नयाँदिल्ली — भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४ सय ९८ जना थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा भाइरसका कारण ५ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ हजार ७ सय २७ पुगेको छ । देशभरि कुल संक्रमितमध्ये ३ लाख ११ हजार ५ सय ६५ जना संक्रमित अवस्थामै रहेका जनाइएको छ । त्यसैगरी ५ लाख ७१ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित छ । महाराष्ट्रमा मात्रै २ लाख ६० हजार ९ सय २४ जना संक्रमित छन् भने १० हजार ४ सय ८२ जनाको मृत्यु भइसकेको छ । दोस्रो धेरै प्रभावित राज्य तमिलनाडुमा १ लाख ४२ हजार ७ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । तमिलनाडुमा भाइरसका कारण ज्यान गुमाउने २ हजार ३२ जना छन् ।
त्यसैगरी, भाइरसका कारण प्रभावित राज्यमा दिल्ली तेस्रो स्थानमा छ । दिल्लीमा मंगलबार साँझसम्म १ लाख १३ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ । दिल्लीमा भाइरसका कारण ३ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।
संक्रमितका आधारमा भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । पहिलो स्थानमा रहेको अमेरिकामा बुधबार बिहानसम्म संक्रमितको संख्या ३४ लाख २८ हजार नाघिसकेको छ । भाइरसको संक्रमणका कारण १ लाख ३६ हजार ४ सय ३० जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये १० लाखभन्दा बढी निको भएका छन् ।
त्यसैगरी दोस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या १९ लाख २६ हजार पुगेको छ । ब्राजिलमा भाइरसका कारण ७४ हजार १ सय ३३ जनाको ज्यान गइसकेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३२ लाखभन्दा बढी छ । त्यस्तै विश्वभर कोरोनाबाट ५ लाख ७७ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
