३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतमा भयावह बन्दै कोरोना, तीन दिनमा एक लाख संक्रमित थपिए

सुरेशराज न्यौपाने

नयाँदिल्ली — केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा प्रत्येक दिन ३० हजारभन्दा बढीले नयाँ संक्रमितहरू थपिने क्रम जारी छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअनुसार गएको २४ घण्टामा मात्रै ३७ हजार १ सय ४८ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ११ लाख ५५ हजार नाघेको छ ।

भारतमा भयावह बन्दै कोरोना, तीन दिनमा एक लाख संक्रमित थपिए

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५ सय ८७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाले २८ हजार ८४ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनमै १ लाखभन्दा बढी संक्रमित थपिनुले भारत संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो भन्ने आशंका गरिएको छ ।

विश्वका उच्च संक्रमित मुलुकहरूमध्ये भारत तेस्रो स्थानमा छ । पहिलो अमेरिका र दोस्रो ब्राजिल हो । भारतमा पछिल्ला दिनमा भएको संक्रमणको यो विस्तारलाई संक्रमणको दोस्रो लहर सुरु भएको आशंका गर्न थालिएको छ । केही साताअघि एम्सका निर्देशक तथा वरिष्ठ चिकित्सक रणदीप गुलेरियाले भारतमा संक्रमणको दोस्रो लहरको जोखिम रहेको बताएका थिए । यद्यपि अहिलेसम्म केन्द्र सरकारले त्यसको पुष्टि भने गरेको छैन ।

पछिल्ला दिनमा दक्षिण भारतका तमिलनाडु, तेलंगना र कर्नाटकमा कोरोना कहर बढ्दै गएको छ । आन्ध्रप्रदेशमा गएको २४ घण्टामा ५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै उक्त राज्यमा संक्रमितको संख्या ५3 हजार नाघेको छ । भारतका राज्यहरूमध्ये सबैभन्दा बढी संक्रमण महाराष्ट्र छ । त्यसपछि तमिलनाडु र दिल्ली छन् । संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गरिएको दक्षिण भारतीय राज्य केरलामा पनि पछिल्ला दिनमा संक्रमण बढ्न थालेको छ ।

कतिपय विज्ञ तथा चिकित्सा क्षेत्रसँग सम्बद्ध संस्थाहरूले पछिल्ला दिनमा बढेको संक्रमण तीव्र रूपमा बढ्नुका पछाडि सामुदायिक संक्रमण रहेको दाबी गरेका छन् । इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले आइतबार भारत सरकारलाई पत्र लेख्दै संक्रमण समुदायमा फैलिसकेको बताएको थियो ।

प्रवासी कामदारहरूको आउजाउ र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुँदा समुदायमा संक्रमण फैलिएको आईएमएले दाबी गरेको छ । यद्यपि भारत सरकारले भने अझैसम्म पनि समुदायमा फैलिएको स्वीकार गरेको छैन । संक्रमण बढ्ने क्रमसँगै राज्यहरूले पुन: लकडाउनको निर्णय गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यले साताको दुई दिन पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरेको छ भने संक्रमणका हिसाबले उच्च जोखिमयुक्त क्षेत्रमा जुलाई ३१ सम्म लकडाउन जारी राखेको छ । त्यसैगरी सबैभन्दा उच्च संक्रमण रहेको महाराष्ट्रले पनि जुलाईको अन्त्यसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।

नेपालसँग सीमा जोडिएका बिहारको अवस्था त थप चिन्ताजनक देखिएको छ । बिहार स्वास्थ्य पूर्वाधारका हिसाबले भारतकै कमजोर राज्यमा पर्छ । बाढीको कहर झेलिरहेको बिहार भाइरसको संक्रमणले थप आक्रान्त पारेको छ । बिहारमा संक्रमण बढ्दा खुला सीमा भएका कारण त्यसको जोखिम नेपालमा पनि स्वत: पर्न जान्छ ।

बिहारमा पछिल्लो २४ घण्टामा हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै उक्त राज्यमा संक्रमितको संख्या करिब २७ हजार ६ सय पुगेको छ । हालसम्म बिहारमा २ सय १७ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । राजधानी पटनामै संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दो क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राज्यमा कैयौं सांसद र चिकित्सकहरू पनि संक्रमणको सिकार भएका छन् । तर, उनीहरूको समयमा परीक्षण पनि नभएको बताइएको छ ।

स्वास्थ्य सेवाको गुणस्तर कमजोर रहेको बिहारमा परीक्षण पनि न्यून छ । १२ करोडभन्दा बढी जनसंख्या रहेको बिहारको दैनिक १० हजारका दरले मात्र परीक्षण भइरहेको छ । न्यून परीक्षणकै कारण संक्रमणको जोखिम बढेको भन्दै राज्यका विपक्षी राजनीतिक दलहरूले नीतिश कुमार नेतृत्वको सरकारको चर्को विरोध गर्दै आएका छन् ।

खासगरी, विपक्षी राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले भाइरसको रोकथाम र नियन्त्रणमा लापरबाही गरेको भन्दै बिहार सरकारको चर्को आलोचना गर्दै आएका छन् । जोखिम बढ्दै गएपछि केन्द्र सरकारले राज्यको पछिल्लो अवस्था बुझ्न तीन सदस्य टोली नै पठाएको थियो । उक्त टोलीले रिपोर्ट बुझाउन भने बाँकी छ ।

भारतमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै यहाँ रहेका नेपालीहरूमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा रोजगारी, अध्ययन र अन्य प्रयोजन गरी करिब २० लाखको हाराहारीमा नेपाली रहेको अनुमान छ । तीमध्ये धेरैजसो महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात र पन्जाबमा छन् । नेपालीहरूको बाक्लो उपस्थिति रहेका यिनै भारतीय राज्यहरूमै कोरोना संक्रमण उच्च देखिएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?