१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेलायतमा कोरोना संक्रमण बढेपछि थप प्रतिबन्ध घोषणा

नवीन पोखरेल

लन्डन — बेलायतले कोरोना भाइरस संक्रमण बढेपछि मंगलबार थप प्रतिबन्ध घोषणा गरेको छ ।  नयाँ नियमअनुसार, आउँदो बिहीबारदेखि इंग्ल्याण्डमा पब, बार, रेस्टुरेन्ट तथा हस्पिटालिटी व्यवसाय रातप १० बजेभित्र बन्द गरी सक्नुपर्नेछ भने उनीहरुले टेबल सर्भिस मात्र गर्न पाउने छन् । उनीहरुले 'टेकवे' गर्न सक्नेछन् ।

बेलायतमा कोरोना संक्रमण बढेपछि थप प्रतिबन्ध घोषणा

‘रुल अफ सिक्स’ अर्थात ६ जना भन्दा बढी जमघट गरेको भेटिए वा 'फेस मास्क' नलगाउनेलाई २ सय पाउण्ड जरिवाना गरिनेछ । अब बार स्टाफ, वेटर, पसलका कामदार, सिटमा नबसेका ग्राहकहरुलाई 'फेस मास्क' अनिवार्य गरिएको छ ।

वैवाहिक समारोहमा १५ जनाभन्दा बढीको जमघटमा प्रतिबन्ध लगाइएको छ । यसअघि यो संख्या ३० जना थियो । अन्त्येष्टिमा भने विगत जस्तै ३० जना सहभागी हुन पाउने बताइएको छ ।

बुधबारदेखि टयाक्सी ड्राइभर र यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ । आउँदो बिहीबार २८ देखि वयस्कहरुको इन्डोर खेल मात्र खेल्न पाइनेछ तर ६ जनाको समूहभन्दा कम सहभागिता हुनुपर्नेछ । साथै १ अक्टोबरदेखि खेल स्थलहरुमा दर्शक जान दिइने पूर्वनिर्धारीत योजना स्थगित गरिएको छ ।

सरकारले कोरोना संक्रमित पोजिटिभ भएकाहरुले 'सेल्फ आइसोलेसन' नियम पालना नगेर एक देखि १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने नियम यही सेप्टेम्बर २८ बाट लागू गर्दैछ ।

प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार साँझ देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्दै सर्वसाधारणलाई नयाँ नियम पालना गर्न अपिल गरेका छन् । दोश्रो लकडाउनको पक्षमा आफू नरहेको तर सरकारको नयाँ नियम पालना नगरे थप कडाइ गर्ने चेतावनी पनि उनले दिएका छन् । 'यो तरिका अलि कडा छ भन्ने मलाई थाहा छ, तर सम्भाव्य खतरालाई हेर्दा यो उचित पनि छ,' उनले सम्बोधनमा भने । नयाँ नियम कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीबाहेक आवश्यक परे सेना परिचालन गरिने पनि उनले बताएका छन् । प्रधानमन्त्रीले सम्भव भएसम्म घरबाट काम गर्न पनि आग्रह गरे ।

स्कटल्याण्डमा बुधबारदेखि एक घरका मानिसले अर्को घरका मानिसलाई भेट्न रोक लगाइएको छ भने पब, बार, रेष्टुरेन्टसहित हस्पिटालिटी व्यवसायमा राति १० बजेपछि कर्फयू लगाउने घोषणा गरिएको छ । वेल्स र उत्तरी आयरल्याण्डले पनि उस्तै प्रतिबन्ध घोषणा गरेका छन् ।

यसैबीच, ब्रिटेनमा कोरोना भाइरसको खतराको स्तर बढाएर ३ बाट ४ मा लगिएको छ । ब्रिटिस सरकारका वैज्ञानिक सल्लाहकारले यदि आवश्यक सावधानी नअपनाउने हो भने आउँदो अक्टोबर मध्यसम्ममा बेलायतमा कोरोना भाइरसबाट हरेक दिन ५० हजार मानिसहरु संक्रमित हुनसक्ने चेतावनी दिएपछि खतराको स्तर बढाइएको हो ।

ब्रिटेनको चारवटै राज्यका मुख्य चिकित्सा अधिकारीहरुले एक वक्तव्यमा कोरोना भाइरस संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको जनाएका छन् । बेलायतमा मंगलबारमात्र ४ हजार ९२६ जना संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । बेलायतमा मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?