भारतमा अगस्ट महिनामा मात्रै १५ लाखभन्दा बढीमा कोरोना पुष्टि

अहिलेसम्म ३२ लाख ३४ हजारभन्दा बढी संक्रमित, ५९,४४९ को मृत्यु

भाद्र १०, २०७७

एजेन्सी

नयाँदिल्ली — भारतमा अगस्ट महिनामा मात्रै १५ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतमा अगस्ट महिनामा मात्रै १५ लाख ३० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । 

एकै महिनामा कुनै पनि देशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो उच्च संख्या हो । यसअघि अमेरिकामा गत जुलाई महिनामा करिब २० लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । अगस्ट महिना सकिँदासम्म यो संख्या अझ बढ्न सक्ने देखिएको छ । केही दिनयता भारतमा दैनिक औसत ६० हजारभन्दा बढीमा कोरोना पुष्टि हुँदै आएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ६७ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ भने एक हजार ५९ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख ३४ हजारभन्दा बढी पुगेको छ  । यसको करिब आधा संख्या त अगस्ट महिनामा मात्रै पुष्टि भएको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ४ सय ४९ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २४ लाख ६७ हजारभन्दा निको भएका छन् ।

भारतले पछिल्लो समय परीक्षणको दायरा पनि फराकिलो बनाउँदै लगेको छ । केही दिनयता दैनिक करिब १० लाख नमुना परीक्षण गरिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ लाख २३ हजार ९ सय ९२ नमुना परीक्षण गरिएको आईसीएमआरले जनाएको छ । अगस्ट महिनामा मात्रै करिब एक करोड ८० लाख नमुना परीक्षण भएको छ भने अगस्ट २५ सम्म ३ करोड ७६ लाख ५१ हजार ५ सय १२ नमुना परीक्षण भएको आईसीएमआरले जनाएको छ ।

कोरोना भाइरसबाट बुधबार दिउँसोसम्म विश्वभर करिब २ करोड ३९ लाख जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट करिब ८ लाख १९ हजारको मृत्यु भएको छ । विश्वका विभिन्न देशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड ५५ लाख निको भएका छन् । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully