अमेरिकामा कोभिडको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या हालसम्मकै उच्च- विश्व - कान्तिपुर समाचार

अमेरिकामा कोभिडको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या हालसम्मकै उच्च

सबैभन्दा बढी खोप लगाउने दर कम भएका राज्यमा 
कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड-१९ को महामारीका कारण अमेरिकामा लाखौं परिवारले आफ्ना बालबालिकालाई लामो समयपछि विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमै रहेको बेला १८ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोनाको संक्रमण उच्च देखिएको छ ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार बालबालिकामा संक्रमण हालसम्मकै उच्च तहमा पुगेको हो । अंग्रेजी वर्षको अगस्ट महिनामा मात्रै ३० हजार बालबालिका अस्पताल भर्ना भएको पत्रिकाले जनाएको छ ।

खोप लगाउने दर निकै कम भएको राज्यका साथै देशभर नै बालबालिकाहरुमा संक्रमण निकै बढेको बताइएको छ । सबैभन्दा बढी बालबालिका भने लुजियाना र टेक्सास राज्यमा प्रभावित भएका छन् । बालबालिकामा कोभिड-१९ को गम्भीर जोखिम वयस्कमा भन्दा कम भएपनि बालबालिकाको बढ्दो अस्पताल भर्नाले चिन्ता बढाएको विज्ञहरुले बताएका छन् ।

'बालबालिकालाई अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था आउनु भनेको सामान्य विषय होइन । यसले हामीलाई सोच्न बाध्य बनाएको छ । हामीले बालबालिकामा संक्रमण फैलन नदिनका लागि गर्नुपर्ने धेरै उपायहरु छन्,' कोभिड-१९ का कारण अस्पताल भर्ना हुनेहरुको तथ्यांक विश्लेषक तथा युनिभर्सिटी अफ साउथ फ्लोरिडाकी जनस्वास्थ्यविद् जेसन एल सलेमीले भनिन् ।

जनस्वासथ्यविद् तथा स्वास्थ्य विज्ञले समेत कोभिडका कारण बालबालिका अस्पताल भर्ना हुने दर बढेमा बाल अस्पताल तथा आईसीयू व्यवस्थापनमा चुनौती थपिने चेतावनी दिएका छन् । उनीहरुका अनुसार पहिले नै नर्सहरुको अभाव झेलिरहेका अस्पतालहरुमा यसले थप दबाब बढाउने छ ।

'अमेरिकाका अस्पतालमा औसतमा १२ पिडियाट्रिक आईसीयू बेड मात्रै छन्,' क्यान्टकी चिल्ड्रेन्स मेडिकल सेन्टरका पिडियाट्रिक इन्टेन्सिभिस्ट डा. क्रिस्टोफर क्यारोलले भने, 'यस्तो अवस्थामा स्थितिले छिट्टै गम्भीर रुप लिन सक्छ । त्यसमाथि पनि बालबालिकाको उपचारका लागि आवश्यक जनशक्ति पनि कम छ ।'

अस्पतालमा बालबालिका भर्ना हुने दर बढेसँगै अस्पताल व्यवस्थापक एवं चिकित्सकहरुले वयस्कहरुलाई खोप लगाउन ढिला नगर्न, मास्कको प्रयोग गर्न तथा सामाजिक दुरी कायम राख्न आग्रह गर्न थालेका छन् ।

प्रकाशित : भाद्र २४, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति 

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति दिएको छ । मुस्ताङसँग एउटा एयरबसको हेलिकप्टर छ । 

योसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या ११ पुगेको छ । हेलिकप्टरले उद्धार,चार्टर उडान गर्छन् ।


प्रकाशित : भाद्र २४, २०७८ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×