लमजुङ — कोरोना भाइरस संक्रमण परीक्षण गर्न जिल्ला अस्पतालमा पीसीआर मेसिन जडान गरिने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पतालमा पीसीआर मेसिन जडान गर्न १ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पीसीआर ल्याब भवन निर्माण गर्न ३५ लाख र जनशक्ति व्यवस्थापनका लागि २० लाख बजेट छुट्याइएको छ । प्रदेश सरकारले बजेट विनियोजन गरेकोले सूचना प्रकाशित गरेर जडान प्रक्रिया अघि बढाइने स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । ‘बजेट छुट्याएको जानकारीमा आएको छ । अब सूचना निकालेर मेसिन जडान कार्यमा लाग्छौं,’ उनले भने ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ र मनाङवासीलाई मध्यनजर राखेर जिल्ला अस्पतालमा पीसीआर मेसिन जडान, ल्याब भवन र जनशक्तिका लागि बजेट विनियोजन गरेको बताए । ‘पीसीआर मेसिन, भवन र जनशक्तिका लागि बजेट विनियोजन गरेका छौं । छिटो काम गर्नुहोला,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या सचिव विनोदबहादुर कुँवरले एक साताको म्याद राखेर मेसिन खरिदको सूचना निकाल्न र तत्काल मेसिन खरिद गरी जडान गर्न स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुखलगायतलाई निर्देशन दिए ।
अस्पताल प्रशासक हेमन्त श्रेष्ठका अनुसार पीसीआर मेसिन जिल्लामै भएपछि धेरै सहज हुनेछ । अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले पीसीआर मेसिन, ल्याब भवन निर्माण कार्य तत्कालै थालिने बताए ।
