संक्रमितलाई के खुवाइन्छ ?

कोरोनाका बिरामीलाई प्रतिरोधात्मक क्षमता बढाउन कतै आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ, कतै दूध–बेसार । कुनै अस्पतालले भने भिटामिन बी, सी र क्याल्सियम पनि खुवाइरहेका छन् । बिरामी निको हुने दर पनि बढ्दै गएको छ ।

भाद्र २२, २०७७

मकर श्रेष्ठ

काठमाडौँ — चाबहिलमा कोठा भाडा लिएर बसेकी एक युवतीलाई लक्षणबिनाको कोरोना संक्रमण देखियो । कोठामा आइसोलेसन बस्न नमिल्ने भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनलाई कीर्तिपुरस्थित आयुर्वेद तालिम केन्द्रको आइसोलेसनमा पठायो । त्यहाँ उनीजस्तै लक्षण नभएका दुई सयभन्दा बढी संक्रमित थिए ।

कोरोना लागेर आत्तिएकी उनले आइसोलेसनमा पुगेपछि सँगै बस्ने अरू संक्रमितबाट ढाडस पाइन् । ‘यहाँ भर्ना हुने सबैजसो १० दिनमै निको भएका छन्, चिन्ता नगर्नू भनेर सबैले सम्झाए,’ उनले भनिन्, ‘आएकै बेलुकादेखि खाना खाइसकेपछि एक गिलास दूधमा बेसार र बिहान, बेलुका र राति दुई चक्की आयुर्वेदिक औषधि खुवाउन सुरु भयो ।’

चार पटक खानेकुराबाहेक यहाँ पुग्ने संक्रमितले यी युवतीले जस्तै जडीबुटी र घरायसी उत्पादनका सामग्रीमा रसायन मिसाएर बनाइएको चक्की, एक गिलास दूधमा बेसार राखेर खुवाउने गरिएको तालिम केन्द्रका कोभिड फोकल पर्सन डा. जितेन्द्र श्रेष्ठले बताए । उनका अनुसार त्यो चक्की गुर्जो, सुठो, पिप्ला, मरिच र अन्य रसायनलाई मिलाएर तयार गरिएको हो । केन्द्रमा साउन १ देखि लक्षण नभएका संक्रमित राख्न थालिएको हो । भर्ना भएका ५ सय ७ जनामध्ये ३ सय ७३ जनालाई यो चक्की खुवाएको एक सातामा पीसीआर गर्दा २ सय ८८ जनाको नतिजा नेगेटिभ अर्थात् कोरोना संक्रमणमुक्त भएको पाइएको उनले बताए । ‘संक्रमितको रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउन दैनिक तीन पटक दुईवटा चक्कीका दरले खुवाउँदा एक सातामा ७७.२१ प्रतिशत सफल भयौं,’ उनले भने । 

केन्द्रको आइसोलेसनमा बसेका २ सय ८३ जना कोरोना निको भएर घर फर्किइसकेको उनले बताए । ‘हरेक दिन ६ चक्की आयुर्वेद औषधि खुवाइन्थ्यो । यसकै असर हो कि के हो, मेरो पनि सातौं दिनमा पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आयो,’ अछामका सांसद यज्ञबहादुर बोगटीले भने ।

काठमाडौं उपत्यकामा संक्रमण देखिएदेखि नै उपचार सुरु भएको बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट पनि ५ सय ७७ जना निको भइसकेका छन् । यहाँ भर्ना हुने संक्रमितलाई नियमितजसो माछामासु, फलफूल, जुसबाहेक रोगसँग लड्ने प्रतिरोधात्मक औषधि पनि खुवाउने गरिन्छ । अस्पतालका डा. प्रवीण नेपालका अनुसार संक्रमितलाई भिटामिन डी, सी, जिंक चक्की खुवाउने गरिन्छ । ‘जुन औषधि खाँदा असर गर्दैन भनेर अध्ययनले नै देखाएको हुन्छ, त्यही खुवाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गराउँछौं,’ उनले भने, ‘यसबाहेक संक्रमितको मागअनुसार कागती पानी, जिरा, मरिच, लसुन र अदुवा पनि दिन्छौं ।’

वीरगन्जको नारायणी अस्पतालमा सशस्त्र प्रहरी अस्पतालले प्रयोग गर्ने औषधि नै संक्रमितलाई खुवाइन्छ । नारायणी अस्पतालका फिजिसियन डा. रामकृष्ण सिंहले अस्पतालमा भर्ना हुने संक्रमितलाई भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, जिंक चक्की र ५ सय एमजीको क्याल्सियम खुवाउने गरेको बताए । ‘म आफैं संक्रमित हुँदा पनि यही औषधि खाएर १२ दिनमा डिस्चार्ज भएँ,’ उनले भने । वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले संक्रमित नगरवासीको रोगसँग लड्ने क्षमता बढाउन चेवनप्रास, अश्वगन्धा र इमिनोसमेत उपलब्ध गराइएको बताए ।

काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन कुनै औषधि नदिइएको जनाएको छ । ‘हाम्रो क्यान्टिनमा जे पाक्छ, त्यही सामान्य खानेकुरा मात्रै खुवाउँछौं,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘लक्षण हुनेलाई लक्षणअनुसारको औषधि खुवाउने गरेका छौं ।’ टिमुर राखेको अचार, मसला राखेको दाल तरकारी, खानाबाहेक हरेक दिन बिहान तुलसी, अदुवा, बेसार र नुन राखेर उमालेको पानी भने खुवाउने गरेको उनले बताए ।

