पाल्पा अस्पतालमा ओपीडी सेवा बन्द

भाद्र २२, २०७७

माधव अर्याल

पाल्पा — पाल्पा अस्पतालमा सोमबारदेखि बहिरंग विभाग(ओपीडी)का सबै सेबा बन्द भएको छ । अस्पतालमा उपचार गराइरहेकी ८२ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै सेवा केही दिनका लागि सूचना टाँस गरेर बन्द गरिएको हो ।

पाल्पा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा आइतबार बेलुकादेखि बन्द गरिएको सूचना अधिकारी बिसर्जन शर्माले बताए । ६ दिनअघि दमको उपचारका लागि आएकी वृद्ध महिलामा ज्वरो देखिएपछि नमुना स्वाब संकलन गरी स्वाब पठाएकामा आइतबार बेलुकी कोरोना भाइरस पुष्टि भएको हो ।

पाल्पा अस्पतालमा उपचाररत ती महिला अस्पतालकै कार्यालय सहयोगीकी आमा हुन् । चिकित्सक र अन्य कर्मचारीसमेत सम्पर्कमा आएकाले कम्तीमा २५ जना स्टाफ होम क्वारेन्टाइनमा बस्नुपर्ने पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

सेवाग्राहीको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सेवामा संलग्न स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरी पठाएपश्चात् रिपोर्ट नेगेटिभ नआउँदासम्म अस्पतालको आकस्मि सेवाबाहेक सबै सेवा बन्द भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully