कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सहभागी बिरामी भएपछि जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोना खोप परीक्षण 

एजेन्सी

वासिङ्टन — औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित गरेको छ । एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

सहभागी बिरामी भएपछि जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोना खोप परीक्षण 

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि रहेको छ ।’ कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो ।

सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो । अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो ।

जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको बताएको छ । साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ । बिरामीको गोपनीयतालाई ख्याल गर्दै कम्पनीले ती व्यक्ति कस्तो प्रकृतिको बिरामी परेको हो भन्नेबारेमा केही कुरा खुलाएको छैन । ‘

हामीले परीक्षणमा सहभागी व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘हामीले उनी बिरामीको हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं । अतिरिक्त जानकारी दिनुपूर्व सबै तथ्य हुनु महत्वपूर्ण छ ।’

जोन्सन एन्ड जोन्सनले कोरोना खोपको परीक्षण कहिलेसम्मका लागि रोकेको हो भन्ने कुरा भने खुलाएको छैन ।

यसअघि सेप्टेम्बरमा ब्रिटिस औषधिनिर्माता एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोपको परीक्षण पनि सहभागी बिरामी भएपछि रोकिएको थियो । सो परीक्षण बेलायतमा पुन: सुरु भए पनि अमेरिकामा भने सुरु हुन सकेको छैन । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले उक्त परीक्षणमा सहभागी व्यक्ति बिरामी हुनुको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

कोरोनाविरुद्ध विभिन्न देशका कम्पनीले खोपको चिकित्सकीय परीक्षण गरिरहेका छन् । अमेरिकी कम्पनी फिजर र मोडर्नाले पनि यस वर्ष अन्त्यसम्ममा परिणाम आउनेगरी कोरोना खोपको परीक्षण गरिरहेको बताएका छन् ।

प्रकाशित : आश्विन २७, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?