घाटु नाच जोगाउने नयाँ पुस्ता- कला - कान्तिपुर समाचार

घाटु नाच जोगाउने नयाँ पुस्ता

माधव अर्याल

पाल्पा — हा..रे...आ....भुइँको धनुकी खोजैला...
भुइँकी धनुकी खोज्यो...तैलिया...
हातैको धनुकी काखै लिया...
काखैको धनुकी काँधै लिया....
काँधै लिया धनुकी सिकार खेलन जाउँ...।
पूर्वखोला गाउँपालिका–२, जल्पा ढोलीमाराकी ६० वर्षीया गुरुआमा फनिसरा कँवरको स्वर गुन्जिन्छ । त्यसलाई भाका दिने चार महिला नै छन् । प्रत्यक्ष गाउने, मादल बजाउने मात्र हुन्छ ।


मञ्चमा किशोरीहरू सारी, पटुकी, चोली, भाला, फुली, बुलाकी लगाएका चारदेखि ६ जना किशोरी निदाएको मुद्रामा यताउता गर्छन् । टाउकोमा लाभा फूल र हरियो पात मिलाएर सिन्कामा उनेर लगाएका किशोरीहरू निदाएकै आभासमा धनुष उचाल्छन् । गुरुआमाको स्वरसँगै हाउभाउ मिलाउँछन् । खासमा निकै आकर्षक देखिने पोसाकमा नाचिन्छ, घाटु नाच ।

जल्पाको ढोलीमाराका हुमाकान्ति, खुमीसरा बराल, देवी बराल, जानकी कँवर २० वर्षमुनिका हुन् । ‘पछिल्लो समय हामीले ८ देखि १० वर्षका नानीहरूलाई सिकाइरहेका छौं,’ गुरुआमा कँवरले भनिन्, ‘१८ देखि २० वर्षका बिहे गरेर हिँडे भने साना नानीले सिक्न पर्‍यो ।’ ८ देखि १० वर्षका तृप्ति कँवर, बिन्दु सारुलगायतले सिकिरहेका छन् । संस्कृति जोगाउन किशोरीहरूलाई पनि सिकाइएको उनले बताइन् ।

अब गुरुआमा बूढी हुँदै गएकाले थप चार जनाले यसलाई लेखेरै भए पनि सिक्ने योजनामा छन् । केही समयअघि गाउँकै शम्भु माविका विद्यार्थीलाई पनि सिकाइएको थियो । यहाँका कतिपयले सिकेका छन् । तर, बिहे गरेर अन्य गाउँ गएपछि नाच्दैनन् । विशेषगरी किशोरीले नै यसमा नाच्ने चलन हुन्छ । हुन त पछिल्लो समयमा बजारका कला केन्द्रले पनि रिमिक्स गराएर घाटु नाच सिकाउने गरेका छन् । ‘हाम्रो गाउँमा जस्तो वास्तविकता अन्यत्र देख्न पाइँदैन, कि भने तनहुँको गुरुङ गाउँतिर जानुपर्छ,’ पूर्वखोला–२, जल्पाकी भिमीसरा आलेले भनिन्, ‘हामी सानो छँदा एक दिन एक रातसम्म नाचेको याद छ । तर, अहिले १०–१५ मिनेटको मात्र देखाउने गरिन्छ ।’

गाउँमै हुने कार्यक्रममा भने एकदेखि ढेड घण्टासम्म नचाउने चलन छ । ‘ससाना नानीहरू थाक्छन्,’ आफैं पनि गीत गाउन सिकेकी उनले भनिन्, ‘गीत गाउनेहरूले पनि सक्दैनन् । देवी भाक्ने, चुट्का र खेली गाउँदै गर्दा धेरै समय बितेको पत्तो नै हुँदैन ।’ नौ वर्षअघिसम्म पाल्पाको पूर्वखोला–२, जल्पा ढोलीमारामा मात्र घाटु नाचिन्थ्यो । अन्यत्र यो हराइसकेको छ । हुन त घाटु नाच मगर र गुरुङ समुदायमा प्रख्यात छ । यसमा विशेषतः कुमारी केटीहरू मात्र नाच्ने चलन छ । तर, मगर समुदायबाटै हराउँदै गएकाले पनि पछिल्लो समयमा यसलाई युवापुस्तामा हस्तान्तरण अभियान चलेको छ । विभिन्न विद्यालयबाट जल्पामा घाटुका विषयमा सिक्न जाने र नाच्ने पनि चलन सुरु भएको जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले बताए । ‘यसको पोसाक, गाउने गुरुआमा पनि पाइनै छाड्यो,’ उनले भने, ‘त्यसैले यसको जगेर्ना गर्नुपर्छ भन्ने लागेर हामीले पहल थालेका छौं ।’ वडाले पनि पोसाक किन्नमा सहयोग गरेको छ । बाहिर देखाउन जानका लागि यातायात सहयोग पनि हुने उनले बताए ।

