उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर प्रदेशका मन्त्री तथा पूर्वक्रिकेटर चेतन चौहानको कोरोनाबाट मृत्यु

एजेन्सी

नयाँदिल्ली — भारतीय पूर्वक्रिकेटर चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जुलाई १९ मा कोरोना पुष्टि भएका ७३ वर्षीय चौहानको आइतबार उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनको स्वास्थ्य अवस्था जटिल भएपछि करिब ३६ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो ।

सुरुमा लखनउस्थित अस्पतालमा भर्ना गरिए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गुरुग्रामस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चौहान उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड तथा नागरिक सुरक्षामन्त्री पनि थिए । उनी उत्तर प्रदेशको अमरोहा क्षेत्रबाट दुई पटक लोकसभा सदस्यमा समेत निर्वाचित भएका थिए । कोरोना संक्रमणबाट उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको पनि मृत्यु भएको थियो ।

सन् १९६९ देखि १९८१ सम्म भारतीय क्रिकेट टिमबाट चौहानले ४० वटा टेस्ट म्याच र ७ वटा एकदिवसीय खेल खेलेका छन् । उनले टेस्टमा १६ अर्धशतकसहित २ हजार ८४ रन बनाएका छन् । चौहानले दुई दशकसम्म महाराष्ट्र र दिल्ली गरी रणजी ट्रफी खेलेका थिए ।

प्रकाशित : भाद्र १, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

पोखरियाका मेयरसहित पर्सामा थप ९२ जनामा कोरोना

भूषण यादव

वीरगन्ज — पोखरिया नगरपालिकाका मेयर दीपनारायणप्रसाद रौनियारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् ।

साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि साउन २७ मा ११ सयभन्दा बढी स्वाब नमुना टेकु पठाइएको हो ।

आइतबार बेलुकीसम्म प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित : भाद्र १, २०७७ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×