कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फाइजरको कोरोना खोपलाई अस्ट्रेलियामा अनुमति

नारायण खड्का

अस्ट्रेलिया — फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको कोरोना खोपलाई अस्ट्रेलियाले प्रयोगका लागि अनुमति दिएको छ । अस्ट्रेलियाको औषधिसम्बन्धी नियमनकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले सोमबार उक्त खोपको प्रयोगका लागि अनुमति दिएको हो । 

फाइजरको कोरोना खोपलाई अस्ट्रेलियामा अनुमति

प्रधानमन्त्री स्कट मरिसनले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएकै दिन खोप प्रयोगको अनुमति आएको बताए । उनले खोप प्रयोगको अनुमतिसँगै कोरोना भाइरसविरुद्ध लड्नका लागि अझ एक कदम अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री मरिसनले सबै अस्ट्रेलियालीले विश्वस्तरको नियमनकारी निकायबाट अनुमति प्राप्त भएकाले गुणस्तरमा विश्वस्त हुन आग्रहसमेत गरेका छन् । उनले सरकारले सोचजस्तै अर्काे महिनाको मध्य तथा अन्तिमसम्म अस्ट्रेलियामा खोप दिन सुरु गरिने जनाएका छन् । उनले विश्वमा देखिएको खोपको आपूर्ति अहिलेको लागि चुनौती हुनसक्ने समेत बताएका छन् ।

फाइजरपछि अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा निर्मित खोपले अनुमति पाउने सञ्चारमाध्यमले उल्लेख गरेमन छन् । सरकारले पहिलो चरणमा ल्याएको खोप वृद्धवृद्धाका साथै अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलगायतलाई वितरण गरिने सरकारले घोषणा गरेको छ ।

साताको ८० हजारका दरले उनीहरुलाई पहिलो चरणको खोप दिइने योजना सार्वजनिक भएको छ, जसलाई बढाएर मार्चसम्ममा ४० लाख पुर्‍याइने योजना छ ।

यसैगरी मार्चको अन्त्यसम्ममा हरेक साता अक्सफोर्ड–एस्ट्राजेनेकाको १० लाख डोज कोरोना खोप उपलब्ध हुने स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिएका छन् । युरोपमा खोप अभावको खबर सार्वजनिक भइरहे पनि अस्ट्रेलियाले भने आफूले समयमै खोप पाउने विश्वास व्यक्त गरेको छ । अस्ट्रेलियाले १४ करोड डोज कोरोना खोपका लागि विभिन्न कम्पनीसँग सहमति गरिसकेको बताइएको छ ।

विभिन्न १ हजार खोप केन्द्रबाट वितरण गरिने खोपका लागि सरकारले केही साता पहिले नै विभिन्न ५ तहको कार्यक्रम नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : माघ १२, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?