घाटु नाचमा देवीदेवताको कथावस्तु हुन्छ । गाउँलेहरू धनुष लिएर हरिण मार्न जान्छन् । हरिण मारेपछि गाउँलेहरू खुकुरीले त्यसको छाला काढ्छन् । ‘त्यसपछि राजालाई दिने चलन छ,’ गुरुआमा कँवरले भनिन्, ‘राजा खुसी भएपछि गाउँलेलाई वायुपंखी घोडा उपहार दिने गर्छन् ।’ उनका अनुसार यही खुसी मनाउन गाउँलेहरूमा घाटु नाच्ने चलन चलेको हो । नाचमा पनि तिनै सामग्री प्रयोग हुन्छ । नाचमा मादल मात्र बजाइन्छ । मंगलाचरणमा विभिन्न देवीदेवताको नाम सम्झना हुन्छ । नाच नाच्नुअघि भने अक्षताले इष्टदेवी देवचुली, गंगाचुलीलगायतको पूजा गर्ने चलन अझै पनि छ । तर, कलाकेन्द्रले भने रिमिक्स गरेका छन् । मूलतः यस नाचमा आँखा चिम्लेर देवीदेवतालाई सम्झेर नाचिन्छ । ‘अहिलेको पुस्ताले निकै दुःख मान्ने गर्छन्,’ भिमीसराले भनिन्, ‘हामी पनि नमान्दा नमान्दै सिकेका हौं । यसलाई धेरैले सिक्नै खोज्दैनन् ।’

अबका पुस्तामा यसलाई सानैदेखि नाच्न सिकाउने हो भने पक्कै जान्ने बन्छन् । ‘यसका विषयमा सबैले सहयोग गरेर जोगाउनुपर्छ ।’ जल्पाका पुरानो पुस्ताले लोकसंस्कृति जोगाउन नयाँ पुस्तालाई हस्तान्तरण अभियान चलाउनुपर्ने उनले बताइन् । पहिले जल्पाको साकिने, मैदान, ढोलीमारा, तल्लो र माथिल्लो झेरुदी, मुढेखर्कमा नाच्ने चलन थियो । अहिले भने ढोलीमाराका मगर समुदायका महिला मात्र नाच्ने गर्छन् । त्यो पनि विशेष अवसर पारेर नाच्ने गरिन्छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणको अभियान थाल्नुपर्ने उनले सुझाइन् । हरेक वर्ष नयाँ वर्षका दिनमा शम्भु उच्च मावि र जल्पा युवा तथा खेलकुद मञ्चले यो नाचको जगेर्ना गर्नका लागि नयाँ पुस्तालाई सिकाउने गर्छ । पछिल्लो पुस्ताले जानेको लोक–संस्कृतिलाई हस्तान्तरण गर्ने अभियान नै सुरु गर्नुपर्ने वडाध्यक्ष सारुले बताए । ‘हरेक वर्ष शम्भु उमाविको वार्षिकोत्सव पारेर नयाँ पुस्ता, विद्यार्थी र अभिभावक सहभागी गराएर स्थानीय संस्कृति देखाउने चलन छ,’ उनले भने । यति मात्र नभई पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउनैपर्ने नियम उनीहरूले बनाएको वडाध्यक्ष सारुले बताए । तानसेनको सहारा कला केन्द्रका प्रमुख सुमन थापाले २०७० सालमा तनहुँ पुगेर घाटुको अध्ययन गरे । गीत नै निकालेका कारण रिमिक्स गरेर नचाउने पहिलो अभ्यास पाल्पा महोत्सवमा गरे । नृत्य प्रतियोगितामा पहिलो नै भयो । ‘घाटुको युवापुस्तामा हस्तान्तरण अभियान यसैबाट भयो भन्ने लाग्छ,’ उनले भने, ‘धेरैलाई घाटु कसरी नाचिन्छ भन्ने पनि थाहा थिएन । तर, हामीले पोसाक र त्यसको देवीदेवता भाक्ने, खेली, चुट्कालाई मिलाएर युवापुस्तामा सिकाइयो ।’

