कोरोना संक्रमणमा ब्राजिललाई उछिन्दै भारत दोस्रो स्थानमा- विश्व - कान्तिपुर समाचार

कोरोना संक्रमणमा ब्राजिललाई उछिन्दै भारत दोस्रो स्थानमा

संक्रमितको संख्या ४२ लाख नाघ्यो, ७१ हजारभन्दा बढीको मृत्यु
संक्रमण समुदायस्तरमै फैलिसकेको र चाडपर्व नजिकिँदै गर्दा स्थिति थप भयावह बन्ने विज्ञहरुको भनाइ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना संक्रमणका हिसाबले भारत विश्वकै दोस्रो स्थानमा उक्लिएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ८ सय २ जनामा संक्रमण पुष्टि भएसँगै भारतले ब्राजिललाई उछिनेको हो ।

जुन एकैदिन संक्रमण देखिएको हालसम्मकै ठूलो संख्या हो । यसअघि भारतमा शनिबार ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।

योसँगै भारतमा कुल संक्रमितको संख्या ४२ लाख नाघेको छ । आइतबार साँझसम्म संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १४ पुगेको छ । त्यसैगरी गएको २४ घण्टामा १ हजार १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ४२ पुगेको छ ।

भारतले उछिनेपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा सोमबार बिहानसम्म संक्रमितको संख्या ४१ लाख ३७ हजार ५ सय २२ रहेको छ । त्यस्तै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २७ हजार रहेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा सोमबार बिहानसम्म संक्रमितको संख्या ६२ लाख ७५ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा कोरोनाबाट करिब एक लाख ८९ हजारको मृत्यु भएको छ भने २३ लाखभन्दा बढी निको भएका छन् ।

त्यसैगरी सोमबार बिहानसम्म विश्वभर दुई करोड ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ लाख ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये एक करोड ८० लाखभन्दा बढी निको भइसकेका छन् ।

भारतमा कुल संक्रमितमध्ये करिब ३२ लाख ५० हजारभन्दा बढी निको भइसकेका छन् । निको भएको दरका आधारमा भारतको अवस्था सुधारात्मक मानिएको छ । भारतको निको हुने दर ७७.३१ प्रतिशत छ ।

निको हुने दर राम्रै मानिए पनि पछिल्ला दिनमा बढेको संक्रमणले परिस्थिति भयावह बन्ने सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरूले यसरी संक्रमणमा एकाएक तीव्र वृद्धि हुनुका पछाडि सर्वसाधारणको लापरबाही तथा लकडाउन खुकुलो भएसँगै आर्थिक गतिविधि सुचारु हुनुलाई प्रमुख कारण ठानेका छन् ।

भारतमा पहिलो संक्रमण जनवरी ३० मा दक्षिण भारतीय राज्य केरलामा पुष्टि भएको थियो । तर, ७ महिनामै संक्रमितको संख्या ४१ लाखभन्दा बढी पुगिसकेको छ । भारतमा संक्रमितको संख्या पहिलो १ लाख पुग्न साढे ३ महिना लागेको थियो । तर पछिल्लो ४ महिनामै ४० लाख संक्रमित थपिइसकेका छन् ।

अगस्ट ७ मा भारतमा कुल संक्रमित २० लाख रहेकोमा त्यसको दुई सातामा ३० लाख पुगेको थियो । सेप्टेम्बर ५ मा आइपुग्दा त्यो बढेर ४१ लाघेको छ । संक्रमण बढेसँगै भारत परीक्षणको दरलाई पनि बढाउँदै लगिएको छ ।

