कोरोना भाइरस झन् संक्रामक !

भाइरसको जिनमा हजारौं प्रकारका परिवर्तन आएका भए पनि अन्य मौसमी फ्लुहरुको तुलनामा स्वरुप परिवर्तन निकै ढिला भइरहेको छ ।

श्रावण ५, २०७७

एजेन्सी

लन्डन — हाल विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक चीनमा देखापरेको अवस्थामा भन्दा केही फरक भइसकेको छ । पछिल्लो समय यसको संक्रमण निकै तीव्र रूपमा फैलिइरहेको विभिन्न देशका तथ्यांकहरूले पुष्टि गरेका छन् ।

कोभिड–१९ रोग लाग्ने ‘सार्स–कोभ–टु’ भाइरस फैलिँदै गर्दा यसको स्वरूपमा समेत परिवर्तन आएको छ । वैज्ञानिकहरूका अनुसार करिब ८ महिनाको अवधिमा उक्त भाइरसको जीनमा हजारौं प्रकारका परिवर्तनहरू आएका छन् । तर पछिल्लो पटक देखिएको परिवर्तनले भने यसको व्यवहारसमेत बदलिएको ठानिएको छ ।

तर महत्त्वपूर्ण पक्ष भने भाइरसमा भइरहेको स्वरूप परिवर्तनले यो मानिसहरूका लागि थप संक्रामक वा घातक भएको छ वा छैनन् भन्ने नै हो । त्यसका साथै आम मानिसहरूमा यस्तो परिवर्तनले खोप निर्माणमा प्रभाव पर्छ वा पर्दैन भन्ने हो ।

वैज्ञानिकहरूका अनुसार अन्य मौसमी फ्लुहरूको तुलनामा कोभिड–१९ को भाइरसले निकै ढिला स्वरूप परिवर्तन गरिरहेको छ । यो भाइरसप्रति मानिसमा न्यूनस्तरको प्राकृतिक प्रतिरोधात्मक क्षमता, खोप निर्माण नभइसकेको अवस्था र प्रभावकारी उपचार नभएका कारण पनि यसलाई छिटोछिटो स्वरूप परिवर्तन गर्नुपर्ने दबाब नभएको हो ।

पछिल्लो समय पत्ता लागेको यसको स्वरूप परिवर्तन ‘डी ६१४ जी’ ले भाइरसको बाहिरी तिखो भाग (स्पाइक) मा रहेको प्रोटिनमा परिवर्तन गरेको देखिएको छ । यो भाइरसले मानिसको कोषभित्र पस्नका लागि उक्त तिखो भागको प्रयोग गर्छ । विश्वभरको नमुनाहरूको अध्ययनमा देखिएअनुसार हाल ९७ प्रतिशत स्वरूप परिवर्तित भाइरस क्रियाशील छ ।

तर परिवर्तित स्वरूपले भाइरसलाई कुनै फाइदा पुर्‍याएको छ वा छैन भन्नेचाहिँ प्रस्ट भइसकेको छैन । भाइरसहरूले खासै ठूला योजना नबनाउने भए पनि निरन्तर स्वरूप भने परिवर्तन गरिरहन्छन् ।

त्यस्ता परिवर्तित स्वरूपमध्ये कुनैले तिनलाई आफ्नो संख्या बढाउन मद्दत पुग्छ भने कुनैले पुग्दैन । केही परिवर्तन भने तटस्थ हुन्छन् । पछिल्लो समय देखिएको संक्रमणको व्यापकता परिवर्तित भाइरस हाबी हुनुको कारण भएको युनिभर्सिटी कलेज लन्डनकी डा. लुसी भान डर्पको भनाइ छ ।

तर यो परिवर्तनमार्फत भाइरसलाई उसको विकासक्रममा फाइदा पुगेकाले हाबी भएको कतिपय विज्ञहरूको भनाइ छ । युनिभर्सिटी अफ सेफिल्डका डा. थुसन डी सिल्भाका अनुसार स्वरूप परिवर्तनपछि यो तटस्थ नरहेको पुष्टि भएको छ । तर थप संक्रामक भएको पर्याप्त प्रमाण भने हालसम्म नभेटिएको उनले बताए ।