उनका अनुसार २५ जनाभन्दा बढी युवा पुस्ताले घाटु नाच्न सिकिसकेका छन् । १४ देखि २० वर्षका कम्तीमा नौ जनाले नाच्ने गर्छन् । १८ वर्षमुनिका किशोरीहरू मस्यामकी सरिता दर्लामी, तानसेन बसपार्ककी मनीष पुन, दमकडाकी सुप्रिया थापा, कसेनी सराईकी सरिना रानाको घाटु निकै राम्रो छ । ‘अरू पनि ननाच्ने होइन तर उनीहरूले निकै राम्रो नाच्छन्,’ उनले भने, ‘अझ धेरै युवापुस्तालाई सिकाउने योजना छ ।’

तानसेन मात्र होइन, माथागढीको कसेनीस्थित साइनस्टार डान्स एकाडेमीले पनि १८ वर्षमुनिका किशोरीलाई घाटु नाच्न सिकाएको छ । यही एकाडेमीबाट छुट्टिएर बनेको नेपाल्पाली कला सांस्कृतिक परिवारले पनि सिर्जना दर्लामी, जानकी गाहा, सलिना सुनारी, ऐश्वर्या आले, रोजी विक, रोजिना विकलाई सिकाएको छ । ‘हामी छुट्टिँदा सबै घाटु नाच्नेहरू हामीसँगै भए,’ सांस्कृतिक परिवारकी प्रमुख उर्मिला सारुले भनिन्, ‘जे होस् युवापुस्तामा यसप्रति चासो बढेको छ ।’

पाल्पाका जुनसुकै मेला, पर्व, महोत्सवमा घाटु नाच लोकप्रिय बनेको छ । गाउँमा मात्र होइन, सहरमा समेत यसको प्रख्याति बढ्दै गएको सारुले बताइन् । कसेनी सराईका कलाकार लोकन्द्र थापाले घाटुको प्रख्याति युवापुस्तामा पुस्तान्तरण भएको बताए । ‘पछिल्लो पुस्तामा पुराना नाचहरूको मौलिकता जोगाउने अभियान थालेको जस्तो देखिएको छ,’ उनले भने, ‘यसले गर्दा नयाँ पुस्ताले धेरै जानकारी पाउन सकेको छ ।’

प्रकाशित : फाल्गुन २१, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

भीरमौरीलाई चिनेका वीरलाल

१६ वर्षको उमेरदेखि भीर मह काढ्न सुरु गरेका यिनले ८५ वर्षको हुँदासम्म काढिरहे
आश गुरुङ

लमजुङ — छंगाछुर भीरको कापामा भीरमौरीले घेरेका चाका चोर्न एकसरो लुगा लगाएर चोयाको भर्‍याङबाट झर्थे । हातैले भीरमौरी सुम्सुम्याउँथे । भीरबाट खसिएला कि भन्ने रत्तिभर डर थिएन ।

भीरको कुनाबाट काँचो स्याउला बाल्दा निस्केको धूवाँले भुन्भुनाएका मौरी उनको टाउकोदेखि खुट्टासम्मै ढाकिन्थे । करिब सात दशक भीरमौरी सिकारमै दिन बिताएका ९६ वर्षीय वीरलाल गुरुङ आज पनि ती दिन सम्झन्छन् ।

क्व्होलासोंथार गाउँपालिका–४ भुजुङको कमागाउँको घरमा उनी अहिले थलिएका छन् । ‘कुनाघर बाजे’ भनेर चिनिने उनी बिरामी परेपछि दिनहुँ भेट्ने मानिस पुग्छन् । उनीसँग जीवनका रंगहरूको भलाकुसारी गर्छन् । ‘म त मर्नै पो आँटेको छु । तिमीहरू राम्रोसँग बस । राम्रो काम गरे,’ भेट्न आउनेलाई वीरलाल आशीर्वाद दिन्छन् । ढाकाटोपी लगाउने उनको सानैदेखिको बानी । बुढ्यौलीले लट्ठी टेक्छन् । चप्पल भने कहिल्यै लाउँदैनन् । ‘चप्पल नलगाएरै काँडामा टेकियो । भीरपाखा हिँडियो । तिब्बत र बटौली नुन बोकियो,’ उनले भने, ‘सबैभन्दा धेरै भीरमा चढ्ने काम पो गरें । भीरले चिनेकाले भीरमा कहिल्यै लडेन । कहिलेकाहीँ मौरीले टोके पनि टिपेर फाल्थे ।’