भारतमा आइतबार करिब ७ लाखको पीसीआर परीक्षण गरिएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले जनाएको छ । अरु दिनको तुलनामा आइतबार कम नमुना परीक्षण भए पनि भारतमा पछिल्ला दिनमा औसतमा १० लाखको हाराहारीमा नमुना परीक्षण हुने गरेको छ । भारतमा हालसम्म ४ करोड ९५ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । तर, आर्थिक गतिविधि क्रमशः खुकुलो बन्दै गएर जनजीवन सामान्य बन्ने क्रमशः सँगै पछिल्ला दिनमा संक्रमणमा पनि उछाल देखिन थालेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि देशव्यापी रूपमा लागू गरिएको २ महिनाभन्दा लामो लकडाउन खुकुलो पारिएसँगै संक्रमण बढ्ने क्रम तीव्र बनेको थियो । भारत सरकारले ६८ दिन लामो लकडाउन जुन पहिलो सातादेखि क्रमशः खुकुलो बनाउँदै लगेको थियो । त्यसपछि लकडाउनका कारण विभिन्न सहरमा रोकिएका प्रवासी कामदारहरू आ–आफ्नो गन्तव्यतिर लागेका थिए ।

हालैका दिनमा संक्रमण झन तीव्र बनेको विज्ञहरूको बुझाइ छ । कतिपयले त हालैका दिनमा भइरहेको संक्रमणलाई दोस्रो लहरको संकेतसमेत भनेका छन् । साथै उनीहरूले भारतमा कोरोना संक्रमण नियन्त्रण हुन अझै केही समय लाग्ने बताएका छन् ।

लकडाउन हटेपछि मानिसमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न छाडेका कारण संक्रमण बढेको उनीहरूको दाबी छ । त्यसबाहेक चाडपर्व नजिकिने क्रमसँगै भारतमा संक्रमण थप बढेर जाने उनीहरूको भनाइ छ । ‘संक्रमणको ग्राफ फ्ल्याट हुन अझै केही समय लाग्ने देखिन्छ, त्यसमाथि लकडाउन खुकुलो भएपछि मानिसमा मास्क लगाउने र सामाजिक दूरीमा लापरबाही देखिएको सँगै चाडपर्व पनि नजिकिँदै गएका कारण जोखिम बढ्दै गएको छ,’ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक डा. रनदीप गुलेरियाले भारतीय अंग्रेजी न्युज च्यानल एनडीभीसँग भने ।

गुलेरियाले भारतका केही भागमा संक्रमणको दोस्रो लहर देखिएको दाबी गरे । उनको भनाइमा संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षणको दायरा बढाउने, आइसोलेसनलगायतका प्रभावकारी कदमहरू नचाल्ने हो भने परिस्थिति थप चिन्ताजनक बन्दै जानेसमेत उल्लेख गरेका छन् । हुन पनि केही साताअघिसम्म कोरोना नियन्त्रणमा सफल मानिएका दिल्ली, केरलालगायतका राज्यहरूमा हालैका दिनमा संक्रमण थप फैलिएको छ ।

त्यसबाहेक अधिकांश भागमा आर्थिक गतिविधि र मानिसको आउजाउका लागि सार्वजनिक यातायात पनि सञ्चालनमा आउन थालेका छन् । यसले भारतका लागि संक्रमण नियन्त्रणको सन्दर्भमा आगामी दिनहरू थप चुनौतीपूर्ण हुने निश्चित देखिन्छ । त्यसमाथि डा. गुलेरियाले भनेजस्तै दसैं–तिहारलगायतका चाडपर्वहरू पनि नजिकिँदै छन् ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढिरहेका छ । तर भारतका सीमावर्ती राज्यहरूमा भएको संक्रमणको विस्तारले नेपालमा थप जोखिम बढ्ने निश्चित छ । तराई/मधेसका जिल्लाहरूमा देखिएको उच्च संक्रमणले पनि त्यसलाई केही हदसम्म पुष्टि गर्छ । कोरोना भइरसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि लुकीछिपी मानिस सीमामा आउजाउ गरेकै कारण त्यस क्षेत्रमा संक्रमण फैलिएको संक्रमितहरूको ट्राभल हिस्ट्रीबाट समेत पुष्टि भइसकेको छ ।