प्रयोगशालामा गरिएका केही परीक्षणका आधारमा परिवर्तित भाइरस मानव शरीरको कोषमा पस्न बढी सक्षम भएको देखिएको छ । अमेरिकाको फ्लोरिडास्थित स्क्रिप्स युनिभर्सिटीका प्राध्यापकद्वय हेर्‍युन चो तथा माइकल फार्जानका अनुसार स्पाइकको प्रोटिनमा भएको परिवर्तनका कारण यो मानव कोषमा झन् सजिलै टासिन र झन् प्रभावकारी रूपमा काम गर्न सक्ने देखिएको छ । फार्जानका अनुसार परिवर्तित भाइरस थप संक्रामक रहेको भने आफ्नो अध्ययनमा पुष्टि नभएको बताउँछन् ।

न्युयोर्क युनिभर्सिटीका जिनोम सेन्टरका डा. नेभिल सन्जनाको टोलीले गरेको अध्धयनमा भने स्वरूप परिवर्तनपछि भाइरस थप संक्रामक भएको देखिएको छ । डा. भान डर्पले बिरामीहरूमा यो भाइरस कसरी संक्रमित हुन्छ भन्नेबारे प्रस्ट नभएको बताउँछन् । तर प्राध्यापक फार्जान भने उक्त कुरा अस्वीकार गर्छन् ।

प्रयोगशाला बाहिर परिवर्तित भाइरस थप संक्रामक रहेको केही अप्रत्यक्ष प्रमाण मिलेका छन् । दुईवटा अध्ययनअनुसार परिवर्तित भाइरस संक्रमित बिरामीहरूको स्वाब नमुनामा भाइरसको परिमाण बढी देखिएको जनाइएको छ । यसको अर्थ त्यस्ता व्यक्तिले अरूलाई संक्रमित पार्ने सम्भावना पनि बढी देखियो । तर संक्रमितहरू सिकिस्त भएका वा लामो समय अस्पतालमा उपचार गराउनु परेको प्रमाण भने भेटिएको छैन । धेरै संक्रामक हुनुको अर्थ धेरै घातक हुनु भने होइन । त्यसैले परिवर्तित भाइरसका कारण मानिसहरू सिकिस्त बिरामी हुने गरेको प्रमाण भने भेटिएको छैन ।

त्यसका साथै ठूलो जनसंख्यामा फैलिएका कारण त्यसको आधारमा यो कम वा बढी घातक भएको यकिन गर्न निकै गाह्रो छ । तर पछिल्लो समय संक्रमणको दर बढिरहेको र भाइरस तटस्थ नरहेका कारण हामीले योसँग लड्ने नयाँ तरिका अपनाउनुपर्ने देखिन्छ ।

भाइरसहरूमा परिवर्तन हुनु सामान्य भए पनि छोटो समयमा भइरहने परिवर्तनले खोप निर्माणमा समेत प्रभाव पार्न सक्ने कतिपय वैज्ञानिकहरूको दाबी छ । चाँडो–चाँडो परिवर्तन भएको खण्डमा छोटो समयमै नयाँ खोप बनाउनुपर्ने हुन्छ ।

हाल विभिन्न देशहरूले कोभिड–१९ विरुद्धको खोप निर्माण गरिरहेको जनाएका छन् । अमेरिका, बेलायत, इजरायल, अस्ट्रेलियालगायत देशका वैज्ञानिकहरूले त्यसको परीक्षणसमेत गरिरहेका छन् । ती सबै वैज्ञानिकहरूले भाइरसको स्पाइकलाई लक्षित गरी खोप निर्माणमा केन्द्रित भएका हुन् ।

वैज्ञानिकहरूका अनुसार संक्रमित मानिसको शरीरमा भाइरसको अवयवको कुनै विशिष्ट तत्त्वलाई चिन्ने गुण विकसित गराई संक्रमणलाई निष्क्रिय पार्न सकिन्छ । तर स्पाइकमा परिवर्तन भइरहे खोपको प्रभावकारिता सोचेजस्तो हुन नसक्ने उनीहरूको चिन्ता छ । तर विश्वभरका वैज्ञानिकहरू भने भाइरसको स्वरूपमा भइरहेको वा हुन सक्ने परिवर्तनप्रति भने चनाखो छन् ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully