भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

करिब ९५ प्रतिशत संक्रमणमुक्त भए, करिब ३० करोडलाई खोप लगाइने

पुस ४, २०७७

इकान्तिपुर डेस्क

काठमाडौँ — भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २५ हजार १ सय ५२ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड नाघेको हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार  भारतमा शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४७ जनाको मृत्यु भएको छ ।  भारतमा अहिलेसम्म ९५ लाख ५० हजार ७ सय १२ जना निको भएका छन् भने करिब ३ लाख संक्रिय केस रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ९५.४६ प्रतिशत संक्रमित निको भएका छन् । 

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार शनिबार ११ लाख ७१ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ । भारतमा शनिबार साँझसम्म १६ करोड ९० हजार ५ सय १४ नमुना परीक्षण भएको छ ।

भारतमा कोरोना खोप प्रयोगका लागि सिरम इन्स्टिच्युटले सरकारसँग माग्यो अनुमति

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा शनिबार बिहानसम्म १ करोड ७४ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म ३ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वभर ७ करोड ५६ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने १६ लाख ७४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब ४ करोड २६ लाख निको भइसकेका छन् ।

भारतमा करिब ३० करोडलाई खोप लगाइने

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै दोस्रो प्रभावित मुलुक हो ।  भारतले छिट्टै नै कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिने तयारी गरेको छ । भारत सरकारले करिब ३० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएको छ । स्वास्थ्यकर्मी, प्रहरी, सैनिक, स्वयंसेवक र जोखिम उमेरसमूहमा रहेका नागरिकलाई खोप कार्यक्रममा प्राथमिकता दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । 

भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोना खोप 'कोभिसिल्ड' बनाएको छ । डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको एसआईआईले कोरोना खोपको आपत्कालीन प्रयोगका लागि नियामक निकायसँग अनुमति मागिसकेको छ । भारतीय औषधि महानियन्त्रक(डीसीजीआई) सँग यसअघि अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ ।

त्यस्तै भारत बायोटेक र आईसीएमरले पनि स‌ंयुक्त रुपमा कोभ्याक्सिन नाम दिइएको कोरोना खोप विकास गरेका छन् । कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।

कोरोना भाइरस

इकान्तिपुर

Link copied successfully