त्यसैले भारतका सीमावर्ती राज्यहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, उत्तराखण्डलगायत राज्यहरूको संक्रमण स्तरको प्रत्यक्ष असर नेपालमा पर्ने देखिन्छ । तर, यी राज्यहरूमध्ये उत्तरप्रदेश र बिहारमा संक्रमणको अवस्था चिन्ताजनक छ । भारतकै सबैभन्दा उच्च जनघनत्व भएका यी दुई राज्य स्वास्थ्य पूर्वाधारमा निकै पछि मानिन्छन् । जब कि यी दुई राज्यमै पछिल्ला दिनहरूमा संक्रमण तीव्र रूपमा बढिरहेको छ ।

करिब २४ करोड जनसख्या भएको उत्तरप्रदेशमा करिब २ लाख ६० हजार संक्रमित छन् । उत्तरप्रदेशमा नेपालसँगका सीमावर्ती जिल्लाहरू महाराजगन्ज, सिद्धार्थनगर बलरामपुर, बहराइचलगायत ७ जिल्लामा संक्रमण दिनप्रति दिन बढ्दो छ ।

त्यसैगरी, अर्को छिमेकी राज्य बिहारमा करिब १ लाख ५० हजार संक्रमित भइसकेका छन् । बिहारमा सबैभन्दा बढी संक्रमण राजधानी पटनामा देखिएको छ । त्यसबाहेक नेपालसँगका सीमावर्ती जिल्लाहरू पूर्वी र पश्चिम चम्पारण, किसनगन्ज, सीतामढी, मधुवनीलगायत जिल्लामा पनि पछिल्ला दिनमा संक्रमणको ग्राफ उकालो लाग्दै आएको छ ।

प्रकाशित : भाद्र २२, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्

बेखर्ची भएपछि गाउँ खाली गरेर बाहिरिँदै

विकल्प नभएपछि रोजगारीको खोजीमा भारततिर, जनप्रतिनिधि भन्छन्– ‘तत्काल रोजगारको कुनै कार्यक्रम छैन’
प्रदेश ब्युरो

बुटवल — भारतको मुम्बईस्थित भिमिन्डीमा मजदुरी गर्ने कपिलवस्तुको महाराजगन्ज–७ कुशहवाका धर्मराज कोहार गत वैशाखमा घर फर्किए । आउँदा ७ हजार भारतीय रुपैयाँ उनको साथमा थियो । मुटुरोगी श्रीमतीको उपचार गर्दा उक्त रकम सकिएको छ । अहिले उनको भान्सामा भरे खाने अन्न जुटाउन गाह्रो छ ।

लकडाउन खुलेपछि बजारमा मजदुरी गरौंला भन्ने उनको सोच थियो । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । ज्यालादारीका काम नपाएपछि छिमेकीसित ४ हजार रुपैयाँ सापटी खोजेर केही दिन टारे । ‘भोकै बस्नुभन्दा भारत जानु बेस,’ उनले भने, ‘कमाइ नभए ६ जनाको परिवार कसरी पाल्नू ?’ सीमा अझै सिल छ । त्यसैले लुकेर कोटिया नाका पार गरेको उनले सुनाए । तीन हजार भारु थप ऋण खोजेर उनी मुम्बई फर्किन लागेका छन् । पाँच वर्षदेखि मुम्बईमा कुल्लीको काम गर्दै परिवारको गर्जो टार्दै आएको उनले बताए ।

