कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्रिपरिषद्को निर्णय : भारतसँगको सीमाबाट आवतजावतमा कडाइ कायमै 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो । 

मन्त्रिपरिषद्को निर्णय : भारतसँगको सीमाबाट आवतजावतमा कडाइ कायमै 

भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 'भारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइ गर्ने निर्णय भएको हो । नेपाल र भारतको सीमा भएर हुने आवतजावतमा यसअघि केही खुकुलो पारिएको थियो अब थप कडाइ हुनेछ,' ती मन्त्रीले भने ।

कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई कायमै राख्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्का निर्णय औपचारिक रूपमा सरकारका प्रवक्ता मन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछन् ।

प्रकाशित : आश्विन २६, २०७७ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?