कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बेड नपाएर छटपटिँदै संक्रमित

सन्जु पौडेल

तिलोत्तमा — रूपन्देहीका कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नहुँदा बुटवल–११ का कोरोना संक्रमित ८४ वर्षीय पुरुषको दाङको बेलझुन्डी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । त्यसै दिन स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भयो । गम्भीर अवस्था भएकाले अस्पतालले आईसीयूमा राख्नुपर्ने बताएपछि उनलाई दाङ रिफर गरिएको थियो  ।

बेड नपाएर छटपटिँदै संक्रमित

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत रूपन्देहीको तिलोत्तमा–३ की ६६ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भयो । उनलाई पनि लुम्बिनी प्रादेशिक अस्पतालले रिफर गरेपछि शुक्रबार राति बेलझुन्डी पुर्‍याइएको थियो । देवदह नगरपालिका–५ का ८७ वर्षीय एक पुरुषलाई बुधबार खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखियो । परिवारले भोलिपल्ट लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर जाँच गराउँदा कोरोना पोजिटिभ नतिजा आयो । उनको अस्पतालको फिभर क्लिनिकमै अक्सिजन दिएर उपचार सुरु गरिएको छ ।

तर अस्पतालको फिभर क्लिनिक र बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा बेड खाली नभएको भन्दै अन्यत्र लैजान दबाब दिएको संक्रमितका छोराले बताए । अस्पताल नजिकका अन्य दुई कोभिड अस्पतालमा समेत बेड अभाव रहेको जनाएर छिटो सार्न भनेपछि परिवारका सदस्य आत्तिएका छन् । यस्तो अवस्थामा बुबालाई कुनै पनि अस्पतालले भर्ना लिन नमान्ने र टाढा लैजाने अवस्था नरहेको संक्रमितका छोराले गुनासो गरे । ‘हिँड्न सक्नु हुन्न,’ उनले भने, ‘अक्सिजन निकाले स्वास्थ्यमा समस्या हुन्छ । अब कसरी कहाँ लैजाऊँ ?’

एक साताअघि तिलोत्तमा–६ का ४४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएर पीसीआर परीक्षण गरियो । नतिजा कोरोना पोजिटिभ आयो । बेड नभएपछि उनलाई अन्त लैजान सल्लाह दिए । परिवारका सदस्यले घर लगेर अक्सिजन दिएर होम आइसोलेसनमा राखे । बुधबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरिएको छ ।

यी त केही उदाहरण हुन्, पछिल्लो समय अस्पतालहरूमा आईसीयू बेड अभाव लगायतका कारण बिरामीहरूले सास्ती खेप्नुपरिरहेको छ । लुम्बिनी प्रदेश सरकारले संक्रमितको उपचारका लागि प्रदेशभरिका कोरोना विशेष भनेर चार अस्पताल छुट्याएर परीक्षण र बिरामी व्यवस्थापनको जिम्मेवारी दिएको छ । प्रदेशमा रहेका मेडिकल कलेजमा समेत संक्रमित बिरामीको उपचार गर्न सरकारले निर्देशन गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, कोरोना अस्पताल बेलझुन्डी दाङ र भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमितको उपचार जारी छ । लुम्बिनी मेडिकल कलेज पाल्पा र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रूपन्देहीमा पनि संक्रमितको उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट दैनिक ४ देखि ५ बिरामीलाई रिफर गर्नु परिरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘हामी पनि बाध्य छौं,’ उनले भने, ‘आईसीयू मात्र नभई भेन्टिलेटर चाहिने बिरामीलाई नै अन्त पठाउन परेको छ ।’ यो अवस्थाका बिरामीको स्वास्थ्य नाजुक हुने र यात्रामै प्राण जान सक्ने खतरा हुने भन्दै उनले अक्सिजनजडित र सबै सुविधा भएका एम्बुलेन्स पनि नरहेकाले थप समस्या पर्ने जनाए ।

प्रकाशित : आश्विन २७, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?