कृष्णनगर नगरपालिका–७ अजिगराका बुधई मुराउ खर्च टार्न नसकेपछि कोरोना कहरमै भारत फर्किन बाध्य भए । आफन्तका अनुसार उनी घर नजिकैको भिल्मी नाका हुँदै भारत पसेका हुन् । त्यहाँबाट बढनी हुँदै सरकारी बसमा दिल्ली पुगिसकेका छन् । दिल्लीमै गल्लाको काम गरेर ७ जनाको परिवार पाल्दै आएका उनी लकडाउन सुरु भएपछि स्वदेश फर्किएका थिए । यहाँ लकडाउन र निषेधाज्ञाले काम पाएनन् । परिवारलाई खानपिनकै समस्या भएपछि बाहिरिएको आफन्तले बताए । महाराजगन्ज–७ कुशहवाका सुकई तेलीले पनि खर्च सकिएपछि भारतको मुम्बईस्थित भिमिन्डी फर्किने तयारी गरेका छन् । ‘यहाँ बसेर एक छाक खान धौ भो,’ उनले भने, ‘फर्किने निर्णय लिनुअघि स्थानीय बजारमा काम खोजें । जनप्रतिनिधिलाई पीडा सुनाएँ तर भएन ।’

सीमावर्ती स्थानीय तहका सर्वसाधारण भारतीय सहरमा रोजगारीमा छन् । सीमा क्षेत्रको महाराजगन्ज र कृष्णनगर नगरपालिकाका एक हजारभन्दा बढी मुम्बई र दिल्लीमा मजदुरी गर्न फर्किइसकेका छन् । दुई सातायता लुकेर सीमा पार गर्ने क्रम बढेको छ । सीमावर्ती भारतीय बजारबाट कानपुर, दिल्ली र लखनउसम्म सिधा बस सेवा सञ्चालनमा छ । त्यहींबाट लुधियाना, पन्जाब र चण्डीगढका लागि निजी बस पाइन्छन् । कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह भारतबाट फर्किएकालाई तत्काल रोजगार दिने कुनै कार्यक्रम नभएको बताउँछन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड २२ लाख आएको छ,’ उनले भने, ‘त्यसको लामो प्रक्रिया हुन्छ । यता लकडाउन छ । औपचारिक कार्यक्रम पनि गर्न मिल्दैन ।’ उक्त कार्यक्रमबाट १ सय दिन र ५ सय १७ जनाभन्दा बढीलाई काम दिन नसकिने उनले बताए ।

हाल आवतजावतमा रोक लगाइएको छ । नेपालबाट भारतीयबाहेक कसैलाई पनि जान नदिइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक प्रताप पौडेलले बताए । ‘हामीलाई नेपाली नपठाउनु भनेका छन्,’ उनले भने, ‘त्यसपछि पूरै रोक लगाएका छौं ।’

बर्दियाका सीमावर्ती गाउँका धेरै जना रोजगारीका लागि भारत फर्किन बाध्य छन् । दुई सातायता गुलरिया–९ र १० का ६ सय युवा बाहिरिएका छन् । गुलरिया–९ झगरुपुरकी सुमित्रा मल्लाहका दुई छोरा रोजगारीका लागि भारत गएका छन् । उनका छिमेकी श्यामगिरा मल्लाहका छोराले भारतको गाजियावाद पुगेर काम सुरु गरिसके । ‘यहाँ कसलाई दुःख सुनाउने,’ सुमित्राले भनिन्, ‘भोकभन्दा रोग ठूलो होइन ।’ पीडा सुन्ने कोही नभएपछि छोरालाई भारतमा काम गर्न पठाएको उनले बताइन् ।

दुई गाउँमा अहिले बूढाबूढी र केटाकेटीबाहेक देखिँदैनन् । ६३ घर रहेको महजिदिया गाउँका ४० घरका करिब ५० जना पलायन भइसकेको स्थानीय दीपु चौधरीले बताए । यहाँ विकल्प नभएपछि फर्किन थालेको उनको भनाइ छ । रोजगारी नपाएपछि गाउँ रित्तिन थालेको गुलरिया–१० का वडाध्यक्ष वीरेन्द्र चौधरीले बताए । ‘मेरो वडाबाट ४ सयभन्दा बढी युवा भारत गइसकेका छन्,’ उनले भने, ‘कोरोनाका कारण काम नपाएपछि पलायन भएका हुन् ।’ सीमावर्ती क्षेत्रका अधिकांश युवा भारतबाट तरकारी, दैनिक उपभोग्यका सामान ल्याएर बजारमा बेचबिखन गर्थे । लकडाउनपछि सीमा सिल भएकाले उक्त रोजगारी पनि गुमेको छ ।

