कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टिम चीन जाँदै

एजेन्सी

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)  ले कोरोना भाइरस(कोभिड–१९) को स्रोत पत्ता लगाउन अर्को हप्ता एउटा टोली चीन पठाउन लागेको जानकारी दिएको छ । कोरोना भाइरसको स्रोतलाई लिएर राजनीतिक रुपले आरोपप्रत्यारोप चलिरहेका बेला डब्लूएचओले यसबारे अनुसन्धान गर्न विशेषज्ञको टिम चीन पठाउन लागेको हो ।

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओको टिम चीन जाँदै

डब्लूएचओले यसअघि नै कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि आफ्नो विशेषज्ञ टोलीलाई बोलाउन चीनसँग आग्रह गरेको थियो । सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसका बारेमा आफूहरुलाई जति धेरै जानकारी प्राप्त भयो त्यससँग लड्न उति सहज हुने बताए ।

‘जब हामीले भाइरसका बारेमा सबै कुरा थाहा पाउनेछौं । त्यसपछि मात्रै हामीले यसलाई उपयुक्त ढंगले नियन्त्रण गर्न सक्नेछौं । हामीले आगामी हप्ता कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि एउटा टिम चीन पठाइरहेका छौं । आशा छ, हामीले भाइरसको उत्पत्तिका बारेमा धेरै कुरा पत्ता लगाउन सक्नेछौं,’ महानिर्देशक टेड्रोसले भने ।

महानिर्देशक गेहब्रेयससले विशेषज्ञको टिममा को–को समावेश छन् भन्नेबारेमा भने केही बताएनन् ।

वैज्ञानिकहरुले चमेरो हुँदै कुनै एउटा समुद्री जनावर हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण भएको दाबी गर्दै आएका छन् । अहिलेसम्म कोरोना भाइरसको चीनको हुबेई प्रान्तको राजधानी वुहानको ‘सी फूड मार्केट’ बाट फैलिएको दाबी गरिएको छ । अमेरिकाले भने लगातार चीनमाथि कोरोना भाइरसका बारेमा सूचना लुकाएको आरोप लगाउँदै यसको अनुसन्धानका लागि स्वतन्त्र अन्तर्राष्टिय कमिटी बनाउनुपर्ने माग राख्दै आएको छ ।

चीनले भने आफूले यसबारेमा केही पनि सूचना नलुकाएको बताउँदै आएको छ । चीनले राजनीतिकरण नगर्ने हो भने डब्लूएचओको टिमलाई कोरोना भाइरसका बारेमा अनुसन्धान गर्न सहयोग गर्ने बताउँदै आएको छ ।

प्रकाशित : असार १६, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?