पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार

पोल्यान्डका राष्ट्रपतिलाई कोरोना संक्रमण

रोयटर्स

वार्सा — पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् ।

'राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,' मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् ।

पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो । शुक्रबार मात्रै पोल्यान्डमा १३ हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पोल्यान्डमा शुक्रबार मात्रै १५३ जनाको कोरोनाबाट मृत्यु भएको छ । पोल्यान्डमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

अभिभावकविहीन शरणार्थी बालबालिकालाई सहयोग

अर्जुन राजवंशी

दमक — झापाको दमक नगरपालिका-३ स्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा रहेका अभिभावक र घरबारविहीन ३२ जना बालबालिकालाई नगदसहित नयाँ लुगा वितरण गरिएको छ ।

महामारीकैबीच दसैं मनाउनुपर्ने भएकोले बेलडाँगी शिविरमा रहेको फ्रेन्स क्लबको पहलमा शनिबार नगदसहित नयाँ लुगा वितरण गरिएको हो ।

शरणार्थी शिविर बेलडाँगीका २१, पथरीका ११ र शिविर आसपासका ६ जना गरी ३८ जना अभिभावकविहीन बालबालिकालाई दसैंको लुगा र नगद वितरण गरिएको क्लबका अध्यक्ष युवराज साम्पाङ राईले जानकारी दिए । बालबालिकालाई नयाँ लुगा, जुत्ता र जनही नगद १० हजार रुपैयाँका दरले सहयोग वितरण गरेको राईले बताए ।

उक्त सहयोग अमेरिका, अष्ट्रेलियालगायत पश्चिमा मुलुकमा पुनर्वास भएका भुटानी शरणार्थीबाट संकलन गरेको राईले बताए । ‘अभिभावकविहीन बालबालिकाको अवस्था निकै दयनीय छ । सबैको घरमा दसैंको रमझम सुरु भइसक्दा उनीहरुलाई भने दुई छाक खानाको समस्या छ । त्यसैले पुनर्वास भएका शरणार्थीसँग सहयोग मागेर नयाँ लुगा, जुत्ता र नगद वितरण गरेका हौं,’ अध्यक्ष राईले भने ।

अभिभावकविहीन बालबालिकाहरलाई शिविरभित्रकै शरणार्थीहरुले संरक्षण दिँदै आएका छन् । भुटानी शरणार्थीलाई दातृ निकायहरुले सबैखाले सहयोग कटौती गरिसकेको छ । लामो बन्दाबन्दी र कोरोना कहरका कारण शरणार्थी शिविरमा पनि खाद्यन्न संकट देखिन थालेको बेलडाँगी शिविरका सचिव कृष्णप्रसाद लिङ्देनले बताए ।

प्रकाशित : कार्तिक ८, २०७७ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×