१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकामा पहिलो चरणमा ६४ लाखलाई खोप दिइने

एजेन्सी

वासिङ्टन — अमेरिकी सरकारले कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । फाइजर कम्पनीले निर्माण गरेको खोप अमेरिकी नियामक निकायबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवतः डिसेम्बरमा पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने जनाइको छ । 

अमेरिकामा पहिलो चरणमा ६४ लाखलाई खोप दिइने

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को एक समितिको डिसेम्बर १० बस्ने बैठकले यसबारे निर्णय गर्ने जनाइएको छ । अमेरिकामा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या र नयाँ संक्रमित बढेका कारण पनि खोपलाई आपत्कालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरूले बताएका छन् ।

मंगलबार सार्वजनिक पछिल्लो तथ्यांकमा अमेरिकामा मृत्यु भएकाहरूको संख्या २ लाख ६० हजार नाघिसकेको छ । कम्तीमा १ करोड २५ लाख मानिस संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा २ हजारभन्दा बढी मानिसको भाइरसको संक्रमणका कारण मृत्यु भएको जनाइएको छ । उक्त अवधिमा १ लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

अमेरिकी सरकारको ‘अपरेसन वार्प स्पिड’ का प्रमुख अप्रेसन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झन्डै खोपको ४ करोड डोज उपलब्ध भइसक्ने बताए । उक्त तथ्यांकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाबारे छलफल भइरहेको पर्नाले बताए ।

फाइजरको खोप निकै चिसो अर्थात् माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्ने जनाइएको छ । जसका कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको जनाएको छ ।

पर्नाले सबै अमेरिकी राज्यहरूलाई जनसंख्याका आधारमा समानुपातिक रूपमा खोप वितरण गरिने पनि जनाए । ‘संघीय सरकारले कसलाई प्राथमिकता दिनुपर्ने भन्नेबारे सिफारिस गर्नेछन्, जसमा सम्भवतः वृद्ध, उच्च जोखिम र अग्रणी कामदारहरू रहनेछन्,’ उनले भने ।

प्रकाशित : मंसिर ११, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?