कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बिहारमा संक्रमण बढ्यो, नेपालमा झन् जोखिम

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालसँगको सीमावर्ती भारतीय राज्य बिहारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको छ । राजधानी पटनालगायत क्षेत्रमा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । नेपालसँग सीमा जोडिएका जिल्लामा फैलिएको संक्रमणका कारण नेपालमा पनि थप जोखिम बढेको छ ।

बिहारमा संक्रमण बढ्यो, नेपालमा झन् जोखिम

बिहारमा आइतबार मात्र २ हजार ६ सय ५ जना संक्रमित थपिएका छन् । योसँगै बिहारमा कुल संक्रमितको संख्या करिब ३९ हजार पुगेको छ । गत २४ घण्टामा बिहारमा २७ जना संक्रमितको ज्यान गएको छ । बिहारमा पछिल्लो एक महिनाभित्रै ३० हजार जनाभन्दा बढी संक्रमित थपिएका हुन् । हालसम्म बिहारमा कोरोना भाइरसको संक्रमणबाट २ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । राजधानी पटनामा त संक्रमण झन् बढी देखिएको छ । पछिल्लो तीन दिनमा मात्र पटनामा थप ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालसँगै सीमा जोडिएका जिल्लाहरूमा पनि संक्रमण घट्नुका साटो बढिरहेको छ । नेपालसँग सीमा जोडिएका पूर्वी चम्पारणमा २३, किसनगन्जमा ३४, मधुवनीमा ४२, सीतामढीमा १९, सुपौलमा ७७, पश्चिम चम्पारणमा १६ जना थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या पूर्वी चम्पारणमा ९ सय १२, किसानगन्जमा ४ सय ७५, मधुवनीमा ८ सय २३, पश्चिम चम्पारणमा १ हजार ४६, सीतामढीमा ३ सय ९६, सुपौलमा ६ सय ४६ पुगेको छ ।

दुई देशबीचको सीमा औपचारिक रूपमा बन्द गरिए पनि लुकीछिपी आउजाउ गर्ने नरोकिएका कारण सीमावर्ती यी जिल्लाहरूमा बढ्दो संक्रमणले नेपालमा पनि जोखिम स्वतः बढेर गएको छ । बिहारका यी जिल्ला र नेपालका सीमावर्ती क्षेत्रबीच सघन आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । सँगै ठूलो संख्यामा भारतीय कामदारहरू वीरगन्ज, विराटनगर, जनकपुरलगायत सहरमा काम गर्नका लागि जाने गर्छन् ।

भाइरसको महामारी नियन्त्रणका लागि सीमालाई औपचारिक रूपमा बन्द गरिए पनि लुकीछिपी स्थानीय र कामदारहरूको आउजाउ रोकिएको छैन । जसले गर्दा बिहारका सीमावर्ती जिल्लामा संक्रमण बढ्दा त्यसको जोखिम नेपालतर्फ पनि हुनु स्वाभाविक हुन्छ । हालैका दिनमा वीरगन्जमा संक्रमण एकाएक बढ्नुमा यही कारण ठानिएको छ । वीरगन्जका विभिन्न उद्योग र सुक्खा बन्दरगाहमा ठूलो संख्यामा भारतीय कामदारहरू काम गर्दै आएका छन् । सीमा बन्द गरिए पनि उनीहरू लुकीछिपी जाने गरेको पाइएको छ ।

जनसंख्याका हिसाबले उत्तरप्रदेश र महाराष्ट्रपछि तेस्रो बिहार दुई राज्यको तुलनामा स्वास्थ्य क्षेत्रका पूर्वाधारमा निकै कमजोर छ । भएका स्थानहरूमा पनि पर्याप्त जनशक्ति छैन । त्यसमाथि करिब ८५ प्रतिशतभन्दा बढी मानिस गाउँमा बस्ने गर्छन् । राज्यमा कैयौं सांसद र चिकित्सकहरू पनि संक्रमणको सिकार भएका छन् । तर, उनीहरूको समयमा परीक्षण पनि नभएको बताइएको छ ।

इन्डियन मेडिकल एसोसिएसन, बिहार शाखाका सचिव डा. सुनिल कुमारले पनि बिहारको स्थिति चिन्ताजनक भएको बताए । उनले बिहारमा सरकारी स्वास्थ्य चौकीहरूमा चालीस प्रतिशतभन्दा बढी दरबन्दी खाली रहेको समेत जानकारी दिए । ‘कोरोना भाइरसको संक्रमण चिन्ताजनक हिसाबले बढिरहेको छ, सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने र परीक्षण बढाउने घोषणा गरे पनि यथार्थमा त्यो हुन सकेको छैन,’ कान्तिपुरसँग भने । न्यून परीक्षणकै कारण संक्रमणको जोखिम बढेको भन्दै राज्यका विपक्षी राजनीतिक दलहरूले नितिश कुमार नेतृत्वको सरकारको चर्को विरोध गर्दै आएका छन् ।

प्रकाशित : श्रावण १३, २०७७ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?