गोडियनपुरुवा, थपुवा, कालाबन्जरलगायत गाउँबाट करिब दुई सय युवा भारत गएका छन् । स्थानीय सुभास मल्लाहले चाडपर्व आउन थालेकाले नयाँ लुगाफाटा र मीठा परिकारको जोहो गर्न रकम नभएपछि बाध्यतावश जानुपरेको बताए । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले स्थानीय तहमा रोजगारीका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र सीपमूलक तालिमका लागि बजेट रहेकाले वातावरण सहज भएपछि सुरु गर्ने बताए ।

मुलुकमै रोजगारीको अवसर नपाएपछि र गरिबीको कारणले रूपन्देहीको सीमावर्ती स्थानीय तहबाट सर्वसाधारण कामको खोजीमा भारततर्फ जाने क्रम बढ्न थालेको छ । भारतमा लकलडाउन भएपछि गत जेठमा स्वदेश फर्किएका उनीहरू महामारीका बेला जोखिम मोलेरै फर्किन थालेका छन् । ‘मेरो गाउँपालिकाबाट करिब ४ सय जना रोजगारीका लागि भारततर्फ गइसकेका छन्,’ मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले भने । बेलहिया नाकास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले रोजगारीका लागि भारत जान खोजेका नेपालीलाई सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले आधार कार्ड र पहिला काम गरेको स्थानको परिचयपत्रका आधारमा मात्र जान दिने गरेको बताए । उनका अनुसार अहिले भारततर्फ लाग्ने नेपालीको संख्या दैनिक १५/२० जनाको हाराहारीमा छ ।

स्थानीय सरकारको बेवास्ता

स्वदेश फर्किंदा अधिकांश युवाको घरमै बसेर इलम गर्ने सोच थियो । स्थानीय तहले पनि गाउँमै रोजगारी सिर्जना गर्ने आश्वासन दिएका थिए । लकडाउन भएको पाँच महिना बितिसक्दा पनि गाउँमा रोजगारीका कुनै अवसर आएका छैनन् । भारतबाट फर्केका सबैजसो बेरोजगार छन् ।

पाँच महिनाअघि भारतबाट फर्केका दाङको बंगलाचुली–५ का ऋषिराम विश्वकर्मा अहिलेसम्म खाली बसेका छन् । ‘गाउँमा काम पाइएको छैन । भएको खाने, सक्ने र काल पर्खने भएको छ,’ उनले भने, ‘महामारी भइरहेकाले भारत जान पनि सकिएको छैन । कता जाऔं, के गरौं भन्ने भएको छ ।’ उनले कामका लागि जनप्रतिनिधिलाई गुहारे । पहल गर्दै छौं भन्नेबाहेक केही उपलब्धि हात पारेनन् । दुई दशक भारतमा बिताएका विश्वकर्मा अब गाउँमै खेतीपाती गर्ने, कुखुरा, बाख्रा पाल्नेजस्ता पुरानो पुस्ताले गरेका कामलाई निरन्तरता दिने कि भन्ने निष्कर्षमा पुगेका छन् । १२ वर्ष भारतमा मजदुरी गरेर फर्केका घोराही उपमहानगरपालिका–१ तेर्छेगाउँका टेकन भण्डारीले ५ बिघा जमिनमा बेसार, अदुवा, पिँडालु र कागती खेती सुरु गरेका छन् । ‘कृषि पेसा नै भरपर्दो लाग्यो । अनि, जग्गा भाडामा लिएर बाँझो जमिन खोजेर खेती गर्न थालेको छु,’ उनले भने । भारतबाट फर्केका घोराही–१८ का कृष्ण वली पनि फेरि भारत फर्कन सकेका छैनन् । उनी यतै होटल व्यवसाय गर्ने सोचमा छन् ।

