१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भारत बन्यो विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ ।

भारत बन्यो विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक

रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनमो महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । संक्रमण बढ्ने क्रमसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । भारतमा हालसम्म १९ हजार २६८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् ।

यसैबीच दक्षिण भारतीय राज्य केरलाले कोरोना भाइरसको संक्रमणको जोखिम न्यून गर्न आगामी एक वर्षका लागि कोभिड–१९ सुरक्षा निर्देशिका जारी गरेको छ । जसअनुसार एक वर्षसम्म सार्वजनिक स्थलमा मास्क र सामाजिक दूरी अनिवार्य गरिएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ । त्यसैगरी वैवाहिक कार्यक्रममा बढीमा ५० जना र मलामीमा २० जनाभन्दा बढी भेला नहुने नियम बनाइएको छ । साथै प्रशासनको अनुमतिबिना धर्ना, जुलुस वा भेला निषेध गरिएको छ । त्यस्ता कार्यक्रममा दश जनाभन्दा बढी जम्मा हनु पाइने छैन । कुनै पनि पसलमा एक पटकमा बीस जनाभन्दा बढी ग्राहकलाई निषेध गरिएको छ । त्यसैगरी सार्वजनिक स्थलमा थुक्न पूर्णरुपमा निषेध गरिएको छ ।

भारतमा कोरोना संक्रमणको पहिलो केस केरलामै गत ३० जनवरीमा पहिचान देखिएको थियो । कोरोना महामारी रोकथामका काम प्रभावकारी भएका कारण त्यहाँ हालसम्म पाँच हजार दुई सय जनामा मात्र संक्रमण पुष्टि भएको छ । जसमध्ये तीन हजारभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित : असार २२, २०७७ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?