बेलायतमा कोरोनाबाट दैनिक झन्डै एक लाख मानिस संक्रमित भएका छन् : अध्ययन

नवीन पोखरेल

लन्डन — बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट दैनिक झन्डै एक लाख मानिस संक्रमित भइरहेको एउटा  अध्ययनले देखाएको छ ।

बेलायतमा कोरोनाबाट दैनिक झन्डै एक लाख मानिस संक्रमित भएका छन् : अध्ययन

इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले बेलायतमा महामारीको गति तीव्र रुपमा बढिरहेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । हाल दैनिक झन्डै एक लाख जनामा कोरोना संक्रमण फैलिरहेको कलेजको अनुसन्धानले देखाएको छ ।‘अहिलेको अवस्था निकै जटिल छ र यो स्थितिमा चांडै परिवर्तन गरिनु पर्छ,’ अध्ययनले सुझाएको छ ।

विशेषज्ञहरुले यदि अहिलेकै संक्रमण दर जारी रहने हो भने बेलायतमा नोभेम्बर अन्त्यसम्ममा प्रत्येक दिन १० लाख भन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने चेतावनी दिएका छन् ।

कोरोनाको दोस्रो लहरमा अस्पताल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय रुपमा वृद्धि हुनसक्ने कलेजले बताएको छ ।

यद्यपि ब्रिटेनका समुदायसम्बन्धी मन्त्री रोबर्ट जेनरिकले पूरै इंग्ल्यान्डभरि नै लकडाउन गर्ने सरकारको सोच नरहेको बीबीसीलाई बताएका छन् । लकडाउनले जनताको जीवन, जीविकोपार्जन, स्वास्थ्यलगायत क्षेत्रमा ठूलो असर पर्न सक्ने उनले बताए ।

फ्रान्स र जर्मनीले भाइरस नियन्त्रण गर्न दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेकै बेला ब्रिटेनमा नयाँ अध्ययन सार्वजनिक भएको हो ।

युरोपमा कोरोना संक्रमणको प्रमुख केन्द्र बनेको बेलायतमा बुधबार एकैदिन २४ हजार ७ सय बढी संक्रमित भेटिएका थिए भने ३१० जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्या ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।

बेलायतमा बिहीबारसम्म ९ लाख ६५ हजार ३ सय ४० जना संक्रमित भएका छन् भने ४५ हजार ९ सय ५५ जनाको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जनाएको छ ।

इंग्ल्याण्डको लिभरपुल, म्यानचेस्टर, वेस्ट योर्कसायर क्षेत्रमा संक्रमण उच्च वृद्धि भएपछि सरकारले टियर थ्रीअन्तर्गत थप प्रतिबन्धहरु लागू गरेको छ । इंग्ल्याण्डको कुल जनसंख्यामध्ये ५८ प्रतिशत जनता सरकारी लकडाउनको मारमा रहेका बताइएको छ ।

बेलायतस्थित जनस्वास्थ्यविद् डा. विभु पौड्याल कोरोनाको दोश्रो लहर झन् खतरनाक हुने देखिएको बताउँछन् । बेलायत दोश्रो राष्ट्रिय लकडाउनमा जाने सम्भावना रहेको औंल्याउँदै पौड्यालले सतर्कता अपनाउनु नै भाइरसबाट बच्ने उत्तम उपाय भएको बताए ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आइरहंदा बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य संवाद’ सञ्चालन गर्ने भएको छ । शाखाले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन युके र गैरआवासीय नेपाली संघ युकेको स्वास्थ्य समितिसंग मिलेर सो संवाद सुरु गर्ने निर्णय गरेको हो ।

अघिल्लोपटक कोरोनाबाट बेलायतमा विशेषगरी भूपू गोर्खा र तिनका परिवार बढी प्रभावित भएका थिए । यहां करिब ६ दर्जन नेपालीको ज्यान गइसकेको छ ।

सन्त्रासबीच खोपको आशा

ब्रिटेनमा कोरोना संक्रमण उल्लेख्य वृद्धि भइरहँदा यसविरुद्धको खोप पनि छिट्टै तयार हुन लागेको समाचार प्रकाशमा आएका छन् । खोप विकास अन्तिम चरणमा पुगेको बताउँदै केही उत्पादक कम्पनीहरुले यो आउँदो क्रिसमसअघि वितरणका लागि तयार भइसक्ने दाबी गरेका छन् ।

बेलायत सरकारले खोप विकास नहुंदै करिब ३४ करोड डोज किन्न सम्झौता गरिसकेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका खोप छिट्टै आउने विश्वास गरिएको छ । फर्मास्युटिकल जाइन्ट बायोएनटेक र फिजर, भल्नेभा, जोनसन र नोभाभ्याक्स, जीएसके र सानोफी पास्चर्स जस्ता कम्पनी पनि खोप विकासको अन्तिम परीक्षणमा रहेका बताइएको छ ।

प्रकाशित : कार्तिक १४, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?