विश्‍वभर एकै दिन २ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण

श्रावण ५, २०७७

एजेन्सी

जेनेभा/वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता एकै दिन संक्रमित हुनेको संख्या अढाई लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार आइतबार विश्वभर २ लाख ६० हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।

त्यसमा सबैभन्दा धेरै नयाँ संक्रमितहरू अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका डब्लूएचओले जनाएको छ ।

त्यसैगरी, भाइरसका कारण एकै दिनमा संसारभर ७ हजार ३ सय ६० जनाले ज्यान गुमाएका छन् । मे १० यता एकै दिन मृत्यु हुनेको यो उच्च संख्या हो । योसँगै विश्वभर कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको संख्या ६ लाख नाघेको छ । मृतकमध्ये एक चौथाइ अमेरिकाका छन् ।

कोभिड–१९ बारे तथ्यांक अद्यावधिक गर्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म संक्रमित हुनेहरूको संख्या १ करोड ४४ लाख नाघेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या ३७ लाख ६३ हजारभन्दा बढी छ । भाइरसका कारण अमेरिकामा १ लाख ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकाका कैयन् राज्यहरूमा संक्रमण झ्न तीव्र बन्दै गएको छ । भाइरसको संक्रमण देखिएसँगै लकडाउन नगरिएको तथा मास्क अनिवार्य नगरिएका कारण दक्षिणी राज्यहरूमा संक्रमण बढ्दो छ ।

संक्रमित संख्याका आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा संक्रमितको संख्या करिब २१ लाख पुगेको छ । ब्राजिलमा ज्यान गुमाउनेको संख्या ७९ हजारभन्दा बढी छ ।

तेस्रो स्थानमा रहेको भारतमा संक्रमण उच्च विन्दुमा पुग्न अझै कम्तीमा एक/डेढ महिना लाग्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । भारतमा सोमबार बिहानसम्म संक्रमितको संख्या १० लाख ७७ हजार नाघिसकेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घण्टामा मात्रै ३८ हजार ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोभिड–१९ का कारण २६ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । भारतीय राजधानी नयाँदिल्ली, मुम्बई तथा बैंग्लोरलगायत बढी प्रभावित सहरका अस्पतालहरूमा उपचार शय्याको अभाव भएको जनाइएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully