अब उपत्यकाका सबै सरकारी अस्पतालमा कोभिड उपचार

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा परिणत गर्ने निर्णय गरेको छ । राजधानीमा संक्रमणदर उकालो लागेर लक्षणसहितका संक्रमित बढ्न थालेपछि सरकारले थप कोभिड अस्पतालको व्यवस्था गर्न लागेको हो ।

अब उपत्यकाका सबै सरकारी अस्पतालमा कोभिड उपचार

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले अस्पताल र स्वास्थ्यसेवामा देखिएको संकट व्यवस्थापनका लागि उक्त निर्णय गरेको जनाएको छ । मन्त्रालयले उपत्यकाका अस्पताललाई हाल आकस्मिकबाहेकका नियमित शल्यक्रिया नगर्न निर्देशनसमेत दिएको छ । ‘कोभिड संक्रमणको अवस्था नियन्त्रित हुँदै गएपछि मात्र आकस्मिकबाहेकको नियमित शल्यक्रिया गर्न भनिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘हाललाई स्वास्थ्यसेवा विभागसँग रहेका आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारमा आवश्यक सामग्री उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गरिनेछ ।’

यसअघि सरकारले तोकेका डेडिकेटेड अस्पतालमा मात्रै कोरोना संक्रमितका लागि आइसोलेसन र भेन्टिलेटरसहितको व्यवस्था थियो । अब भने सबै सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि काम गर्नुपर्ने छ । नियमित उपचार सेवा पनि जारी राखेर अस्पतालहरूले कोभिड उपचारका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने छ ।

मन्त्रालयले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र दहचोकस्थित मनमोहन अस्पताललाई लक्षण भएका कोरोनाका बिरामी राख्ने गरी स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । हाल दुवै अस्पताल आइसोलेसन केन्द्र छन् । आईसीएसको निर्णयअनुसार कुनै ठाउँमा यात्रा गर्ने योजनामा भए आफू र सँगै जाने परिवारका सदस्यले जानुअघि ७ दिनसम्म क्वारेन्टाइन (एकान्तवास) मा बस्नुपर्नेछ ।

क्वारेन्टाइनमा रहँदा कोभिड–१९ सँग मिल्ने कुनै लक्षण वा चिह्न नभए मात्र यात्रा गर्ने अन्यथा यात्रा स्थगित गरेर स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्नेछ । गन्तव्यमा पुगेपछि पनि अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने डा. अधिकारीले बताए ।

उनले मन्त्रिपरिषद्ले स्वीकृत गरेको कोभिड–१९ को उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७ कात्तिक १ बाट कार्यान्वयन गर्ने निर्णयसमेत आईसीएसले गरेको हो ।

प्रकाशित : आश्विन २७, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?