छोरीज्वाइँ नाता पर्ने मह सिकारी पूर्णबहादुर गुरुङका अनुसार वीरलाललाई सबैले साहसिक महसिकारी भनेर चिन्छन् । उनले गोठमा बस्दादेखि नै भीरमा चोयाद्वारा निर्मित भर्‍याङमा चढेर छंगाछुर भीरमा महको सिकार गरे । ‘भीरमह काढ्दा उहाँ (वीरलाल) ले कहिल्यै जालीटोपी र पञ्जा लगाउनुभएन । नांगो अनुहार देखाएरै मह काढ्नुभयो । हामी अहिले यसरी सक्दैनौं,’ पूर्णबहादुरले भने । उनका अनुसार पछिल्लो समय जथाभावी मह काढ्ने, जहिले पनि काढिदिने, आधुनिक औजारको प्रयोग गर्ने, होहल्ला गर्ने, छिनघनको प्रयोग गरेर बाटो बनाउने कामले भीरमौरी रिसाएका छन् ।

करिब १६ वर्षको उमेरदेखि भीर मह काढ्न सुरु गरेका वीरलालले ८५ वर्षको हुँदासम्म काढे । त्यसपछि हिँड्न नसकेको उनी बताउँछन् । ‘एउटै भीरमा एक्लै २०/२५ चाका मह काढ्ने मान्छे मै हुँ । कहिल्यै केही भएन । अहिले सबैले जाली टोपी लगाउँछन् । मौरीले टोक्यो भन्ने सुन्छु । मेरो पालामा त्यस्तो भएन । मौरीले मन पराएर होला । सिमेभूमेलाई (प्रकृति) को राम्रोसँग पूजा गरेर होला,’ उनले भने । उनले लमजुङका कुनाकाप्चामा मात्रै नभएर कास्की र गोरखाका कहालीलाग्दा भीरमासमेत मह काढेका छन् । उनको अभूतपूर्व मह काढ्ने तरिका देखेर गुरुङ फिल्मका निर्देशक गोरे गुरुङले ‘द ब्रेभ वीरलाल हनी हन्टर’ नामक वृत्तचित्र बनाए । डेढ दशकअघि उनले वीरलाललाई गुरुङ फिल्म हेर्बे च्ह (हिमालय पुत्र) मा अभिनेता बनाए । उनी गाउँका नाम चलेका पच्यु (गुरुङ पुरोहित) एवं झाँक्री पनि हुन् । तर, अहिले केही गर्न नसकेको ठूलोछोरा मेखमान गुरुङ बताउँछन् ।

चप्पल नलगाउँदा खुट्टामा निगालोको ठुटो गढेको याद उनलाई छ । गोठमा बस्दाको किशोर अवस्थामा उनको खुट्टामा निगालो गढ्यो । उनका अनुसार २ महिनाजति हिँड्न भएन । हँसियाले काँचो निगालोको ठुटो बनाएर घोच्दा पनि निस्किएन । तयतिबेला सियो थिएन । पछि भित्रभित्रै आफैं कुहिएर टुक्राटुक्रा गरी पिपसँगै निस्किएको उनी सम्झन्छन् । ‘भीरमा चढ्दा पनि खुट्टामा काँडा र ढुंगाको ठुटो नबिझेको होइन । तर, खासै घोचेजस्तो, दुखेजस्तो लाग्ने थिएन । जडीबुटी लगाऔंथ्यौं । पछि आफैं जान्थ्यो,’ उनले भने । उनको गाउँमा केही दिनअघि मात्रै मोटरबाटो पुगेको छ । विसं १९८५ फागुन १५ मा बुबा मनसुब्बा गुरुङ र आमा मंगलसरी गुरुङका काइँलो छोरा हुन् उनी । तनहुँको डुम्रेबाट लमजुङ सदरमुकाम बेंसीसहरको मोटरबाटोसमेत खनेका उनको गाउँमै मोटर हेर्ने सपना पूरा भएको छ । तर, बुढ्यौलीका कारण उनी सवारीसाधन चढ्न पनि नसक्ने अवस्थामा छन् । उनका २ छोरा, १ छोरी र नातिनातिना छन् । कान्छो छोरा अविवाहित छन् । उनी पनि भीरबाट लडेर बिरामी छन् । एक महिनाअघि मुर्छा परेर बिरामी परेका वीरलाल अचेल हेर्न आउनेसँग बोल्छन् । घरदेखि धन्सारसम्म लौरी टेकेर हिँड्छन् ।

प्रकाशित : फाल्गुन २१, २०७९ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×