हेटौंडा — प्रदेशका मकवानपुर, सिन्धुपाल्चोक र नुवाकोटमा १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप धमाधम लगाइँदै छ । खोप लगाउन बालबालिका र उनीहरूका अभिभावकसमेत उत्साहित देखिएका छन् ।
मकवानपुरमा बिहीबारसम्म २५ हजार ३ सय ५ बालबालिकाले खोप लगाएका छन् । ‘खोप लगाउन सबैको रुचि देखिएको छ,’ स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले भने, ‘केही बालबालिकालाई ज्वरो आउने र खोप दिएको ठाउँमा दुखेको भन्ने कुरा आएको थियो तर खासै त्यस्तो समस्या छैन ।’ यहाँ पुस १३ सम्म ५३ हजार बालबालिकालाई खोप दिने लक्ष्य कार्यालयले लिएको छ ।
सिन्धुपाल्चोकमा पनि बुधबारबाट खोप दिन थालिएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ८ सय २५ जनालाई शुक्रबारसम्म खोप लगाइनेछ । राम्चेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत बाह्रबिसे–९ की १६ वर्षीया करिश्मा तामाङले खोप लगाउन पाउँदा खुसी लागेको बताइन् । ‘अब संक्रमणको जाखिम पनि कम भयो,’ उनले सुनाइन् ।
नुवाकोटमा भने विद्यार्थी र विद्यालयबाहिर रहेका बालबालिकालाई पनि बुधबारबाटै खोप दिन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा २ नगरपालिका र १० गाउँपालिका छन् । सूर्यगढी गाउँपालिका–४ स्थित गणेश माविमा अध्ययनरत एक छात्रलाई बुधबार खोप दिएपछि स्वास्थ्यमा केही समस्या देखिएको थियो ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याएर उपचारपछि उनी डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।
