अस्ट्रेलियामा कोरोनाविरुद्धको खोपको परीक्षण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा कोरोनाविरुद्धको खोपको परीक्षण

युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरेको खोप पहिलो चरणअन्तर्गत १ सय २० जना स्वयंसेवकलाई दिइएको हो ।
नारायण खड्का

सिड्नी — अस्ट्रेलियाको ब्रिसबेनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप मानिसमा परीक्षण सुरु गरिएको छ । यसअघि जनावरमा गरिएको परीक्षण सफल देखिएपछि खोप मानिसमा परीक्षण गरिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि स्वयंसेवकलाई लगाइदिँदै स्वास्थ्यकर्मी । तस्बिर : एजेन्सी

युनिभर्सिटी अफ क्विन्सल्यान्डले विकास गरेको खोप पहिलो चरणअन्तर्गत सोमबार १ सय २० जना स्वयंसेवकलाई दिइएको हो । क्विन्सल्यान्ड राज्यकी प्रिमियर एनास्टेसिया पालसेले युनिभर्सिटी अफ क्विन्सल्यान्डले खोप अनुसन्धानमा गरेको मिहिनेतको प्रशंसा गरेकी छन् । ‘हामीसँग उत्कृष्ट वैज्ञानिक छन् र यो सुरुवाती चरण हो तर पनि हामी विश्वविद्यालयले खोपको अनुसन्धानमा गरेको कार्यबाट अत्यन्तै प्रोत्साहित भएका छौं,’ उनले भनेकी छन् ।

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक पउल योङले सोमबारदेखि सुरु गरिएको परीक्षणले सफल नतिजा दिने विश्वास व्यक्त गरे । परीक्षणका क्रममा सहभागी स्वयंसेवकलाई चार साताको अन्तरमा दुई पटक खोप दिइनेछ । त्यसपछि स्वयंसेवकमा खोपको सुरक्षाका साथै प्रतिरक्षा प्रणालीबारे विस्तृत अध्ययन गरिने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । अनुसन्धानकर्ताले स्वयंसेवकलाई एक वर्षसम्म मूल्यांकन गर्नुका साथै खोपको प्रतिक्रियाबारे समेत अध्ययन गर्नेछन् ।

राज्यका इन्नोभेसन मन्त्री केट जोन्सले कोभिड–१९ लाई पराजित गर्न खोप अत्यन्तै महत्त्वपूर्ण भएकाले आफूहरूले निकै मिहिनेत गरिरहेको बताएकी छन् । अस्ट्रेलियाले कोभिड–१९ विरुद्धको खोप निर्माणका लागि लाखौं डलर खर्च गरिरहेको छ । करिब एक साताअघि दक्षिण अस्ट्रेलियाको रोयल एडिलेड अस्पतालमा समेत उक्त भाइरसविरुद्धको खोपको परीक्षण सुरु गरिसकिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा पहिलो पटक सुरु गरिएको मानव परीक्षणमा ठूलो सफलता प्राप्त भएको जनाएको छ ।

पहिलो चरणमा ४० जनामा परीक्षण सुरु गरिएको हो । एन्टिबडीको विकास र प्रतिरक्षा प्रणालीको प्रतिक्रिया पाउन केही समय लाग्ने जनाइएको छ । अनुसन्धानकर्मीहरूले बढीमा दुई महिनामा पहिलो परीक्षणको नतिजा आउने बताएका छन् ।

यसैबीच, अस्ट्रेलियास्थित सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्ेरसनले कोभिड–१९ का कारण गम्भीर भएका बिरामीमा एन्टिभाइरल औषधि रेम्डेसिभियर प्रयोग गर्न अनुमति दिएको छ । स्थानीय समाचारमा जनाइएअनुसार यो औषधिको प्रयोगको अनुमति दिइए पनि सहजै भने उपलब्ध हुने छैन । यो औषधि अस्पतालमा रहेका र गम्भीर इन्फेक्सन भएका युवा तथा किशोर बिरामीलाई मात्र दिइने जनाइएको छ ।

सरकारी निकाय थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसनले कोभिडका गम्भीर बिरामीको उपचारमा आशाजनक वैकल्पिक उपचारका रूपमा देखिएकाले अस्पताल बसाइ कम गराउन महत्त्वपूर्ण हुने जनाएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले आफूसँग पर्याप्त औषधि रहेको जनाएका छन् । अधिकारीहरूले यो औषधि भ्याक्सिन अथवा उपचार नभएको तर गम्भीर बिरामीलाई सहयोग पुग्ने औषधि भएको जनाएका छन् । यो औषधि अमेरिका, भारतलगायत केही देशमा समेत कोरोना भाइरसका गम्भीर बिरामीलाई प्रयोग गर्न अनुमति दिइसकिएको छ ।

प्रकाशित : असार ३१, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४ सय ९८ जना थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

स‌ंक्रमितको उपचारका लागि मुम्बईमा तयार पारिएको कोरोना अस्थायी अस्पताल फाइल तस्बिर : रोयटर्स

पछिल्लो २४ घण्टामा भारतमा भाइरसका कारण ५ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ७ सय २७ पुगेको छ । देशभरि कुल संक्रमितमध्ये ३ लाख ११ हजार ५ सय ६५ जना संक्रमित अवस्थामै रहेका जनाइएको छ । त्यसैगरी ५ लाख ७१ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित छ । महाराष्ट्रमा मात्रै २ लाख ६० हजार ९ सय २४ जना संक्रमित छन् भने १० हजार ४ सय ८२ जनाको मृत्यु भइसकेको छ । दोस्रो धेरै प्रभावित राज्य तमिलनाडुमा १ लाख ४२ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा भाइरसका कारण ज्यान गुमाउने २ हजार ३२ जना छन् ।

त्यसैगरी, भाइरसका कारण प्रभावित राज्यमा दिल्ली तेस्रो स्थानमा छ । दिल्लीमा मंगलबार साँझसम्म १ लाख १३ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ । दिल्लीमा भाइरसका कारण ३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

संक्रमितका आधारमा भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । पहिलो स्थानमा रहेको अमेरिकामा बुधबार बिहानसम्म संक्रमितको संख्या ३४ लाख २८ हजार नाघिसकेको छ । भाइरसको संक्रमणका कारण १ लाख ३६ हजार ४ सय ३० जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १० लाखभन्दा बढी निको भएका छन् ।

त्यसैगरी दोस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या १९ लाख २६ हजार पुगेको छ । ब्राजिलमा भाइरसका कारण ७४ हजार १ सय ३३ जनाको ज्यान गइसकेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाखभन्दा बढी छ । त्यस्तै विश्वभर कोरोनाबाट ५ लाख ७७ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित : असार ३१, २०७७ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×