पेरिस — भारतीय स्वरूपको कोरोना भाइरस स्विजरल्यान्डमा पनि फेला परेको छ । स्विस संघीय जनस्वास्थ्य कार्यालयले आफ्नो ट्विटरमा घोषणा गर्दै भारतीय स्वरूपको कोरोना भाइरस पहिलो पटक स्विजरल्यान्डमा फेला परेको पुष्टि गरेको हो ।
स्विस जनस्वास्थ कार्यालयका अनुसार भारतीय स्वरूपको कोरोना भाइरसबाट संक्रमित हुने व्यक्ति विमानस्थलको ट्रान्जिटमा भेटिएका हुन् । तर जनस्वास्थ्य कार्यालयले विमानस्थल र संक्रमित व्यक्तिबारे केही खुलाएको छैन ।
नयाँ स्वरूपका कोरोना भाइरस रहेको र आफ्नो देशलाई जोखिममा पार्न सक्ने देशहरूको सूचीमा भारतलाई पनि समावेश गर्नुपर्ने भन्दै स्विजरल्यान्डको जनस्वास्थ्य कार्यालयमा छलफल भइरहेको किस्टोन न्युजले जनाएको छ । हाल स्विस नागरिक वा भारतबाट आवासीय अनुमतिप्राप्त व्यक्तिलाई भारतबाट स्विजरल्यान्ड प्रवेश गर्न अनुमति छ ।
स्विस स्वास्थ्य अधिकारीहरुले भारतमा उत्परिवर्तन भएको कोरोना भाइरसको नमुना मार्चको अन्त्यबाट देखिएको र यो युरोपमा व्यापक मात्रामा भित्रिन सक्ने औंल्याएका छन् । भारतीय स्वरूपको कोरोना भाइरस यसअघि बेलायत र बेल्जियममा फेला परिसकेको छ । बेल्जियममा मध्य अप्रिलमा पेरिसको चार्ल्स द गोल एयरपोर्टमा ओर्लिएर बेल्जियम पुगेका २१ भारतीय विद्यार्थीहरूको परीक्षण गर्दा भारतीय स्वरूपको कोरोना भाइरस भेटिएको थियो । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । ती विद्याहरू पेरिस क्षेत्रबाट बेल्जियम जाँदा बस यात्राका क्रममा उनीहरूले व्यापक रुपमा संक्रमण फैलाएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ । सुरुमा बेलायती स्वरूपको कोरोना भाइरस भारतमा फैलिएको थियो । तर त्यसपछि त्यसले भारतमा फेरि स्वरूप परिवर्तन गरिसकेको छ । रतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ५२ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ८ सय १२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९५ हजार १ सय २३ पुगेको छ ।
