’ ड्रामाबाट सुरु गरेका हुन् । त्यसपछि विभिन्न ड्रामा सिरिजमा काम गरेका उनी १९९८ बाट फिल्मतिर लागेका हुन् । उनले ‘एलिजाबेथ’ फिल्ममा सहायक भूमिकामा अभियन गरेका थिए । उनले ‘लारा क्रोफ्ट : टम्ब राइडर (२००१)’, ‘रोड टु पर्डिसन (२००२)’, ‘लयर केक (२००४)’, ‘म्युनिक (२००५) मा पनि अभियन गरेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully