'न्युजिल्यान्डका अस्पतालमा अब कोरोनाका बिरामी छैनन्'

एजेन्सी

वेलिंग्टन — न्युजिल्यान्डले अस्पतालमा उपचाररत सबै कोरोना भाइरस संक्रमित डिस्चार्ज भएको बताएको छ । न्युजिल्यान्डको सरकारले दाबी गरेअनुसार अब त्यहाँका अस्पतालमा कोरोना भाइरसका संक्रमित छैनन् ।

'न्युजिल्यान्डका अस्पतालमा अब कोरोनाका बिरामी छैनन्'

न्युजिल्यान्डको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एस्ले ब्लूमफिल्डका अनुसार ५ दिनयता कोरोना भाइरसका संक्रमित फेला परेका छैनन् । अस्पतालमा रहेका एक जना पनि मंगलबार डिस्चार्ज भएको उनले बताए । न्युजिल्यान्डमा कोरोना संक्रमण पुष्टि भएकामध्ये एक हजार ४ सय ६२ जना निको भएका छन् । २१ जनालाई भने ‘एक्टिभ केस’ का रुपमा हेरिए पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै होम आइसोलेसनमा रहेको बताइएको छ ।

न्युजिल्यान्डमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । न्युजिल्यान्ड सरकारले संक्रमण पुष्टि भएका केस एक हजार १ सय ५४ भएको बताए पनि पुष्टि भएका र सम्भावित केसलाई जोडेर जम्मा एक हजार ५ सय ४ जनामा संक्रमित भएको उल्लेख गरेको छ ।

न्युजिल्यान्डमा मंगलबार थप ४ हजार २ सय ७९ वटा कोरोना परीक्षण गरिएको छ । करिब ४८ लाख जनसंख्या रहेको न्युजिल्यान्डमा अहिलेसम्म २ लाख ६७ हजार ४ सय ३ वटा परीक्षण गरिएको छ ।

न्युजिल्यान्ड सरकारले कोरोना भाइरसको संक्रमण समुदायमा विस्तार हुनबाट रोक्न सफल भएको बताएको छ । तर आगामी महिना सीमानाका खोल्ने निर्णय गरेको न्युजिल्यान्डलाई कोरोना संक्रमण रोक्न थप चुनौती भने रहेको छ । कोरोना भाइरसविरुद्ध न्युजिल्यान्डले चालेका कदमलाई एक ‘सफल मोडेल’ का रुपमा हेरिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?