१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतका ७ राज्यमा रात्रिकालीन कर्फ्यु

दिल्लीमा दुई दिनमै संक्रमित दोब्बर, १० राज्यमा स्वास्थ्य टोली खटाइयो
राजेश मिश्र

नयाँदिल्ली — भारतमा पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै गएपछि कतिपय राज्यले रात्रिकालीन कर्फ्युको घोषणा गरेका छन् । दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, हरियाणा, गुजरात, मध्यप्रदेश र कर्नाटकले रात्रिकालीन कर्फ्यु जारी गरेका छन् । त्यसका साथै ती राज्यहरूमा भीडभाड गर्न रोक लगाइएको छ । 

भारतका ७ राज्यमा रात्रिकालीन कर्फ्यु

दिल्लीमा पछिल्लो दुई दिनमा मात्रै कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ । आइतबार २ सय ९० जना संक्रमित भएपछि दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । यस्तै, सरकारले नयाँ निर्देशिका जारी गर्दै सिनेमा हल, बैंकेट तथा मनोरञ्जन पार्क बन्द गरिने जनाएको छ । त्यस्तै, मेट्रो तथा सार्वजनिक बसलाई सिट संख्याको आधा मात्र यात्रु बोक्न पाउने अनुमति दिइने भएको छ ।

दिल्लीमा दुई दिनअगाडि दिल्लीमा संक्रमितको संख्या १ सय ९ थियो । यसअघि १३ जुनमा २ सय ५५ केस भेटिएको थियो । दिल्लीमा सक्रिय संक्रमितको संख्या एक हजार पुगेको छ । आइतबार संक्रमण दर ०.५५ पुगेको छ ।

दिल्ली सरकारले जनवरीमा हुने बीआर अम्बेडकरको जीवनमाथि जवाहरलाल नेहरू रंगशालामा हुने कार्यक्रम स्थगन गरेको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिडकै कारण कार्यक्रम स्थगित गरिएको र अर्को तिथि पछि तय गरिने ट्वीटमार्फत जानकारी दिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरिएन्ट ओमिक्रोनबाट आइतबार साँझसम्म ४ सय २२ जना संक्रमित भइसकेका छन् । तर कतिपय सञ्चार माध्यमले थप केही राज्यमा ओमिक्रोन संक्रमित बढी भएको भन्दै उक्त संख्या ४ सय ५० कटिसकेको दाबी गरेका छन् ।

महाराष्ट्रमा सबैभन्दा बढी १ सय ८, दिल्लीमा ७९, गुजरातमा ४१, केरलमा ३८, तमिलनाडुमा ३४ जना ओमिक्रोन संक्रमित भेटिएका छन् । हालसम्म १७ राज्यमा ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । यतिबेला भारतमा ७६ हजार ७ सय ६६ जना सक्रिय संक्रमित छन् । केन्द्र सरकारले राज्य सरकारहरूलाई आवश्यक तयारी र सतर्कता अपनाउन दिनदिनै निर्देशन दिइरहेको छ । जनसंख्याको अनुपातमा कम मानिसले कोभिडविरुद्धको खोप लगाएका उत्तर प्रदेश, बिहार, झारखण्ड, महराष्ट्र, तमिलनाडु, पश्चिम बंगाल, केरल, मोजोरम, कर्नाटक र पन्जाबसहित १० राज्य केन्द्र सरकारले स्वाथ्य अधिकारीसहितको टोली खटाएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य कार्यकर्तासहित अग्रपंक्तिमा खटिने तथा ६० वर्ष उमेर नाघेकालाई कोभिडविरुद्धको बुस्टर खोप दिइने घोषणा गरेका छन् । उनीहरूलाई जनवरी १० बाट बुस्टर डोज दिइने जनाइएको छ । संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न क्षेत्रबाट बुस्टर डोजको माग बढ्दै गएको छ । त्यस्तै, १२ देखि १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री मोदीले कोभिडसँग नडराउन तर सतर्क रहन आह्वान गरेका छन् । उनले देशमा १ लाख ४० हजार आईसीयू तथा ९० हजार विशेष बेड उपलब्ध रहेको जनाएका छन् । त्यस्तै, ४ लाखभन्दा बढी अक्सिजन सिलिन्डर राज्य सरकारलाई पठाइएको तथा देशभर ३ हजारभन्दा बढी अक्सिजन प्लान्ट सञ्चालनमा रहेको जनाए ।

प्रकाशित : पुस १२, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?