सिनोभ्याकको कोरोना खोपलाई डब्लूएचओले दियो आपत्कालीन प्रयोग अनुमति

जेष्ठ १९, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको कोरोना खोपलाई आपत्कालीन अनुमति लिएको छ । सिनोभ्याकले उत्पादन गरेको ‘कोरोनाभ्याक’ लाई डब्लूएचओले अनुमति दिएको हो ।

कोरोनाभ्याकले आपत्कालीन अनुमति पाएसँगै यसलाई डब्लूएचओको विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ मा यसको प्रयोग गरिनेछ । यो खोप डब्लूएचओबाट अनुमति पाउने दोस्रो चिनियाँ कोरोना खोप हो । यसअघि मे महिनाको सुरुवातमा सिनोफार्मले उत्पादन गरेको कोरोना खोपलाई डब्लूएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

मंगलबार जेनेभामा आयोजित प्रेस ब्रिफिङका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एढहानोम गेहब्रेयससले सिनोभ्याकले उत्पादन गरेको कोरोना खोप ‘सुरिक्षत, प्रभावकारी र गुणस्तरीय रहेको पाइएको’ बताए ।

डब्लूएचओको स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन(सेज) ले पनि सिनोभ्याकको खोपबारे अध्ययन गरेको थियो । अध्ययनका क्रममा भेटिएका प्रमाणका आधारमा डब्लूएचओले उक्त खोप १८ वर्ष र त्यसभन्दा माथिका उमेर समूहलाई लगाउन सिफारिस गरेको छ ।

दुईदेखि चार हप्ताको बीचमा उक्त खोपको दुई मात्रा लगाउनुपर्ने छ । कोरोनाभ्याक खोप लगाएका ५१ प्रतिशतमा संक्रमण हुन नदिने र शतप्रतिशतलाई अस्पताल भर्ना हुने अवस्थाबाट रोकेको बताइएको छ । 

डब्लूएचओले यसअघि फाइजर–बायोएनटेक, एस्ट्राजेनेका, मोडर्ना, जान्सेन(जोन्सन एन्ड जोन्सन) र सिरम इन्स्टिच्युटको कोभिसिल्डलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । 

कोरोना खोपकोरोना भाइरस

इकान्तिपुर

Link copied successfully