पाटन अस्पतालमा पनि २ सयभन्दा बढी संक्रमित निको भइसकेका छन् । कोरोना निको पार्न लक्षण भएकालाई औषधि दिनेबाहेक अरूलाई कुनै औषधि नदिने अस्तपालका निर्देशक डा. रवि शाक्यले बताए । ‘लक्षण जे छ, त्यहीअनुसार औषधि दिनेबाहेक रोगसँग लड्ने क्षमता बढाउन केही पनि दिँदैनौं,’ उनले भने, ‘संक्रमित आफैंले ल्याएर केही जडीबुटी र घरेलु उत्पादन (बेसार, मरिच, अदुवा, कागती) खान्छन् भने हामीले रोकेका छैनौं ।’ अस्पतालले खानामा ध्यान दिएर सातामा दुई पटक मासु खुवाउने गरेको डा. शाक्यले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले भिटामिन सी र जिंक चक्कीले संक्रमितलाई असर नगर्ने अध्ययनले देखाएको बताए । ‘यो औषधि पहिलादेखि निमोनियाका बिरामीलाई प्रयोग गरिन्थ्यो । अहिले पनि अध्ययन भइरहेको छ । निश्चित औषधि सिफारिस भइसकेको छैन । भिटामिन सी र जिंक प्रयोग गर्दा असर नगर्ने अध्ययनले देखाएको छ । प्रयोग गर्दा चिकित्सकको परामर्शअनुसार मात्रै लिन सकिन्छ ।’ 

निको हुने दर बढ्यो

कोरोना संक्रमण भएर अस्तपालमा भर्ना भएका र आइसोलेसन सेन्टरमा बसेर निको हुने संख्या पछिल्लो साता बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित ४६ हजार २ सय ५७ मध्ये कोराना संक्रमण निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको हो । निको हुने दर सार्क मुलुकमै नेपालमा सबैभन्दा कम देखिए पनि भदौ १४ देखि क्रमशः बढ्दै गएको छ । भदौ १४ मा निको हुने दर ५४ प्रतिशत रहेकामा आइतबार ६२ दशमलब ६ पुगेको छ । साउन १५ मा निको हुने दर नेपालमा पनि ७२ प्रतिशतसम्म पुगेको थियो ।

इन्फोग्राफिक्स : रामकृष्ण श्रेष्ठ

भदौ १५ मा पनि अघिल्लो दिनको तुलनामा डिस्चार्ज हुने संख्या बढ्यो तर संक्रमित मुलुकभर ८ सय ९९ मात्रै भए । यो दिन पनि कुल संक्रमितको डिस्चार्ज हुने प्रतिशत भने ५४ प्रतिशतमै सीमित भयो । भदौ १६ देखि भने निको हुनेको दर बढ्दै गएको छ । मन्त्रालयका अनुसार भदौ १६ मा निको हुने दर ५५, भदौ १७ र १८ मा ५६, भदौ १९ मा ५८, २० मा ६० प्रतिशत थियो । आइतबार ६२.६ प्रतिशत पुगेको हो ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार निको हुने दर सार्क मुलुकको अफगानिस्तानमा ७७.६, बंगलादेशमा ६७.२, भुटानमा ६५.८, भारतमा ७७.२, माल्दिभ्समा ६५.५, पाकिस्तानमा सबैभन्दा बढी ९४.८ र श्रीलंकामा ९३.३ छ । विश्वमा निको हुने दर ७० प्रतिशत छ । ‘नेपालमा मृत्यु ०.६ प्रतिशत मात्रै छ भने अरू सबै निको भएको मानिन्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘हामीले सार्वजनिक गरेको त घर फर्केकाको तथ्यांक मात्रै हो । अस्पताल र आइसोलेसन सेन्टरमा भएका पनि निको भएर फर्किहाल्छन् नि ।’ तर मन्त्रालयले सार्वजनिक गरेको विवरण र सार्क मुलुकमा तुलना गर्दा ६२.६ लाई नै निको दर मानिएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म सक्रिय संक्रमित १७ हजार २७ जना अर्थात् ३६.८ प्रतिशत छ । यसमध्ये अस्पताल र आइसोलेसन सेन्टरमा ९ हजार २ सय १ र होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना छन् । नेपालमा सक्रिय संक्रमितको दर पनि विश्व र सार्क मुलुकमा सबैभन्दा धेरै नेपालमा हो । विश्वमा संक्रिय संक्रमित दर २६.९ छ ।

सार्क मुलुकमा अफगानिस्तानमा १८.८, बंगलादेशमा ३१.४, भुटानमा ३४.२, भारतमा २१, माल्दिभ्समा ३२.२ पाकिस्तानमा सबैभन्दा कम ३.१ र श्रीलंकामा ६.३ सक्रिय संक्रमित छन् । मृत्यु हुने दर भने सार्क राष्ट्रका अन्य ४ मुलुकमा भन्दा कम छ । मृत्युदर सबैभन्दा बढी अफगानिस्तानमा ३.७, पाकिस्तानमा २.१, बंगलादेशमा १.४, भारतमा १.७ छ । नेपालभन्दा कम मृत्यु दर हुनेमा भुटान, माल्दिभ्स र श्रीलंका छन् । 

कोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully