छिट्टै नै चुनावी प्रचारमा सहभागी हुने, न्युज च्यानलले गलत सर्वेक्षण देखाएको आरोप
वासिङ्टन — तीन रातको हस्पिटल बसाइपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटल भर्ना भएका ट्रम्प सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन् । ट्रम्प चाँडै नै चुनावी प्रचारमा सहभागी हुने अपेक्षा गरिएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पका चिकित्सक डाक्टर सिन कोन्लेले ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार आएको बताएका थिए । चिकित्सकहरुले ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर फर्किनका लागि भने सुरक्षित रहेको बताएका थिए । राष्ट्रपति ट्रम्प अब राष्ट्रपति निवास ह्वाइट हाउसमै चिकित्सकीय निगरानीमा रहनेछन् ।
डा. सिन कोन्लीले ट्रम्प संक्रमित भएपछि दुईपटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको जनाएका छन् । डेक्सामेथासोनले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । यसअघि बेलायतमा गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणका कारण गम्भीर रूपमा बिरामी परेकाहरूको उपचारमा यसले प्रभावकारी भूमिका खेलेको दाबी गरिएको थियो ।
ह्वाइट हाउस प्रांगणमा मरिन वान हेलिकप्टरबाट झर्दै राष्ट्रपति ट्रम्प तस्बिर : रोयटर्स
यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउने काम गर्छ । कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा शरीरमा जलन उत्पन्न हुने गर्छ । तर कहिलेकाहीं प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय हुने भएकाले त्यो घातकसिद्ध हुन सक्छ ।
संक्रमणसँग जुध्नका लागि बनेका प्रतिरक्षा प्रणालीले नै शरीरका कोषलाई आक्रमण गरिदिन्छ । त्यस्तो अवस्थामा डेक्सामेथासोनले प्रभावलाई न्यूनीकरण गर्ने जनाइएको छ ।
यो अस्पतालमा भर्ना गरिएका र अक्सिजन अनि भेन्टिलेटरको सहायता लिइरहेकाहरूका लागि मात्रै उपयुक्त हुने बताइएको छ । सामान्य लक्षण देखिएका संक्रमितको हकमा भने यो औषधि प्रभावकारी नहुने जनाइएको छ ।
अस्पतालबाट डिस्चार्ज भएर ह्वाइट हाउस फर्कने क्रममा राष्ट्रपति ट्रम्प तस्बिर : रोयटर्स
अस्पतालबाट निस्कनुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘छिट्टै नै चुनावी प्रचार सुरु गर्नेछु । ‘फेक’ न्युजले केवल ‘फेक’ सर्वेक्षण देखाइरहेका छन् ।’ त्यसअघि पनि डोनाल्ड ट्रम्लिे ट्वीट गर्दै सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए ।
चिकित्सकहरुले पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुपूर्व नै ट्रम्पले ट्वीट गर्दै ‘२० वर्ष पहिलेभन्दा अहिले स्वस्थ महसुस’ गरेको बताएका थिए । साथै कोरोना भाइरसबाट डराउनुनपर्ने बताउँदै यसलाई आफ्नो जीवनमा हाबी हुन नदिन पनि अपिल गरेका थिए ।
ह्वाइट हाउसबाट निस्कँदै गर्दा ट्रम्पले सेतो सर्जिकल मास्क लगाएका थिए भने हस्पिटलबाहिर रहेका शुभेच्छुक र पत्रकारलाई हात हल्लाउँदै हेलिकप्टर भएकोतर्फ अघि बढेका थिए । मेरिल्यान्डस्थित ह्वाइट हाउस साउथ पोर्टिको भवनको बरन्डामा गएर उनले मास्क खोलेर सलामी ग्रहण गरेका थिए ।
कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै आलोचना
डिस्चार्ज हुनुअघि कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो उपचार भइरहेको अस्पतालबाहिर मोटरमा घुमेका थिए ।
वाल्टर रिड मिलिटरी मेडिकल सेन्टरबाहिर उपस्थित समर्थकलाई अचम्ममा पार्न घुम्न निस्केका ट्रम्पको कदम गैरजिम्मेवार भन्दै निकै आलोचना भएको छ ।
आइतबार वाल्टर रिड हस्पिटल अगाडि कारमा घुम्दै राष्ट्रपति ट्रम्प तस्बिर : रोयटर्स
जनस्वास्थ्यविद्हरूले कारभित्र सँगै रहेका सुरक्षामा तैनाथ कर्मचारीको स्वास्थ्यमाथि ट्रम्पले खेलबाड गरेको आरोप लगाएका छन् । ट्रम्पको उपचार भइरहेको अस्पतालका चिकित्सक जेम्स फिलिप्सले ‘राष्ट्रपतिको गाडीभित्र रहेका मानिसमा संक्रमण हुन सक्ने जोखिम उच्च रहेको’ बताएका छन् । उनले उक्त गाडीभित्र रहेका सबै जना कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।
त्यसैगरी, डेमोक्र्याट नेताहरूले पनि ‘ट्रम्पको भ्रमणको’ आलोचना गरेका छन् । ‘हामीलाई नेतृत्वको आवश्यकता हो । फोटो खिच्ने अवसर होइन,’ हाउस अफ रेप्रिजेन्टेटिभ्सका सदस्य हकिम जेफ्रिजले ट्वीट गरेका छन् । तर राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले चिकित्सा टोलीको अनुमतिमा नै उक्त भ्रमण गरिएको दाबी गरेका छन् ।
आफूले ‘आश्चर्यजनक भ्रमण’ गर्ने भन्दै ट्वीट गरेको केही क्षणमै ट्रम्प कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएका थिए । राष्ट्रपति ट्रम्प, उनकी पत्नी मेलानिया, ट्रम्पका केही वरिष्ठ सहयोगी र केही सिनेटरलाई गत शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसको केही घण्टापछि ट्रम्प अस्पताल भर्ना भएका हुन् ।
