१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कोरोनाबाट भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौँ — भारतको महाराष्ट्र राज्यमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । महाराष्ट्र सार्वजनिक आरोग्य विभागका अनुसार आइतबार राज्यमा थप २ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

कोरोनाबाट भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

योसँगै महाराष्ट्रमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १ सय ३० पुगेको छ । यो संख्यामध्ये ४० प्रतिशतको मृत्यु अप्रिल १५ पछि भएको बताइएको छ । १८ अप्रिलसम्म महाराष्ट्रमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ६० हजार रहेको थियो ।

त्यसपछि राज्यमा तीव्र रुपमा संक्रमण फैलिएको थियो । जसका कारण मृत्यु हुनेको संख्या पनि बढेको थियो । महाराष्ट्रमा कोरोनाको दोस्रो लहरले धेरै क्षति पुर्‍याएको छ । पछिल्लो समय भने विस्तारै संक्रमण घट्दै गएपछि लकडाउनु खुकुलो गरिएको छ । सोमबारदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले बताएको छ ।

महाराष्ट्रमा अहिले १ लाख ८५ हजार ५ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म ५८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित मुलुक भारतमा अहिलेसम्म कोरोनाबाट ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । एकैदिन ४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको भारतमा पछिल्ला केही दिनमा भने संक्रमणदर घटिरहेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?