गाउँमा कमाइ थोरै हुने र भनेका बेला काम नपाइने भएपछि फेरि भारततर्फ जानेहरूको संख्या बढ्दै गएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘भन्नेबित्तिकै काम दिन पनि सकिएको छैन । वर्षा र कोरोनाले गर्दा विकासका काम कम भएका छन्,’ उनले भने, ‘गाउँमा कामै पाए पनि भारतमा जस्तो बढी कमाइ हुँदैन । यसले गर्दा युवा गाउँमा अडिन सकेनन् ।’ उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि एक वडामा ४ सय जनाले फाराम भरेका छन् । सबैलाई काम दिन सक्ने अवस्था छैन ।

लकडाउनकै कारण भारतबाट फर्केकालाई तत्कालै काम दिन नसकिएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । ‘रोजगारी कसरी दिने भन्ने योजना बनाइरहेका छौं । लकडाउनका कारण कामै हुन पाएका छैनन्,’ उनले भने, ‘भारतबाट आउने क्रम अहिले पनि जारी छ । विभिन्न सीपमूलक तालिम दिने, व्यवसायमा अनुदान दिने, दैनिक ज्यालादारी काम दिनेजस्ता योजना बनाएका छौं ।’

चाडबाडमा उल्टो दृश्य

गत वर्षसम्म चाडपर्वका बेला नेपालगन्जको जमुनाह नाकामा भारतबाट फर्किनेको धुइरो लाग्थ्यो । यात्रु बोक्न रिक्सादेखि टाँगाको हानाथाप हुन्थ्यो । पाहुना राख्न होटलबीच तँछाडमछाड चल्थ्यो । यसपालि नाकामा उल्टो दृश्य देखिन्छ । रोजगारीका लागि भारत गएकाहरू कोरोना महामारीका कारण गत वैशाख/जेठमा स्वदेश फर्किए । यहाँ खर्चको जोहो नभएपछि अहिले उनीहरू भारत फर्किरहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका ३१ वर्षीय हुमबहादुर जैसीले भारतमा काम गर्न थालेको १५ वर्ष भयो । तर, आधार कार्ड बनाएका थिएनन् । त्यही कार्ड नहुँदा उनले अहिले नाका पार गर्न पाएका छैनन् । दिल्लीको एक होटलमा काम गर्दै आएका उनी कोरोनाको महामारीले होटल बन्द भएपछि घर फर्किएका थिए । अहिले होटल साहुले काममा फिर्ता बोलाएपछि उनी भारत जान जमुनाहा नाकासम्म आएका हुन् । आइतबार बिहान निराश मुद्रामा नाकामा भेटिएका जैसी भारत जान नपाइने हो कि भन्ने चिन्तामा थिए । ‘आफ्नो समस्या पनि हेर्नुपर्‍यो, दसैंको मुखमा घर छोड्ने रहर कहाँ थियो र ?’ उनले भने, ‘भोकको सवाल छ । बाध्यताले नै भारत जाँदै छौं ।’ उनीसँगै ९ जनाको समूह दिल्ली जान शनिबार नेपालगन्ज आएको थियो ।

अहिले भारतबाट फर्किनेभन्दा जमुनाहा नाका भएर भारत जानेको संख्या बढेको नाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । ‘गत वर्ष यतिबेला स्वदेश फर्किनेको भीड थामिनसक्नु हुन्थ्यो,’ उनले भने, ‘अहिले काम खोज्न भारत फर्किनेको भीड छ ।’

-मनोज पौडेल (कपिलवस्तु), दुर्गालाल केसी (दाङ), कमल पन्थी (बर्दिया), माधव ढुंगाना (भैरहवा) र रूपा गहतराज (नेपालगन्ज)

प्रकाशित : भाद्र २२, २०७७ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×