ओखलढुंगा — मुलुक घुम्दै कोभिड–१९ का बिरामीलाई मनोसामाजिक परामर्श दिने उद्देश्यले एउटा समूह मेची–महाकाली यात्रामा छ । समूहमा चिकित्सक, कलाकार र सामाजिक अभियन्ता छन् ।
सामाजिक मनोपरामर्श अभियानअन्तर्गत आइतबार स्वास्थ्यकर्मीबीच मनोबल उच्च बनाउने विषयमा धारणा राख्दै कलाकार निखिल उप्रेती ।
काठमाडौंमा कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका अभियन्ताले मनोसामाजिक परामर्श अभियान पनि थालेका हुन् । अभियान प्रदेश १ को ओखलढुंगा जिल्लाबाट आइतबार सुरु भएको छ । अभियानमा डा. सुवास घिमिरे, अभिनेता निखिल उप्रेती, सामाजिक अभियन्ताहरू कर्णबहादुर शाही र शोभा गुरुङलगायत छन् ।
‘यो अभियान कसैलाई कोभिडको कारण समस्या भएको छ भने हामी त्यहाँ सहयोग गर्छौँ भनेर सुरु गरेका हौं,’ डा. घिमिरेले भने, ‘त्यसैलाई परिष्कृत गर्दै मनोसामाजिक परामर्श दिने उद्देश्यले मेची–महाकाली अभियानमा निस्केका हौं ।’ अभियानमा जिल्लाका स्वास्थ्यकर्मी, सामाजिक अगुवा, संक्रमित सबै क्षेत्रका समूहलाई स्वास्थ्य मापदण्ड पालना गरी मनोबल उच्च बनाउने किसिमको परामर्श दिने लक्ष्य रहेको उनले बताए ।
‘कोभिडको कारण देखाएर सामाजिक दूरी यति कायम हुन थालिसक्यो कि अब यसले भावनाको दूरी पनि टाढा नबनाउनु भन्ने हो,’ अभियानका अभियन्ता निखिल उप्रेतीले भने, ‘यति पनि परपर नहुनुस् कि सधैं पर हुनु नपरोस् । आत्मबल त पर भएर हैन नजिक भएर बढ्ने हो । त्यसका लागि मनोबल उच्च बनाउन सके इम्युनिटी बढ्छ ।’
यस अभियानमा संस्थागत रूपमा ओम समाज डेन्टल अस्पताल, निःशुल्क एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य सेवा समूह र बिगुटार राँगादीप जन्तरखानी समाज संयुक्त रूपमा जुटेका छन् । ओखलढुंगाबाट सुरु भएको अभियान सबै प्रदेशको सबै जिल्ला पुग्ने लक्ष्यका साथ अघि बढेको विराज समाजका सल्लाहकार दिनेश मगरले बताए ।
मनोसामाजिक परामर्श अभियानसँगै आइतबार सदरमुकामस्थित सगरमाथा जनता माविका पूर्वविद्यार्थीले सिद्धिचरण नगरपालिकाका स्वास्थ्य केन्द्रहरूलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । उक्त माविबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीको समूहले प्रत्येक वडाका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
प्रत्येक स्वास्थ्य चौकीलाई पीपीई सेट दुई थान, थर्मल गन दुई थान, पल्स अक्सिमिटर दुई थान, फेस सिल्ड पाँच थान, इथानल स्प्रे दुई थान, हस्पल एच दुई थान र स्प्रे सेनिटाइजर चार लिटरका दरले वितरण गरेका हुन् ।
