काठमाडौं उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी

सार्वजनिक र निजी दुवै यातायात बन्द गरिने, निषेधाज्ञाको खाकासहित केही बेरमा औपचारिक निर्णय आउने

वैशाख १३, २०७८

मातृका दाहाल

काठमाडौँ — काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए ।

यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक गरिने पनि उनले बताए । 

उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि सहायक प्रजिअ बस्नेतले जनाए । दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो । 

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully