१६९ दिनपछि चल्यो दिल्लीको मेट्रो

भाद्र २३, २०७७

एजेन्सी

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको मेट्रो रेलसेवा पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द गरिएको रेलसेवा सोमबारदेखि खुलेको हो ।

दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ ।

लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या निकै न्यून रहेको थियो । ‘लाइनमा बस्न नपरोस् भनेर म छिट्टै आइपुगेको थिएँ । स्नेसनमा मानिसको खासै भीड थिएन र यात्रुहरूले निर्देशनहरूको पालना गरेका थिए,’ एक यात्रु कुमुद प्रियाले भने ।

यात्रुहरूले रेलसेवा सञ्चालनमा आएकोमा आफूहरूलाई खुसी लागेको बताएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा ल्याएको भए पनि सेप्टेम्बर १२ देखि मेट्रोले पूर्णरूपमा सेवा दिने डीएमआरसीले जनाएको छ ।

डीएमआरसी प्रमुख मन्गु सिंहले प्रभावकारी र सुरक्षित सेवाका लागि यात्रुहरूको सहयोग अत्यावश्यक भएको बताएका छन् । भारको केन्द्र सरकारले जारी गरेकोको निर्देशिकाअनुसार दिल्ली राज्यमा व्यावसायिक गतिविधि सञ्चालन हुन थालिसकेका छन् । जसका कारण सार्वजनिक यातायातको समस्या हुन थालेपछि केही दिनअघि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मेट्रो रेलसेवा सञ्चालनका लागि केन्द्र सरकारसँग अनुमित मागेका थिए ।

केजरीवालले ट्वीट गर्दै रेलसेवा सञ्चालनमा आएकोमा खुसी लागेको बताएका छन् । ‘मेट्रो सेवा सञ्चालनमा आएकोमा मलाई खुसी लागेको छ । व्यवस्थापन निकै राम्रो गरिएको छ । हामीले नियमहरू पालना गर्न कुनै हेलचेक्र्याइँ गर्नुहुन्न,’ केजरीवालले लेखेका छन् ।

पछिल्लो समय भारतको दिल्ली राज्यमा कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएपछि जनजीवन सहज बन्दै गएको छ । तर कतिपय राज्यहरूमा पछिल्ला दिनमा संक्रमण निकै तीव्र बन्दै गएपछि भारत भाइरस प्रभावित देशहरूको सूचीमा दोस्रो स्थानमा उक्लेको छ ।

भारतमा कोभिड–१९ संक्रमितको संख्या ४२ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार साँझसम्म भारतमा ४२ लाख ४ हजार ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । भाइरस संक्रमणका कारण ७१ हजार ६ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully