अमेरिकाद्वारा थप ६ लाख ६४ हजार ५६० डोज खोप सहयोग

पुस ९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ६ लाख ६४ हजार ५६० फाइजर खोपको मात्रा अनुदान प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त खोप १२ वर्ष र सोभन्दा बढी उमेर समूहका निम्ति उपलब्ध गराइएको हो ।

अमेरिकाले नेपाललाई यसअघि नै अनुदानमा दिएका फाइजर खोपका १ एक लाख ६२० मात्रा र एकल–मात्राको जोन्सन एन्ड जोन्सन खोपका १५ लाख ३५ हजार खोप सहयोग गरेको थियो । 

‘यस सहायताले जीवनरक्षक चिकित्सा सामाग्री, तालिम र प्राविधिक सहयोगको रूपमा हालसम्म नेपाललाई उपलब्ध गराइएको १२ करोड २० लाख डलरभन्दा बढीको सहायता (खोपको लागत समावेश नगरी) मा वृद्धि गरेको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘महामारीको समयमा नेपाललाई अमेरिकाको जारी सहयोगको एक हिस्साको रूपमा अमेरिकाले नि:शुल्क र बिना पूर्वसर्त खोपहरू प्रदान गरिरहेको छ ।’

साथै, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र युनिसेफले यी खोपहरू तत्काल आवश्यक भएका क्षेत्रहरूमा सुरक्षित र न्यायोचित ढङ्गले वितरण गर्न र मानिसहरूलाई खोप लगाउन प्रोत्साहित गर्नमा नेपालसँग साझेदारी गरेको पनि दूतावासले जनाएको छ ।  

‘अति कम तापक्रमयुक्त फ्रिजर, वाक–इन फ्रिजर, वाक–इन कोल्ड रुम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा, र चस्माहरू तथा देशभर खोपको ढुवानी गर्दा तिनलाई प्रयोगयोग्य राख्नका निम्ति कोल्ड चेन कायम राख्न प्राविधिक सहयोग उपलब्ध गराउन यूएसएआईडीले नेपालसँग निकट रही काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यसले थप खोपहरू प्राप्त गर्नमा नेपालका विकल्पहरू र क्षमताको वृद्धि गर्नेछ ।’ अमेरिकाले कोभिड महामारीको समयमा नेपाललाई आफ्नोतर्फबाट सहयोग जारी राख्दै जीवनरक्षक फाइजर खोप सहयोग गर्न पाउदा खुसी लागेको बताएको छ ।

‘हामी खुसी छौं कि १२ देखि १७ वर्षका बालबालिकाका निम्ति मान्यताप्राप्त यी खोपहरू मूलत: बालबालिकाहरूलाई सुरक्षित र स्वस्थ राख्न प्रयोग गरिने छन्,’ यूएसएआईडीकी नियोग प्रमुख सेपिडे केभान्शाडको भनाई छ । 

कोरोना भाइरसकोरोना खोप

कान्तिपुर

Link copied successfully