उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म

भाद्र १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।

मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलकै क्रममा तीन जिल्लाकै डीसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ । 

काठमाडौंका उपत्यकामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि निषेधाज्ञा जारी गरिएको थियो  । मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको थियो  । मंगलबार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मंगलबार साँझसम्म काठमाडौंमा २ हजार ९ सय ५५, ललितपुरमा ४ सय ६३ र भक्तपुरमा तीन सय जनामा कोरोना पुष्टि भएको छ  ।

हेर्नुहोस् काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully